काठमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आइतवार मनोनयन दर्ता सम्पन्न भएको छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्ष पदको उपनिर्वाचनका लागि दुई जना स्वतन्त्र सहित १६ जनाले मनोनयन दर्ता गरेका छन् ।
उम्मेदवारहरु बाजागाजा र जुलुस सहित ग्रामथान गाँउपालिकामा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यलयमा मनोनयनका लागि पुगेका थिए ।
केन्द्र तथा प्रदेशमा विभिन्न गठबन्धन भएपनि अध्यक्ष पदका लागि अधिकांश दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । गत असार ३ गते ग्रामथान गाँउपालिकाका तत्कालिन अध्यक्ष जयप्रकाश गच्छेदारको मृत्यु भएपछि अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । ग्रामथान गाँउपालिकामा २६ हजार ४४ मतदाता रहेका छन् ।
त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ नम्बर वडाको वडाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी दर्ता गराए । राजनीतिक दलका ९ उम्मेदवार छन् भने बाँकी ५ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उम्मेदवार खडा गरेपनि यी ठुला दलहरुलाई चुनौती थपिने देखिएको हो ।
माओवादीका तत्कालिन उम्मेदवार ललितबहादुर घलानसँग झिनो मतान्तरले दुई पटकसम्म पराजय भोगेका कांग्रेसका उम्मेदवार अर्जुन तिवारी आफ्नो तेस्रो पटकको चुनावी यात्रा सफल बनाउने दाउमा छन् ।
विगतलाई हेर्दा त्रीपक्षीय भीडन्त हुँदै आएको यस वडामा रास्वपाको प्रवेशले तरंग पैदा गरिदिएको छ । हेटौडाको १२ नंवर वडामा ८ हजार ५३ मतदाता छन्, जसमा महिला ४ हजार १७४, पुरुष ३ हजार ८७८ र अन्य १ मतदाता रहेका छन् ।
दोलखाको गौरीशंकर गाउँपालिकाका उपप्रमुख श्यामसुन्दर तामाङको मृत्यु भए पछि भएको रिक्त स्थानमा उप निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा नेपाली काङ्ग्रेसबाट पासदिकी शेर्पा, नेकपा एमालेबाट उमा लुङेली मगर शेर्पा र नेकपा माओवादी की निमलेकी शेर्पा मुख्य प्रतिस्पर्धी छन् । नेपाली काङ्ग्रेसकी उम्मेदवार पासदिकी शेर्पा भने श्यामसुन्दर तामाङकी पत्नी हुन् ।
पतिले छोडेर गएको अधुरो काम पुरा गर्न चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ । अर्र्की उम्मेदवार निमलेकीले आफु महिला भएर महिला को पिडा बुझ्न सक्ने भएकाले चुनावी मैदानमा आएको बताइन् ।
त्यस्तै दैलेखको महाबु गाँउपालिकाको अध्यक्ष पदका लागी नेपाली काँग्रेसबाट झलकबहादुर भण्डारी, ने.क.पा. माओबादी केन्द्रबाट जंगबहादुर बराल मगर, ने.क.पा. समाजबादीबाट जगतबहादुर हमाल, ने.क.पा. एमालेबाट जंगबहादुर शाही, राष्टिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, राष्टिय प्रजातन्त्र पार्टीबाट सुर्जे रावत र नेपाल मजदुर किसान पार्टीबाट दुर्ग बहादुर मगरले अध्यक्ष पदका लागी उमेद्वारी दर्ता गराएका छन् ।
उता दार्चुलाको दुहु गाउँपालिका ५ को वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट धनसिंह कुवर, एमालेबाट मान सिंह बडाल, माओवादी केन्द्रबाट वीर सिंह कार्की र स्वतन्त्र उम्मेदवारका रुपमा लाल बहादुर कुवरले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष उम्मेदवारका लागि ५ दलले उम्मेदवारी दर्ता गरेका छन् । जसमध्ये नेकपा एमालेका सुलोचना भण्डारी बुढा, काँग्रेसका पूलतीसरा शाही , नेकपा माओवादीबाट राजुकुमारी विक, नेकपा एकीकृत समाजवादीबाट जवा शाही र राप्रपाबाट सुनादेवी थापा भोटे धामीले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दिएका नामहरुमा मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उनीहरुको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् ।