News 24 Television
कीर्तिपुरमा कांग्रेसलाई जित्नै पर्ने दबाब, एमाले, माओवादीको दाबी ‘हामी जित्छौ’

काठमाडौं । गएको स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा ४ स्वतन्त्र सहित १२ जना मेयरको प्रत्यासीका रुपमा थिए । तर निर्वाचनको अन्तिम समयमा २ स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि १० उम्मेदवार मैदानमा उत्रिए । 

निर्वाचनमा ३ हजार ५ सयको मतान्तरले नेपाली कांग्रेसका उम्मेदवारले जित निकालेका थिए । तर अहिले हुन लागेको उपनिर्वाचनमा भने परिस्थिति फरक छ, कांग्रेस अघिल्लो पटकको नतिजा दोहो¥याउने दबाबमा छ भने अन्य दलहरु कांग्रेसलाई पछार्ने दाउमा छन् । 

कीर्तिपुर नगरपालिकामा गएको स्थानियतहको निर्वाचनको नतिजा भन्दा मंसिर १६ गते उपनिर्वाचनको नतिजा धेरै फरक आउने देखिएको छ ।गएको स्थानीय तहको निर्वाचनमा कीर्तिपुरमा नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी एमालेका उम्मेदवारलाई ३ हजार ५ सय ३६ मतान्तरले पछि पार्दै विजयी भएका थिए । तर यसपटक भने उम्मेदवार चयनको बिषयलाई लिएर कांग्रेस भित्रै केहि असझदारी कायमै छ भने एमाले र माओवादीले दाबी गरे अनुसार बलियो संगठन र मतदाता नरहेकाले यो निर्वाचनको नतिजा कस्तो आउँछ भन्न सक्ने स्थिति छैन । यसपटक उमेदवारी दिएका ११ स्वतन्त्र उम्मेदवारहरु छन् । 

उनीहरुले पनि निर्वाचनमा दलका उम्मेदवारहरुलाई राम्रै धक्का दिने देखिएको छ । अहिलेसम्मको मतदाताको मतको रुझान बुझ्दा स्वतन्त्र उम्मेदवारहरुले विजयी नै हुन नसके पनि दलहरुको मत काट्ने भने निकै सम्भावना छ । 

कीर्तिपुरमा ठूला दलको अवस्था

नेपाली कांग्रेस 

गएको स्थानीय तहको निर्वाचनको मत परिणामलाई मात्रै आधार मान्ने हो भने यहाँ नेपाली कांग्रेसलाई जित निकाल्न सहज छ । 

अघिल्लोपटक २४ हजार ३२ मत खस्दा ९ हजार ४३ मत ल्याएर कांग्रेसका उम्मेदवार विजयी बनेका थिए । तर उपनिर्वाचनमा भने कांग्रेसलाई गत निर्वाचनमा जति मत नआउने आंकलन छ । 

यसपटक कांग्रेस भित्र ११ जना उम्मेदवारका प्रत्यासि थिए । त्यहि मध्ये पनि राजकुमार नकर्मीको परिवारकै सदस्य पनि उम्मेदवारमा सिफारीस भएका थिए । नकर्मीको निधन पछि भएको निर्वाचनमा कांग्रेसले उनको परिवारभन्दा बाहिर गएर पार्टी सभापतिलाई उम्मेदवार बनाए पछि नकर्मी परिवारबाट कांग्रेसलाई सोचेअनुसार भोट नआउने देखिन्छ । 

यो बाहेक टिकट नपाएका अरु उम्मेदवारहरुले पनि कांग्रेस उम्मेदवार कृष्णमान डंगोललाई खुलेरै सहयोग गर्ने पक्षमा देखिदैनन् । 

नेकपा एमाले 

गएको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका केशरत्न बज्रचार्य ३ हजार ५ सय ३६ मतान्तान्तरले पछाडि परे । 

यहाँ एमालेको संगठन त्यति मजबुत छैन । तर यसपालि एमालेले भने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने भन्दा एक हप्ता अगाडि नै सर्वसम्मत् रुपमा उम्मेदवारको टुङ्गो लगायो । 

यहाँ एमालेबाट डा. सुरेन्द्रमान् डंगोल उम्मेदवार छन् । चुनावका लागि सबै तयारी गरेको र विगतमा भन्दा एमालेको संगठन पनि बलियो भएकाले आफुले जित्ने उनको दाबी छ । तर उनले भनेअनुसार नै निर्वाचनको नतिजा आउन भने धेरै गाह्रो नै देखिन्छ । 

नेकपा माओवादी केन्द्र

गएको निर्वाचनमा देशभर कांग्रेस र माओवादी लगायतका दलहरु गठबन्धन गरेर जाँदा पनि कीर्तिपुरमा भने गठबन्धन हुन सकेन । त्यहिकारण प्रमुख तिन दल छुट्टा छुट्टै निर्वाचनमा सहभागी थिए । 

गत निर्वाचनको र अहिलेको उपनिर्वाचनको माओवादीका उम्मेदवार एकै छन् । उनले यो भन्दा अगाडि जम्मा ४ हजार ९० मात्रै मत लिएका थिए । 

अहिले उनलाई निर्वाचन जित्नका लागि पहिलो पाएको मतलाई सुरक्षित गर्दै त्यसमा थप ५ हजार मत थप्न सकेमात्रै माओवादी उम्मेदवार विजयी बन्न सक्छन् । तर कमजोर संगठन र उम्मेदवारका कारण त्यो सम्भव देखिदैन । 

राप्रपा 

राप्रपाबाट अहिले कीर्तिपुरमा उम्मेदवार बनेका छन् ई. धुव्र बहादुर महर्जन । अहिले उनले आफुले निर्वाचन जित्ने दाबी गरिरहेका छन् । तर गएको निर्वाचनमा राप्रपाबाट उम्मेदवार रहेका जित बहादुर बिष्टले जम्मा ५ सय ७२ मत मात्रै पाएका थिए । अघिल्लो यही मत नतिजालाई आधार मान्ने हो भने राप्रपाका उम्मेदवारलाई कीर्तिपुरमा जित निकाल्न गाह्रै देखिन्छ । 

रास्वपाले मैदान छाड्यो

२०७९ सालमा भएको प्रतिनिधिसभाबाट एकै पटक संघिय संसदको चौथो ठुलो शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरमा उठाउनका लागि योग्य उम्मेदवार नै नपाएको भन्दै निर्वाचनमा सहभागि भएन । जबकि गएको प्रतिनिधि सभा निर्वाचनमा कीर्तिपुर नै क्षेत्र पर्ने काठमाडौं १० मा रास्वपाबाट उम्मेदवार बनेका बलराम थापाले ६ हजार २ सय ७७ मत ल्याएका थिए । 

रास्वापाले प्रतिनिधिसभामा आएको मत परिणामलाई सुरक्षीत गरेर केहि मत तान्न लागेको भए यो पटक उसलाई निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न सहज थियो भने मिसन ८४ भन्दै हिडेको रास्वपालाई यो निर्वाचन आफ्नो परीक्षणको आधार पनि बन्ने थियो तर रास्वपाले कीर्तिपुमा उम्मेदवार उठाउनै सकेन । 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update