काठमाडौं । स्थानीय तहको रिक्त ४४ पदको उपनिर्वाचन हुँदै गर्दा काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदको निर्वाचन सबैको नजरमा परेको छ ।
आइतबार प्रमुख पदमा मात्रै २० जनाले उम्मेदवार दर्ता गराएका छन् । संघीय राजधानी रहेको काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिकामा प्रमुख दलहरु छुट्टाछुट्टै चुनावी प्रतिष्पर्धामा उत्रिदा राष्ट्रिय स्वतन्त्र पार्टी भने प्रतिष्पर्धाबाटै बाहिरिएको छ ।
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन मध्ये सबै भन्दा बढी चासोका रुपमा छ, कीर्तिपुर नगरपालिका । यो नगरपालिकाको मेयर पदका लागि ११ जना स्वतन्त्र उम्मेदवारसहित २० जनाको उम्मेद्ववारी परेको छ । नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रबाट प्राध्यापक डा. शिवशरण महर्जन र राप्रपाबाट ई. धुव्र महर्जनसहित विभिन्न दलहरुबाट ९ जनाले उम्मेदवारी दिएका छन् ।
कांग्रेससहित मेयरमा उम्मेदवारी दर्ता गराएका सबै उम्मेदारले जित निकाल्ने दाबी गरेका छन् । संघीय राजधानी काठमाडौंकै स्थानीय तहमा हुन लागेको यो निर्वाचनलाई सबै दलहरुले आफ्नो प्रतिष्ठाको बिषय बनाएका छन् । कीर्तिपुरमा नेपाली कांग्रेसका उम्मेदवारलाई मनोनयन दर्ता गराउन पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कीर्तिपुर मात्र नभई देशभरीको उप निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे ।
गत निर्वाचनमा भन्दा यो निर्वाचनमा कीर्तिपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवारहरुको संख्या बढी छ । तर ७९ सालको संघको निर्वाचनमा अप्रत्याशित जित हासिल गर्दै संसदको चौथो ठूलो दल रास्वपाले भने अन्य सबै ठाउँमा भाग लिँदा कीर्तिपुर नगरपालिकामा प्रतिष्पर्धाबाट बाहिरिएको छ ।
यसलाई रास्वपाको शक्ति कमजोर बनेको आंकलन हुन थालेका छन् । गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट राजकुमार नकर्मी निर्वाचित भएका थिए ।
नकर्मीको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा आफैले जितेको ठाउँ सुरक्षित गर्न कांग्रेस सामु ठूलो चुनौति खडा भएको छ ।