काठमाडौं । वागमतीसहित काठमाडौं उपत्यकाका नौ वटा खोला क्षेत्रमा सडक निर्माण गर्ने, नदी नियन्त्रण गर्ने र ढल व्यवस्थापनको काम १५ वर्ष अघि सुरू भएको थियो ।
२०६६ मा शूरु भएको काम २०८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि तर उक्त नदी दायाँ बायाँको करिडोरको काम अझै सतप्रतिशत सकिएको छैन । तर, वर्षौदेखि व्यापारी र केही व्यक्तिले हडपेका खोला किनारका सार्वजनिक जग्गाको संरक्षण गर्न तत्काल पार्क निर्माण गरिने भएको छ । त्यसका लागि टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ ।
नगरपालिकाले मंगलबार नयाँबसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमति खोला करिडोरमा निर्माण गरी सञ्चालनमा टहरा पसल हटाएको हो । विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना हटाइएको नगरपालिकाले जनाएको छ ।
टोखावासीलाई विष्णुमती करिडोरबाट आवतजावत लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको र टोखाभित्र एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएकाले यसलाई संरक्षण गर्ने योजना नगरपालिकाको छ ।
नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमति करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाएको थियो ।
वषौंदेखि पैदलयात्रुका लागि छाडिएको फुटपाथमा निर्माण सामाग्री राख्ने र व्यापार व्यवसाय गरेर करिडोरलाई कुरुप बनाउनेहरूलाई टोखा नगरपालिकाले हटाउन शुरु गरेसँगै टोखा वडा नंं. ९ को नयाँ बसपार्कसँग जोडिएको विष्णुमती करिडोर क्षेत्रमा सुविधा सम्पन्न पार्क निर्माण गर्ने भएको छ । पार्कको नगरपालिकाले डीपीआरसमेत तयार गरिसकेको छ । हरियाली पार्कभित्र सार्वजनिक शौचालय, बाल उद्यान, खुल्ला व्यायाम शाला र मन्दिर रहनेछन् ।
बसपार्क प्रवेशद्वारमा आगामी वर्ष नगरपालिकाले गेट समेत निर्माण गर्ने लक्ष्य राखेको छ । विष्णुमती करिडोर निर्माणले विष्णुमती नदीको वरपरको क्षेत्रलाई व्यवस्थित, सुन्दर, र वातावरणमैत्री बनाउने उद्देश्य राखिएको छ ।
नदीको प्रदूषण नियन्त्रण गर्दै यसलाई पुनर्जीवित गर्नु, नदी किनारमा हरित क्षेत्रको विकास गर्नु, र व्यवस्थित सडक तथा पुलहरूको निर्माण गरी उपत्यकाको यातायात व्यवस्थापनमा सुधार ल्याउने उपेक्षा स्थानीयहरूको छ । साथै, करिडोरले नदी किनारका बासिन्दाको जीवनस्तर उकास्ने र पर्यावरण संरक्षणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।