News 24 Television
युक्रेनलाई उक्साउने अमेरिकी रणनीतिले विश्व नै खतरामा

काठमाडौं । रुस युक्रेन युद्धमा अमेरिकाले दिने अनुमति र त्यसपछि सिर्जित अवस्थाले विश्व राजनीतिमा नयाँ स्थिति सिर्जना गरिदिएको छ । युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोगमा अमेरिकाले अनुमति दिएपछि रुसले आक्रोश पोखेको छ भने अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई थप सकस हुने देखिएको छ । 

लामो युद्धमा रहेको रुस युक्रेनमाथि भारी पर्न थालेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोगको अनुमति दिए । अमेरिकाले अनुमति दिएपछि युक्रेनले रुसविरुद्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्नेछ भने युक्रेन अमेरिकाको अनुमतिमा अनुग्रहित बनेको जिकिर गरिरहेको छ । 

युक्रेनले लामो दूरीका क्षेप्यास्त्रको प्रयोग गर्ने अनुमति भनेको अमेरिकाले दिएको हतियारको प्रयोग गर्नु हो । यस्तोमा रुसले युक्रेनसँगको युद्ध नभई सीधा अमेरिकासँग युद्ध लडिरहेको कठोर प्रतिक्रिया दिएको छ । जुन विषयले विश्वमा अशान्ति मच्चिने खतरा समेत बढेको छ । 

ट्रम्पको योजनामा ब्रेक

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुस युक्रेन युद्ध अन्त्य गर्ने दाबी गरिरहेका छन् । ट्रम्पले युक्रेनलाई हतियारदेखि अन्य सहयोग बन्द गरिदिने बताइरहेको बेला बाइडेन प्रशासनले युक्रेनलाई एकपछि अर्को गर्दै अनुमति  र सहायता दिनुले अब के होला भन्ने चासो स्वभाविक बनेको छ । 

ट्रम्पले युद्ध अन्त्य गर्ने घोषणा गरेको समयमा युक्रेनले लामो दूरीका क्षेप्यास्त्रको प्रयोग गर्ने र ट्रम्प प्रशासनलाई असहज स्थिति सिर्जना गरिदिने योजना बाइडेन प्रशासनको देखिन्छ । यहि रणनीति अनुसार चालिएका कदमले के ट्रम्प युद्ध रोक्न सफल होलान् ? प्रश्न भने कठिन बन्न थालेको छ । 

अमेरिकाले सहयोग रोकेको केहि समयमा रुसले युक्रेनमाथि कब्जा गर्ने क्षमता राख्ने विश्लेषण हुँदै आएको छ । यस्तोमा अमेरिका र पश्चिमा शक्ति राष्ट्रहरुले दिएको हतियार र प्रविधिको प्रयोगमा लडिरहेको युक्रेनलाई ट्रम्प प्रशासनले वार्तामार्फत युद्ध अन्त्य गराउने योजना बनाइरहेको छ । 

रुस पनि लामो युद्धमा जानुको सट्टा युद्ध अन्त्यको पक्षमा नै देखिन्छ । यस्तो स्थितिमा रुसले कब्जामा लिएका क्राइमिया जस्ता क्षेत्र छाडेर सम्झौता गराउने ट्रम्प प्रशासनको योजनामा बाइडेन प्रशासन बाधक बन्न खोजेको देखिन्छ भने रुस र अमेरिकाबीचको सम्बन्धमा समेत दखल पु¥याउने योजनामा बाइडेन प्रशासन अग्रसर बनेको विश्लेषण हुन थालेको छ ।

क्षेप्यास्त्र प्रयोगको अनुमति

अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको सबैभन्दा शक्तिशाली क्षेप्यास्त्रमा लकहीड मार्टिन ब्यालिस्टिक मिसाइल भएको बताइन्छ । यो अमेरिकी ब्यालिस्टिक क्षेप्यास्त्र ३०० किलोमिटर टाढाको दूरीसम्म प्रहार गर्न सक्ने क्षमताको हो । यो क्षेप्यास्त्रको प्रयोग युक्रेनले रुसी नियन्त्रणमा पुगेका युक्रेनी भूभागमा रहेका रुसी सैन्य संरचनामा आक्रमण गर्न मात्रै प्रयोग गर्न पाउने थियो । भने क्राइमियास्थित रुसी वायुसेनाको शिविर र जापोरिज्या क्षेत्रमा आक्रमण गर्न ती क्षेप्यास्त्रहरू प्रहार भएका थिए । तर, अब यो अनुमतिपछि भने युक्रेनले आक्रमण गर्न पाउने क्षेत्र समेत फराकिलो बन्नेछ । 

उसोतः युक्रेन युद्धमा यस्तो क्षेप्यास्त्रको प्रयोग उत्तर कोरियाली सेनाको सहभागीतापछि भएको दाबी गरिएको छ । लामो दूरीको क्षेप्यास्त्र प्रयोगको अनुमतिले युद्ध चर्किने भन्दै बाइडेन प्रशासनले अन्तिम समयसम्म रोकेको हतियारको प्रयोग ट्रम्प आउने समय नजिकिदै गर्दा दिइएको अनुमतिले विश्वमै तनावको संकेत भने प्रष्ट देखिन्छ ।

भारतको सन्देश

अमेरिकाले क्षेप्यास्त्र प्रयोगको अनुमति दिएको केहिदिनमै रुसी राष्ट्रपति पुटिन भारत भ्रमणमा आउने भएका छन् । रुसी र भारतीय सञ्चार माध्यमका अनुसार पुटिन छिट्टै भारत भ्रमणमा आउन लागेका हुन् । 

क्रेमलिनले पुटिनको भारत भ्रमण तय भएको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् भने, भारत भ्रमणबारे क्रेमलिनका प्रवक्ता दिमित्रि पास्कोभले समेत पुष्टी गरेका छन् । 

युक्रेन युद्धमा रहेको र अन्तर्राष्ट्रिय अदालतबाट पक्राउ पुर्जी समेत जारी भएका पुटिनको भारत भ्रमण विश्व चर्चाको विषय समेत बनिरहेको छ । अमेरिकाले युक्रेनलाई दिएको क्षेप्यास्त्र प्रयोगको अनुमतिसँगै पुटिनले बढाएका गतिविधिले थप डर पैदा भने गरिदिएको छ । 

पुटिनको कडा जवाफ

अमेरिकाको एक्सनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ आणविक कानून प्रमाणीकरण गरेका छन् । रुसी सञ्चार माध्यमले नयाँ आणविक कानून प्रमाणीकरण गरेको दाबी गरेका छन् । 

यो कानून मंगलबारदेखि नै लागू हुने बताइएको छ । अब नयाँ नीतिले कुनै आणविक देशको साथमा गैरआणविक देशले रुसमा हमला गरेमा त्यसलाई सामूहिक आक्रमण मानेर त्यसैअनुसार जवाफ दिइने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update