News 24 Television
दुर्गा प्रसाईलाई के हुन सक्छ कारबाही ? 

काठमाडौँ । बेलाबेला अनेक उटपट्याङ गरेर चर्चामा आइरहने मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि एकपटक चर्चामा छन् । तथाकथित सामाजिक अभियन्ताको छवि समेत बनाएर भीड बटुल्न थालेका प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा ठूलो लगानी रहेको खुलासा भन्दै पत्रकार सम्मेलन बोलाएका थिए । उनले अपुष्ट कागजातसहित प्रधानमन्त्री ओलीको नाम र हस्ताक्षर भएका डकुमेन्ट राखेर बनाइएको एउटा भिडियो सामाजिक सञ्जालमा फैलाइएको छ । दुर्गा प्रसाईले आफ्नै फेसबुकबाट सार्वजनिक गरेको उक्त भिडियोमा भएको नाम र हस्ताक्षर प्रधानमन्त्री ओलीको नागरिकता लगायत आधिकारिक कागजातसँग मेल नखाने देखिएपछि प्रसाईले कीर्ते गरेर अफवाह फैलाएको भन्दै यसबारे थप अनुसन्धान गर्न मंगलबार प्रसाईलाई पक्राउ गरेर हिरासतमा ल्याइएको छ ।

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)कोे एक टोलीले प्रसाईलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो । प्रसाईंले कम्बोडियाको स्मार्ट आजिआटा टेलिकममा २१ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) लगानी रहेको भन्दै सोमबार जारी गरिएको भिडियोकै कारण उनलाई पक्राउ गरिएको हो । उक्त भिडियोमार्फत प्रधानमन्त्री ओलीविरुद्ध भ्रम फैलाइएको र हस्ताक्षर लगायत कागजात कीर्ते गरिएको भन्दै सरकारले अनुसन्धानका लागि प्रसाईलाई प्रक्राउ गर्न लगाएको बुझिएको छ । पक्राउपश्चात प्रसाईविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम साइबर अपराधको मुद्दा चलाउने सीआईबीको तयारी छ । सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले गरेको प्रारम्भिक अनुसन्धानमा प्रसाईले सार्वजनिक गरेका कागजात र प्रधानमन्त्री ओलीको हस्ताक्षर फर्जी रहेको बताइएको छ ।

सोमबार प्रसाईले यत्रो ठूलो रकम लगानी गर्न ओलीले कसरी र कुन स्रोतबाट रकम जुटाए भनेर प्रश्न उठाएका थिए । प्रसाईंलाई कम्बोडियाको एजियाटा कम्पनीमा ओलीको लगानी रहेको प्रमाण प्राप्त भएको भन्दै बनाइएको उक्त भिडियोमा देखाइएका अस्पष्ट कागजात एवं प्रमाणहरु पुष्टि हुने आधार भने देखिँदैन । उनले उक्त खुलासालाई सुरुआत मात्र भन्दै अन्य नेताका पनि यस्ता प्रमाण सार्वजनिक गर्दै जाने बताएका छन् । साथै यसैकारण प्रसाईले आफूलाई मार्न सक्ने वा पक्राउ गरेर झुटो मुद्दामा फसाउन सक्ने बताएका थिए । तर आफू मर्न समेत तयार रहेको भन्दै उनले दलाल, तस्कर नेताहरुको भण्डाफोर गरेर मर्ने बताएका थिए । 
प्रसाईले राखेको प्रधानमन्त्री ओलीविरुद्धको अफवाहजन्य भिडियो धेरैले शेयर गरेका छन् । प्रमुख दलका शीर्ष नेता र सरकारविरुद्ध चरम निराशा एवं जनआक्रोश बढिरहेका बेला यस्ता प्रकारका भिडियो राम्रै खुराक भएका छन् । विशेषगरी सत्ताबाहिर रहेका विपक्षी दलहरु माओवादी केन्द्र, रास्वपा र राप्रपा लगायत राजावादी समूहलाई उक्त भिडियो प्रधानमन्त्री र सरकारविरुद्ध प्रहार गर्ने अस्त्र बनेको छ । यद्यपि भिडियोमा देखाइएका कागजात अपुष्ट र नक्कली हुनसक्ने भन्दै यस्तो अफवाहलाई निरुत्साहन गर्न जरुरी देखिएकाले प्रसाईलाई कानुनी दायरामा ल्याइएको सीआईबीको दाबी छ ।

तर प्रसाईले भने निकै प्रयासपछि मात्र उक्त प्रमाण ल्याउन सकेको दाबी गर्दै सरकारले आफूलाई पक्रेर सिध्याउन सक्ने भन्दै आफ्ना समर्थकलाई चनाखो रहन आग्रह गरेका छन् । सरकारले आफूलाई साइबर क्राईम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्दामा पक्राउ गर्न सक्ने भन्दै सोमबार बिहानै प्रसाईले अर्को स्टाटस लेखेका थिए । यसबाट उनलाई पक्राउको सुइँको वा त्रास थियो भन्ने पुष्टि हुन्छ । अब सीआईबीले गर्ने अनुसन्धानबाट प्रसाईले ओलीविरुद्ध दाबी गरेका प्रमाण तथा कागजात सत्य सावित गर्न सकिएन भने उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तरगत मुद्दा चलाउन सक्नेछ । प्रसाईले सार्वजनिक गरेका प्रमाणहरु झुटा सावित भएमा कसूरको मात्रा हेरी १ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ । सरकारले प्रसाईविरुद्ध कागजात कीर्ते र मानहानिमा समेत मुद्दा चलाउन सक्छ । सरकारी लिखत, कागजात तथा हस्ताक्षर कीर्ते गर्नेलाई मुलुकी अपराध संहिताको दफा २७६ को उपदफा ३ ग अनुसार ७ वर्षसम्म कैद सजाय र सत्तरी हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । 

विवादित व्यक्ति प्रसाईँमाथि यसअघि पनि विभिन्न अपराधमा उजुरी परेर अनुसन्धान भइरहेको अवस्था हो । गत असोज ६ गते उनी गाली–बेइज्जती तथा साइबर अपराधकै आरोपमा पक्राउ परेका थिए । रास्वपाकी केन्द्रीय सदस्य समेत रहेकी ज्वाला संग्रौलाको उजुरीमा पक्राउ पर्दा उनी १ लाख धरौटी बुझाएर रिहा भएका थिए । उक्त मुद्दा हाल काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update