काठमाडाैँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले चीनसँग विगतमा गरिएको सम्झौताहरु कार्यान्वयनमा हुनुपर्ने कुरामा जोड दिएको बताएका छन् ।
महमन्त्री थापाले बीआरआई सम्झौता कार्यान्वयन अघि चीनसँग विगतमा गरिएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने आफूहरुको चाहना रहेको प्रष्टयाएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमति अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरुको अडान रहेको पनि स्पष्ट पारे । उनले सो सम्बन्धमा एमालेसँग मतभिन्नता भएको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन आफूहरु सक्षम रहेको पनि बताए ।
उनले भने, ‘हाम्रो विकासका लागि हाम्रो यति धेर आकांक्षा छ कि धेरै स्रोत, साधन चाहिएको छ । हामी ल्याउन चाहन्छौँ । तर आजको हाम्रो राष्ट्रिय क्षमतासँग म्याच गर्नुपर्दछ भन्ने हामी ठान्दछौं । हामीसँग आज कति पुँजी परिचालन गर्ने क्षमता छ ? हामी सबै छिमेकीहरुसँग यो बेलामा सहकार्य गर्न चाहन्छौ । हाम्रा ठूलाठूला विकासका परियोजनाहरु छन । त्यसमा साझेदारी गर्न चाहन्छौं । हामी उनीहरुबाट अनुदानबाट हामी हाम्रा विकासका आकांक्षाहरुलाई पूरा गर्न चाहन्छौं । यी हाम्रा प्राथमिकताहरु छन् । हामी यसभन्दा अघि भएका सबै सम्झौता कार्यान्वयन हुन पहिला । त्यसपछि हामी नयाँ कुराको बारेमा सोचौं भन्ने कुराको बारेमा सोच्दछौं । हामी यो भनिरहँदै गर्दा हामीसँग सहकार्य गरेर दलसँग केही सोच फरक छन् भन्ने पनि मान्दछौं । हामीले त्यो क्षमता राख्नुपर्दछ कि हामीसँगै बसेर एउटा धारणा बनाउनुपर्दछ भन्ने मान्दछौं । यो आगामी दिनमा हुँदै जाने छलफलहरु हो । यो एउटा पाटो हो, हामी गर्छौ । यो हामी सम्हाल्छौं ।’