News 24 Television
मकै खेतीले हेटौडामा फेरियो किसानको हैसियत, बजारको छैन चिन्ता 

मकवानपुर । नेपालका धेरै जिल्लाजस्तै मकवानपुरका अधिकांस कृषि पेशामा आवद्ध छन् । प्रशस्तै उर्वर भूमि रहेका कारण पनि जिल्लाका धेरैको जिविकोपार्जनको माध्यम कृषि बनेको छ । 

प्रदेश राजधानी समेत रहेको हेटौंडामा मकै खेती निकै फस्टाएको छ । अन्नबालीको रुपमा प्रयोग गरिने मकैबाट मनग्य आम्दानी हुन थालेपछि किसान निकै दंग छन् । 

हेटौंडा उपमहानगरपालिकाकाको १२, १३ र १४ नम्बर वडा क्षेत्रका किसानहरु पछिल्लो समय हरियो मकै बिक्री गरेर आफ्नो आर्यआर्जनको स्रोत बनाइरहेका छन् । 

कुनै समय बस्तुभाउलाई खुवाउन र अलिअलि आफूहरु खानका लागि मात्रै लगाइने मकै पछिल्लो समय आम्दानीको स्रोत बनेपछि यहाँका किसानहरुले आफ्नो खेतबारी बाँझो नराखेर टन्न मकै लगाउने गरेका छन् । 

हरियो मकैको घोगाले राम्रो भाउ पाउने भएपछि यहाँका स्थानीयहरुको प्रमुख बालीकै रुपमा मकै लगाउने गरेका हुन् । यहाँका किसानहरुले एक बर्षमा दुईपटक मकै लगाउने गर्छन् । किसानलाई मकै बेच्नका लागि बजार खोज्दै जानुपर्ने चिन्ता छैन । गाडी लिएर खेतबारीमै मकै किन्न व्यवसायीहरु पुग्ने गरेका छन् । यसले गर्दा पनि किसानलाई मकै खेती गर्न हौसला बढिरहेको छ । 

त्यसोत, सोही जग्गामा पहिले÷पहिले मास, भटमास, मुसुरो लगायतका गेडागुडी र अन्य दालहरु लगाइने गरिन्थ्यो । प्रसस्त सिंचाईको सुविधा नभएका कारण आकासे पानीकै भरमा लगाइने बालीले किसानलाई सन्तुष्ट हुनेगरी आम्दानी दिदैन थियो । तर पछिल्लो समय हरियो मकैले मनग्य आम्दानी दिन थालेपछि यहाँका किसानको पहिलो रोजाइको बाली नै मकैबाली हुन थालेको छ । 

यहाँका किसानहरुले लगाएको मकै लिन पोखरा, बुटवल, काठमाडौं नाराणगढ लगाएतका व्यापारीहरु किसानको खेतबारीमा नै पुग्ने गरेका छन् । 

बेमौसमी मकै लगाउँदा सिंचाईको सुविधा हुने हो भने हरियो मकैको उत्पादन अझ बढ्ने र यसतर्फ लाग्ने किसानहरुको संख्यामा समेत अझ बृद्धि हुने स्थानीय बताउँछन् । 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update