News 24 Television
भैरहवामा सिद्धार्थ रंगशाला अलपत्र, सरकारको ध्यान कता ? 

रुपन्देही । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानलाई स्तरोन्नती गरी अन्तर्राष्ट्रियस्तरको बनाउन सुरु गरेको करिब डेढदशक वितिसकेको छ । तर, पर्याप्त बजेट नहुँदा काम भने कछुवा गतिमा छ । अन्तर्राष्ट्रियस्तरको बनाउने भनेर करोडौं खर्च भइसकेको रंगशालामा चालु आर्थिक वर्षमा एक रुपैयाँ बजेट नछुट्याइदा थप अन्यौलता बढेको छ । 

बहुवर्षीय ठेक्का नहुँदा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पर्याप्त बजेट नछुट्याउँदा भैरहवामा बनिरहेको सिद्धार्थ क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजना वर्षौंदेखि अलपत्र छ । रंगशालमा डेढ दशकमा बल्ल १६ प्रतिशत हाराहारी काम भएको छ । न्युन बजेट आउँदा डीपीआर अनुसार अन्तर्राष्ट्रियस्तरको मैदान यति नै समयमा बन्छ भन्ने एकीन छैन । क्रिकेट मैदान बनाउन अहिलेसम्म करिब १२ करोड रुपैयाँ खर्च भइसकेको छ । 

२०६८ मा भैरहवा र मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन सुरु गरिएको थियो । तर, मूलपानी मैदानले गति लिँदा भैरहवाको मैदान स्तरोन्नतीकोे काम भने ओझेलमा परेको छ । मैदानमा ७ हजार दर्शक अट्ने गरी प्याराफिट बनाउने र अन्तर्राष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले डीपीआर बनाएको थियो । डीपीआर अनुसार त्यसबेला मैदान बनाउन कम्तिमा ३८ करोड रुपैयाँ लाग्ने जनाइएको थियो । तर, पछिल्ला वर्षहरुमा बजेट नै विनियोजन हुन छाडेको छ । जसले गर्दा पूरानै डीपीआर अनुसार काम गर्दा पनि अहिलेको अवस्थामा कम्तिमा ७० करोड बढी लागत लाग्ने अनुमान गरिएको छ ।

अहिलेको जस्तै सुस्त गतिमा काम हुने हो भने अझै २५ वर्ष अन्तराष्ट्रिस्तरको रंगशाला तयार नहुने खेल क्षेत्रका अगुवा बताउँछन् । यहाँ अहिलेसम्म ३ करोड लागतमा हल, खेलाडी बस्ने ठाउँ र शौचालय सहितको तीनतल्ले भीआई प्याराफिट निर्माण गरिएको छ । सुरुमा एक करोड १९ लाख रकम खर्च गरेर क्रिकेट संघको कार्यालयसहित एक तल्लाको प्याभेलियन भवन बनाइएको थियो । त्यसपछि मैदान सम्माउन तीनवर्ष लगाइयो । 

अहिलेसम्म प्याभेलियन भवनसहित ८९ लाखमा मैदान सम्याउने काम, ४० लाखमा तारजाली, ९० लाखमा ढल व्यवस्थापन, १ करोडमा पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर रुम बनाइएको छ । तर, सरकारले बहुवर्षीय योजनामा राखेर रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने भने पनि बजेट छुट्याउनै छाडेको छ । बेलाबेला ताँती लागेर मैदान अवलोकन गर्न आउने विभागीय मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री र खेलकुद परिषद्का पदाधिकारीले भने पर्याप्त बजेट छुट्याउँछौं भनेर आश्वासन दिन्छन् । तर, बजेट नछुट्याउँदा रंगशाला निर्माण कछुवा गतिमा भइरहेको हो ।

विगतमा समयमै टेण्डर नहुँदा कैँयौं पटक आएको बजेट काम नभएर फिर्ता गएको तितो यथार्थ पनि छ । यो मैदानमा अन्तर्राष्ट्रिय क्लब स्तरीय र प्रधानमन्त्री कप लगायतका ठूला खेल भइसकेका छन् । यहाँ खेल्न आउने खेलाडीले यो रंगशालाको भविष्य राम्रो देख्छन् । 

तर, सरकारले भने बेवास्ता गरिरहेको देखिन्छ । रुपन्देहीले मात्रै क्रिकेटमा एक सय बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेर योगदान गरेको छ । तर, यस्तो महत्वपूर्ण जिल्लामा समेत निर्माण भइरहेको क्रिकेट मैदान सम्पन्न गर्न सरकारले बजेट समेत नछुट्याएर अन्याय गरिरहेको खेल क्षेत्रका अगुवा र खेलाडी गुनासो गर्छन् । त्यसैले सरकारले सिद्धार्थ क्रिकेट मैदानलाई चाँडै नै अन्तर्राष्ट्रियस्तरको बनाउन अब बहुवर्षीय ठेक्कामा गई पर्याप्त बजेट उपलब्ध गराउनतर्फ ध्यान दिनुपर्ने देखिन्छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update