News 24 Television
मनपरी भाडा बढाउने एयरलाइन्सलाई मन्त्रीको २४ घण्टे निर्देशन

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरुलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।

बुधवार मन्त्रालयमा एयरलाईन्स कम्पनीका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री पाण्डेले बिहीवार दिउँसो ४ बजेभित्र भाडादर उपलब्ध गराउन निर्देशन दिएका हुन् । एयरलाइसका प्रतिनिधि र क्यानबीच भएको पाँच बुँदे सम्झौता झारो टार्ने काम गर्दै अचाक्ली भाडा लिएको भन्दै मन्त्री पाण्डेले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई सचेत गराए । उनले राज्य र नागरिककाप्रति एयरलाइन्सहरु दायित्वच्युत भएर झारो टार्ने काम गरिरहेको बताए ।

उनले भने, ‘नागरिकमाथि निकै ठूलो ज्यादति भयो, शोषण भयो । धुर्त व्यापारिको जस्तो काम एयरलाइन्सहरुले गर्न थाले भन्ने हामीलाई अनुभुति भएको छ । राज्यलाई घास हालेजस्तो काम गर्नुभएको रहेछ तपाईहरुले । राज्य र नागरिककाप्रति एयरलाइन्सहरु दायित्वच्युत भएर झारो टारेको काम रहेछ । पछिल्लो समयमा कुनै पनि सुधारको काम देखिएन । आज जसरि तपाईहरु गैरजिम्मेवार ढंगले प्रश्तुत हुनुभएको छ । तपाईहरु आफैं पनि एकचोटि बस्न आग्रह गर्दछु । कतिपयले आफ्नो एयरलाइन्सले टिकेट मूल्य कति लिएको छ भन्ने जानकारी समेत नलिएका प्रतिनिधिहरु पनि आउनुभएको छ । विदेशका एयरलाइन्सहरुको व्यवस्थापन गर्ने भएकोले आफ्नो दानापानी पनि उतैबाट चल्ने जस्तो गैरजिम्मेवार प्रश्तुतिबाट म निकै दुःखित भएको छु । यसको समिक्षाका लागि तपाईहरु एक्लाएक्लै बस्न आगह गर्दछु ।  भोलि चार बजेसम्म समिक्षा गरेर भाडादर उपलब्ध गराउनुहोला ।’

मन्त्री पाण्डेले रन वे र ट्याक्सी वेबीच कनेक्टिङ वे बनाउनुपर्ने भएको कारण १० घण्टा त्रिभूवन विमानस्थल बन्द गर्नुपरेको स्पष्ट पारे । 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update