काठमाडौँ । संसारमा नै सबैभन्दा बढी सार्वजनिक बिदा दिने देशको अग्रस्थानमा रहेको नेपाल बिदाका कारण बेलाबेला विवाद र सरकारको आलोचना बढ्ने गरेको छ । कुनै विशिष्ट व्यक्ति मर्दा होस् या विदेशी विशिष्ट पाहुना नेपाल आउँदा होस्, सार्वजनिक बिदा दिने निर्णयले सरकार आलोचनामा पर्ने गर्दछ । शोक मनाउन या कसैप्रति सम्मान जनाउन बिदाको सट्टा अन्य रचनात्मक कार्य गरेर मनाउन सकिने सुझावहरु नागरिक र बौद्धिक वर्गबाट नआएका हैनन्, सरकारले सुन्दैन । बिदा घोषणा गरेर अल्छी चरित्र देखाउनमै उसलाई मज्जा छ । अझ विभिन्न जाति, समुदायका चाडपर्वपिच्छे राष्ट्रिय बिदा दिनाले समेत मुलुकको प्रशासन, अर्थतन्त्र लगायत समग्र क्षेत्रमा नकारात्मक असर पर्दै गएको छ ।
यसपटक पुनः सरकार बिदाकै कारण आलोचनाको केन्द्रमा छ । पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार दिउँसो नै निधन भएको थियो । तर सरकारले सोमबार बिहान लगभग कार्यालय समयमा मन्त्रिपरिषद बैठक बसेर राष्ट्रिय शोकबिदा घोषणा ग¥यो । उसै पनि यस्ता व्यक्तिहरु मर्दैपिच्छे बिदा दिने निर्णय गलत रहेको भनेर आलोचना बढिरहँदा अझ कार्यालय समयमा बिदा दिने लाजमर्दो निर्णयले सरकारप्रति आक्रोश बढेको छ । सोमबार बिहान ९ बजेपछि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले देशभर सार्वजनिक बिदा दिने निर्णय ग¥यो । साथै पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत ग¥यो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले देशभर बिदा दिने र नेपालका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको बताए ।
बिदा दिनु नै छ भने आइतबार नै साँझ निर्णय गर्न सकिन्थ्यो या त सोमबार बिहानै ६–७ बजेभित्र विज्ञप्ती जारी गरेर सूचना दिन सकिन्थ्यो । तर दुईतिहाइ बहुमतको दम्भ पालेर बसेको काँग्रेस–एमाले गठबन्धन सरकारले साह्रै अल्छीलाग्दो, लाजमर्दो र रिसउठ्दो निर्णय गरेर जग हँसाउने काम गरेको छ । कतिपय सरकारी कार्यालय ९ बजे नै खुलिसकेका हुन्छन् । कतिपय कर्मचारी कार्यालय पुगिसकेका हुन्छन् । कोही ८–९ बजे नै कार्यालय तथा विद्यालय कलेज जान ८–९ बजे घरबाट निस्किसकेका हुन्छन् । यस्तो बेला मन्त्रिपरिषद बैठक बसेर बिदा दिने निर्णय गर्दा सर्वसाधारण आक्रोशित हुनु स्वाभाविकै हो ।
दुई तिहाइको सक्षम सरकारले स्थिरता र विकास दिने दाबी गरिएकोमा एउटा सार्वजनिक महत्वको निर्णय गर्न यति अल्छी र ढिलासुस्ती गर्छ भने देश बनाउँछन् भनेर कसरी पत्याउने ? सरकारको यो अव्यावहारिक र ढिलो निर्णयको सर्वत्र आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा प्रायः सबै क्षेत्रका व्यक्तिहरुले कार्यालय खुलिसक्ने समयमा बिदा घोषणा गर्ने कार्य अत्यन्त गलत रहेको भन्दै व्यंग्य र आक्रोश व्यक्त गरेका छन् । कतिपयले सरकारको निर्णय अझ ११ बजेपछि दिउँसो आउनुपथ्र्यो भनेका छन्, कतिपयले हिजो मरेको मान्छेको शोकबिदा दिन आज कार्यालय समयमा निर्णय गर्नसक्ने द्रूत सरकार भनेर व्यंग्य गरेका छन् ।
यसबारे सञ्चारकर्मीहरुले सरकारका प्रवक्ता गुरुङलाई प्रश्न समेत गरेका थिए । जवाफमा उनले सरकारी कार्यालय १० बजे खुल्नेमा आफूहरुले ९ बजे नै बैठक बसेर बिदा दिने निर्णय गरेको भन्दै सरकारको निर्णय ठीक समयमा आएको दाबी गरे । एक अनलाइनले गरेको प्रश्नमा मन्त्री गुरुङले अत्यन्त गैरजिम्मेवार हिसाबले जवाफ दिएका छन् ।
तर झण्डा हल्लाउँदै सिंहदरबार र बालुवाटार गएजस्तो कहाँ सजिलो छ मन्त्रीज्यू, आम नागरिकलाई कार्यालयसम्म पुग्न ? काठमाडौँमै पनि कतिपय सार्वजनिक यातायात प्रयोग गरेर स्कुल÷कलेज तथा कार्यालय र अस्पताल जानुपर्ने मान्छेहरु ९ बजेअघि नै घरबाट निस्किसकेका हुन्छन् । काठमाडौँबाहिर अझ टाढा–टाढाका कार्यालय तथा विद्यालय पुग्नुपर्ने कर्मचारी, विद्यार्थी, शिक्षक मात्र हैन, सेवाग्राही समेत ७–८ बजे नै घरबाट निस्किसकेका हुन्छन् । सरकारी अस्पताल लगायत भीडभाड हुने र लाइन बस्नुपर्ने कार्यालयमा सेवाग्राही अझ १–२ अघिदेखि लाइन बसिसकेका हुन्छन् । अचानक बालुवाटारबाट बिदा घोषणा गर्दा उनीहरुलाई परेको मर्का कसले देख्छ मन्त्रीज्यू ? तपाईलाई सरकारको निर्णय एकदम सही र ठीक समयमा भएजस्तो लाग्छ होला तर जनताको नजरमा सरकार पंगु, अल्छी, अकर्मण्य र अविवेकी लाग्छ । यो कुरा बुझ्न तपाइँलाई अझै कति जुग लाग्ने हो कुन्नि !
खासमा यस्ता विशिष्ट व्यक्तिको निधनमा होस् या भ्रमणमा होस्, सार्वजनिक बिदा दिएर देशलाई नै अकर्मण्य बनाउने नीति फेर्नुपर्छ । बिदाको सट्टा अन्य रचनात्मक र स्मरणीय कार्यक्रम गरेर शोक तथा सम्मान दर्शाउन सकिन्छ । यसबारे नीति–नियम बनाउन पो दुई–तिहाइको दम्भ खर्च गर्ने हो कि ?