कास्की । पोखरा र जापानको सहर कोमागाने बीचको मितेरी साइनो झल्काउन पोखराको लेकसाइडमा ’कोमागाने पार्क’ स्थापना गरियो । तर पार्क अहिले गौचरण बनिसकेको छ भने अतिक्रमणको पनि चपेटामा छ । पार्कमा निर्माण गरिएको वाटर फाउन्टेनदेखि बगैंचा र रोपिएका बोट बिरुवा पूर्णरूपमा ध्वस्त भइसकेका छन् ।
दृश्यमा एउटा चौर देख्न सक्नुहुन्छ । त्यही चौरमा गाई वस्तुहरू मज्जाले चलिरहेका छन् । जो कोहीलाई पनि लाग्न सक्छ यो कुनै गौचरण हो, तर नझुक्किनुहोस् यो गौचरण नभई पोखरा र जापानको कोमगाने सहरको मित्रताको प्रतीकको रूपमा निर्माण गरिएको पोखरा ६ बैदाममा रहेको कोमगाने पार्क हो ।
२०३८ सालमा फेवातालको संरक्षण र ग्रीन पार्क निर्माण गर्ने भन्दै तत्कालीन सरकारले ३०२ रोपनी क्षेत्र अधिग्रहण गरेको थियो । त्यो मध्ये ८० रोपनी क्षेत्रफललाई कोमागाने र पोखरा महानगरको मितेरी पार्कका रूपमा सन् २००१ मा घोषणा गरिएको थियो । हेर्दा पार्क जस्तो नभएपनि अहिलेसम्म कोमागाने पार्कका रूपमा चिनिन्छ यो चौर ।
कोमागाने पार्कलाई थप सुन्दर बनाउनका लागि सरकारवाला निकाय सबैको सक्रियतामा आठ वर्षअघि विश्वका चर्चित मूर्तिकारहरू बोलाएर ढुङ्गाबाट विभिन्न आकारका कलात्मक मूर्ति पनि निर्माण गरियो । तर ती मूर्तिहरू पनि अहिले अलपत्र अवस्थामा छन् ।
पोखरा आफैमा पर्यटकीय राजधानी हो । पोखरामा हरेक वर्ष जापानिज पर्यटकहरू पनि बाक्लै सङ्ख्यामा घुम्न आउँछन् । तर पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा नै आफ्नो देशको कोमागाने सहरसँगको मित्रता झल्काउने पार्कको अवस्था यस्तो देख्दा ती जापानिज नागरिकहरूको मनमा के उब्जिएला, सजिलै अनुमान गर्न सकिन्छ ।
तत्कालीन समयमा पोखरा उपमहानगरपालिकाका मेयर कृष्ण थापाको पहलमा जापानी सहरको कोमागानेसँग पोखराको मितेरी सम्बन्ध गाँसिएको थियो । त्यति मात्र होइन पोखरा–कोमागाने नागरिक संघ समेत स्थापना गरियो । हरेक वर्ष पोखरा महानगरले कोमागानेमा भ्रमण टोली पठाउँछ भने कोमागानेबाट पनि पोखरा भ्रमणका लागि आउँछन् । तर एउटा मितेरी पार्क अलपत्र हुँदा जिम्मेवार निकायहरू तैँ चुप मै चुप छन् ।
कोमागाने पार्कको जग्गा र स्वामित्व दुवै अहिले पोखरा महानगरकै अधीनमा छ । तर पोखराकै पहिलो मितेरी सम्बन्ध गाँसिएको कोमागाने सहरको नाममा निर्माण गरिएको मितेरी पार्क केदारेश्वर मन्दिर लगायतका अन्य संघसंस्थाहरूले अतिक्रमणको चपेटामा पार्दा र संरक्षणको अभावमा कुरुप बन्दै जाँदा महानगरपालिकाले पर्याप्त चासो नदिएको देखिन्छ ।
यता पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य भने महानगरकै सक्रियतामा र जापानमा बस्ने नेपालीहरूको सहकार्यमा कोमागाने पार्कलाई भव्य र विस्तारित पार्क बनाउन डिपिआर तयार भइसकेको र केही समयमा काम सुरु हुने बताउँछन् ।
त्यसो त पोखरामा पर्याप्त खाली जग्गा र पार्कहरू रहेका छन् । तर ती अधिकांशको अवस्था यस्तै विजोग छ । कुनै दिन यस्ता खाली जग्गा र पार्कहरु अतिक्रमणको चपेटामा पर्ने त होइन भन्ने चिन्ताले उत्तिकै सताइरहेको छ । त्यसैले समयमै यी पार्क तथा खाली जग्गाको संरक्षण नगर्ने हो भने भावी पुस्ताका लागि यस्ता पार्कहरू एकादेशको कथा नहोला भन्न सकिन्न ।