काठमाडौँ । सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा स्थानीय तहको उपनिर्वाचनको दबाबमा छ । पहिलो पटक स्थानीय तहको निर्वाचनमा होमिएको रास्वपाले यस उपनिर्वाचनलाई परिक्षणको रुपमा हेरेकाले पनि उम्मेदवारी दिएको स्थानमा जित्नै पर्ने दवाबमा छ । तर, स्थानीयस्तरमा संगठनात्मक संरचना कमजोर भएका कारण ४४ मध्ये १८ स्थानमा रास्वपा उम्मेदवारबिहीन बन्यो । कीर्तिपुरको उपचुनावलाई आफ्नो शक्ति परीक्षण गर्ने प्रतिष्ठा बनाएका दलहरुको अगाडि रास्वपा उम्मेदवार नै उठाउन नसक्ने अवस्थामा पुग्यो ।
असन्तुष्ट नागरिकको मतलाई क्यास गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको छोटो समयमा राजनीतिक यात्रामा प्रभावशाली उपस्थिति जनायो । युवापुस्ता र परिवर्तनप्रेमी मतदाताको बीचमा लोकप्रियता वृद्धि भैरहेको दाबी गर्ने रास्वपाले २०७९ मंसिर ४ गतेको प्रतिनिधिसभाको निर्वाचनमा चौथो दलका रुपमा आफूलाई स्थापित ग¥यो । तर, स्थापनाको दुईवर्षसम्म रास्वपाले केन्द्रीय राजनीतिमा चर्चा कमाउन सफल भएपनि स्थानीय तहमा बलियो उपस्थिति बनाउन सकेन ।
प्रतिनिधिसभामा काठमाडौंमा मात्रै चारवटा निर्वाचन क्षेत्रमा जीतेको रास्वपाले काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवार नउठाउनु संगठन विस्तार प्रक्रियामा देखिएको सुस्तताको परिणाम हो । यस निर्णयसँगै रास्वपाले उपनिर्वाचनको मैदान अन्य दलहरूलाई खुला छाडेको छ । यो कदमलाई कतिपयले पार्टीको रणनीतिक सोचका रूपमा हेरेका छन् भने आलोचकहरूले यसलाई पार्टीको प्रभाव कमजोर भएको संकेतका रूपमा पनि व्याख्या गरेका छन् । तर, रास्वपाले भने मापदण्डका कारण र देशैभर संगठन बलियो भइनसकेकाले सबै ठाउँमा उम्मेदवारी दर्ता नभएको बताएको छ । योसँगै आफ्ना उम्मेदवारलाई डर, धम्की, पैसाको प्रलोभन र कतै अपहरणसमेत गरिएको रास्वपाको आरोप छ ।
पहिलो पटक स्थानिय तहको निर्वाचनमा होमिएको रास्वपा यस उपनिर्वाचनलाई परिक्षणको रुपमा समेत हेर्दैछ । मिसन ८४ को नारा घन्काउँदै हिडेका कारण पनि उम्मेदवारी दिएको स्थानमा जित्नै पर्ने दवाबमा रास्वपा देखिएको छ । तर धेरै स्थानमा उम्मेदवार उठाउनै नसक्ने हैसियत रास्वपाको देखिएपछि धेरैले कमजोर आँकेका छन् । तर यो उपनिर्वाचनलाई रास्वपाले आफ्नो परीक्षणको आधार बनाउँदै जस्तो नतिजा आउँछै त्यही अनुसार आगामी रणनीति बनाउने अवसरमा भने चुकेको छ ।
संगठन विस्तारमा रास्वपाको कमजोरी
रास्वपाले शहरी क्षेत्र र युवापुस्तामा त लोकप्रियता हासिल गरेको छ तर ग्रामीण क्षेत्रहरूमा उपस्थिति निकै कमजोर छ । यो समस्या मुख्यतः स्थानीयस्तरमा संगठनात्मक संरचना निर्माणमा ध्यान दिन नसक्नु र अनुभवी नेताहरूको अभावका कारण उत्पन्न भएको हो । संगठन विस्तारको प्रक्रिया व्यक्तिगत करिश्मा र व्यक्ति केन्द्रित नेतृत्वमा आधारित भएकाले पनि स्थानीय तहमा कार्यकर्ताको दीर्घकालीन समर्पण र सक्रियतालाई प्रभावकारी बनाउन नसकेको विश्लेषण हुने गरेको छ ।
पार्टीभित्र रणनीतिक योजना र स्पष्ट दिशा निर्देशको अभावले गर्दा कार्यकर्ता र समर्थकबीच निराशा पैदा हुन थालेको छ । रास्वपाको संगठन विस्तार प्रक्रिया सुस्त मात्र होइन, असन्तुलित पनि देखिन्छ । यदि पार्टीले दीर्घकालीन सोचसहित स्थानीयस्तरमा जरा गाड्न सकेन भने यसको लोकप्रियता अस्थायी बन्न सक्ने खतरा छ ।