News 24 Television
शान्ति प्रक्रिया टुंगिनेमा किन आशंका ? 

काठमाडौं । शान्ति प्रक्रिया टुंगो कहिले लाग्ला भन्ने चासो व्याप्त छ । शान्ति प्रक्रियाको लामो समयसम्म पनि संक्रमणकालीन न्याय प्रणालीले अन्तिम टुंगो नपाउदा देखिएको समस्या समाधान गर्न भन्दै संसदले कानून पारित गरेपनि समयमै शान्ति प्रक्रियाका बाँकी काम पुरा होलान ? शंका छ । 

नेपालको शान्ति प्रक्रिया लामो समयसम्म अल्झिदा पीडित न्यायको चित्कार गर्नुपर्ने बाध्यतामा छन् । न्याय नागरिकको पहिलो सर्त भएपनि न्याय दिन राज्य चुक्दा राजनीतिक दलहरु भने एकले अर्कोलाई देखाएर पन्छिने काम गरिरहे । 

यस्तोमा अब नेपालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंग्याउने अपेक्षा गरिएको छ । तर, नेताहरु भने अहिले पनि विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा धारणा राखिराखेका छन् । शीर्ष तहमा एकले अर्कोलाई झुक्याउने काम चलिरहेको भन्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले यस्तो काम रोकिनुपर्नेमा जोड दिए । 

शान्ति प्रक्रियाका कुराहरुमा देखिएको राजनीतिक मतभेद कानूनमार्फत टुंगिएको भनिएपनि नेताहरु यसलाई टुंगो लगाउने विषयमा अझैं पनि प्रष्टीकरणमा समय खर्चिरहेका पाइन्छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवाली द्वन्द्धका कस्ता घटनामा उन्मुक्ति हुँदैन भन्नेमै केन्द्रित देखिन्छन् । 

राजनीतिक मतभेदका दृश्य देखिइरहेको बेला कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने तत्कालीन सात दल र माओवादीबीच भएको शान्ति सम्झौता र त्यसको स्पीरिटलाई समात्न नसके तनाव सिर्जना हुने र यसमा ध्यान दिनुपर्नेमा जोड दिन्छन् । 

शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन भन्दै आयोगमा कर्मचारी राख्नेदेखि उजुरी लिनेक्रम चलिरहेको छ । संसदले कानून समेत बनाइसकेको स्थितिमा राजनीतिक सहमतिका साथ यसलाई हल दिनुपर्नेमा सरोकारवाला सचेत बन्न नसकेमा स्थिति भयावह बन्नसक्छ । त्यसैले राजनीतिक लाभहानीको विषय नबनाई यसको समाधान कानूनको दायरामा रहेर गर्नुपर्नेमा समेत जोड दिन थालिएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update