काठमाडाैँ । नेकपा (एमाले) का उपमहासचिव एवंं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग गरिएको बीआरआई सम्झौता कार्यान्वयन योजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन् । उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सो सम्झौताको कार्यान्वयन योजना अघि बढाउने कुरालाई रोक्न नहुने धारणा राखेका हुन् ।
उनले सत्तारुढ नेपाली काँग्रेससँग सो योजना अघि बढाउने विषयमा मतभिन्नता रहेको भन्दै सो कुरामा प्रधानमन्त्री ओली चीन भ्रमण जानुअघि नै सत्तारुढ दुई दलबीच सहमति बन्ने विश्वास समेत व्यक्त गरे । बुधबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले काँग्रेस–माओवादी नेतृत्वको सरकारको पालामा भएको सो सम्झौता अघि बढाउने विषयमा पछि हट्न नमिल्ने पनि बताए ।
काँग्रेसले सो परियोजना अन्तर्गत विगतमा गरिएको सहमति कार्यान्वयनका लागि चीनबाट अनुदान लिँदा उपयुक्त हुन्छ भन्ने धारणा राख्दै आएको छ । तर उपमहासचिव ज्ञवालीले भने चीनतर्फ संकेत गर्दै विकसित देशहरुले अहिले अनुदान सहायता दिने कुरालाई कटौती गर्दै लगेको बताए ।
'बीआरआईको बारेमा खासगरी नेपाली काँग्रेसका कतिपय साथीहरुको अलि अगाडि नेपाली काँग्रेसले एउटा संस्थागत निर्णय गरेको कुरा हामी सबैलाई जानकारी नै छ कि बीआरआई अन्तर्गत ग्रान्ट हो भने ठिक छ । तर हामी लोन चाहीँ लिन सक्दैनौं भन्ने कुरा साथीहरुले भन्नुभएको छ । यसमा तपाईहरुले अध्ययननै गर्नुभएको छ जस्तो मलाई लागेको छ,' ज्ञवालीले भने, 'पहिलो कुरा त मेरो प्लेन आग्रह के छ यहाँहरुमार्फत सबै राजनीतिक दलहरुलाई भने वर्षौं लगाएर कुनै एउटा देशसँग एउटा अन्डस्टयान्डिङमा पुगिन्छ । जव कार्यान्वयन गर्ने बेला हुन्छ, त्यसपछि त्यसलाई गिजोल्ने खालको माओले यस्तै हैरान भएर होला १० चोटी नाप अनि ११ औं चोटीमा काट भनेको । हामी कहाँ चाँही पहिलो चोटीमा झयाप्प काटिहाल्ने । त्यसपछि यता साईज मिलेन, उता साईज मिलेन नकि भनेर नाप्न खोज्ने जस्तो प्रवृत्ति देखियो । अव एमसीसी त्यस्तै भयो । ६ वर्ष, ७ वर्ष लगाएर नेगोशिएशनमा उहाँहरुले नै हस्ताक्षर गर्नुभयो । पछि गिजोल्नेमा उहाँहरु नै लाग्नुभयो । बीआरआई पनि काँग्रेस माओवादी सरकारले नै एमओयूमा हस्ताक्षर गरेको हो ।'
उनले बीआरआई एउटा कन्सेप्ट मात्र भएकाे बताउँदै थप भने, 'आफैँमा यो एउटा कुनै प्रोजेक्ट होइन, कन्सेप्ट मात्र हाे । बीआरआई भित्र मेनी मेनी प्रोजेक्टहरु हुन सक्छन् । त्यसमा भएको अहिलेसम्मको प्रगति भनेको एक नेपालको हकमा बीआरआई भनेको ट्रान्स हिमालएन मल्टी डाईमेन्सन कनेक्टिभिटी नेटवर्क नै हो । त्यस अन्तर्गत क्रस बोर्डर रेल वे, रोड वे कनेक्टिभिटीदेखि लिएर धेरै कुराहरु पर्दछन् । र परियोजना चाँही हामीले नौं वटा सेलेक्ट गरेका छौं । फाईनल हुन अझै बाँकि छ । त्यसो भएर फण्डिङ मोडालिटी के हो ? त्यो विषयमा हामी प्रवेश नै गरेका छैनौं । बीआरआईको कार्यान्वयन यसरी गर्ने भनेर फ्रेमवर्कमा अहिले छलफल चलिरहेको हो । तेस्रो ग्राण्ड र लोनमा पनि म के ठान्छु भन्दाखेरी नेपालीमा एउटा उखान छ–सित्तैमा पाईयो भनेर अलकत्रा खानुहुन्न । अब सित्तैमा पाईयो भने पनि ग्रान्ट यदि हाम्रो देशको हितमा छैन भने त्यो लिनु हुन्न त । म सरकारमा नै छदा मलाई सम्झना छ हामीले कतिपय ग्रान्टलाई अस्विकार गरेका छौं ।'
उपमहासचिव ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । दाहालले भारतीय पत्रिका द हिन्दुलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले चाईना कार्ड प्रयोग गरेको टिप्पणी गरेका थिए । त्यो टिप्पणी राष्ट्रका लागि खेदजनक रहेको उपमहासचिव ज्ञवालीको प्रतिक्रिया थियो ।