News 24 Television
बीआरआईले अप्ठ्यारोमा प्रधानमन्त्री ओली, कांग्रेसको अडान यथावत् 

काठमाडौं । चिनियाँ महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड एनिसियटिभ (बीआरआई) सम्झौता अलपत्र पर्ने खतरामा धकेलिएको छ । 

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा महत्वपूर्ण एजेण्डा बन्ने ठानिएको बीआरआई सत्तारुढ दल नेपाली कांग्रेसको अडानका कारण नै अलपत्र पर्ने सम्भावना बलियो बनेको छ । 

प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाँदैछन् । ओलीको चीन भ्रमणको चाँजो मिलाउन परराष्ट्रमन्त्री आरजु राणा देउवा मंसिर १५ गते जापान हुँदै चीन जाने कार्यक्रम तय भएको छ । तर, ओलीको आसन्न चीन भ्रमण उपलब्धिभन्दा बिग्रहतर्फ केन्द्रित हुने खतरा समेत उत्तिकै बढेको छ । 

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा हुने भनिएको बीआरआई सम्झौता सत्तारुढ दलबीचको गलफत्तिका कारण अलपत्र पर्ने देखिन्छ भने चिनियाँ पक्ष समेत यहाँको अस्थिर शैलीका कारण नेपालसँग नराम्ररी चिढिने सम्भावना बढ्दै गएको छ । 

एमाले र प्रधानमन्त्री केपी ओली बीआरआई परियोजना स्वीकृत गर्ने मनशायमा छन् । एमाले अहिले पनि कांग्रससँग मतभेद देखिएपनि चीन भ्रमणअघि सहमति जुट्नेमा विश्वास राखिरहेको देखिन्छ । यस्तै, एमालेले बीआरआईलाई गिजोल्ने प्रयास गर्न नहुनेमा समेत चेतावनी दिएको छ । 

एमाले बीआरआईलाई खास ठूलो डरको रुपमा लिन नहुने भनिरहेको छ भने कांग्रेस बीआरआईलाई अनुदानबाहेक स्वीकार गर्नै नसकिने अडानमा छ । जुन कुरा अहिले असम्भवप्राय देखिन्छ । 

चिनियाँ पक्ष पनि बीआरआईलाई अनुदान र ऋणको रुपमा अघि बढाउन चाहन्छ । तर, नेपालको राजनीतिमा भूराजनीतिको प्रभाव गहिरो बनिरहेकाले पनि कांग्रेसलगायतका केहि साना दलहरु बीआरआई भन्ने वित्तिकै विच्किन थालेका छन् । 

रक्षात्मक ओली

प्रधानमन्त्री ओली दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेपनि सत्ता संकटमा छन् । चीन भ्रमणको उत्साहमा रहेका ओलीलाई कांग्रेसको रटानले संकट देखाउन थालेको छ । 

ओलीले संयन्त्रको बैठकमै पोखरा अन्तराष्ट्रिय विमानस्थललाई बीआरआईअन्तर्गत राखेर अनुदानमा परिणत गर्न पहल गर्ने बताइरहेका छन् । सत्ताको चाबी रहेको कांग्रेसले ओलीलाई बीआरआई सम्झौतामा तलमाथि नगर्न निर्देशन नै दिएपछि ओली रक्षात्मक बनिरहेका छन् । 

विदेशी चलखेल

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको सम्मुखमा विदेशी कुटनीतिक नियोगले पनि सक्रियता देखाउन थालेका छन् । 

भारतभन्दा पहिले चीन जान लागेका ओलीले के गर्न सक्छन् भन्ने विषय मिहिन ढंगले विश्लेषण गरिरहेको अन्तराष्ट्रिय जगतले ओलीलाई बीआरआई सम्झौतामा अघि बढ्न नदिने रणनीति बनाएको बताइन्छ । ओलीको भ्रमणअघि भारतले पनि अघोषित सक्रियता भने बढाएको छ । 

ओली चीनअघि भारत जाने तयारी चलेपनि यसको चाँजोपाँजो मिलिनसकेकाले अहिले नै के हुन्छ भन्ने स्थिति भने छैन । तर, भारतीय अधिकारीहरुको नेपाल आवागमन भने बढेको छ । 

सेनादेखि विभिन्न निकायका अधिकारीहरु नेपाल आइरहेका छन् । ओलीको चीन भ्रमणमा बीआरआई सम्झौताको विषय समावेश नगराउन यस्तो स्थिति सिर्जना भएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update