दार्चुला । दार्चुला जिल्लाको लेकम क्षेत्रमा रात्रीकालीन जात्रा लाग्ने परम्परा रहि आएको छ । हरेक वर्ष कार्तिक शुक्ल द्वितीयादेखि पूर्णिमासम्म लाग्ने जात्राहरुमा देशविदेशबाट भक्तजनहरु आउने गरेका छन् । तर पछिल्लो समय सडकको पहुँचसंगै रात्रिकालिन जात्राका कारण दुर्घटनाको कारण बनिरहेको छ ।
दार्चुलाको शैल्यसिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका विभिन्न स्थानमा जात्रा लाग्ने भएपनि मुख्यतः राष्ट्रिय धाम मालिकार्जुनमा लाग्ने रात्रीकालीन जात्रा बढी जोखिम बनिरहेको छ । विगत केहि वर्षयता जात्राबाट फर्किने क्रममा सडक दुर्घटना भएर मात्रै दर्जनौ बढीले ज्यान गुमाई सकेका छन् । यस्तै यो वर्षको रात्रीकालीन जात्राबाट कार्तिक ३० गते बिहान मालिकार्जुन धामबाट फर्किने क्रममा शैल्यसिखर नगरपालिका ६ ग्वानीमा भएको जीप दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएका थिए भने ५ जना घाइते भए ।
राती लाग्ने जात्राहरुमा मदिरा सेवन गरेर झैझगडा गर्दा हिसां एवम् बलत्कारका घटनाहरु पनि त्यतिकै घट्ने गरेको छ । यो वर्ष मात्रै लेकम गाउँपालिका १ सर्मोलीमा लाग्ने धुरा जात्रामा ग्याँङ फाइट हुदा एकजनाको खुट्टा भाचिएको थियो भने कारबाही नभएका घटनाहरु त दर्जन बढी छन् । यस्तै यो वर्षको अन्तिम जात्रा लेकम १ कूणी माहामाहीमा १६ वर्षिय किशोरी अपरिचित व्यक्तिहरुबाट कुटपिटमा परी अर्धचेत अवस्थामा फेला परेकी थिइन । यि र यस्ता घट्नाहरु देख्दा परम्परागत रात्रीकालीन जात्राहरु हिसां र दुर्घटनाको अखडा बनिरहेको भन्दा फरक पर्दैन ।
रात्रिकालीन जात्रा यस क्षेत्रको विशेष रंगमन्चको भेला हो । दिउँसो ४ बजेतिर भण्डारी घरबाट भराण लिएर मन्दिरमा जाने रातभरी जाग्राम बस्ने, पुजापाठ गर्ने, मुढाहरु बाल्ने, दमाहा बजाउने, भाकलहरु चढाउने, बत्ति बाल्ने, छाकाना चढाउने र बिहान ४ बजेतिर भराण (मन्दिरमा चढाएका भाला, डोली, गदा, कुणी लगायत देविदेवताका गरगहना) सहित ५ पटक मन्दिरको वरिपरी परिक्रमा गरेर धुपदेउ गर्ने एवम् जात्रा सम्पन्न हुने गर्दछ ।
तर पछिल्लो समय रात्रिकालीन जात्रा परम्पराभन्दा पनि झैझगडा गर्ने र रिस उठेका मानिसहरुसँग बदला लिने अवसर जस्तो हुन थालेको छ । त्यसैले दुर्घटना वा अन्य विभिन्न कलहका माध्यम बनिरहेका यस्ता चाडपर्व र रात्रीकालिन जात्रामा सुधार ल्याउनु पर्ने देखिएको छ ।
यसको निराकरणका लागि बहस समेत नभएको होइन । तर स्थानीय निकाय, स्थानीय प्रशासन र सुरक्षाकर्मी बीचको तादम्यता मिल्न सकिरहेको छैन । त्यस्तै रातिको जात्रा दिनमा बनाउनुपर्ने विषयमा संस्कृति नासिन्छ भनेर कसैले यही गर्ने भन्ने निर्णय गरिहाल्न सकेको छैन ।