काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
आइतबार मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरुलाई निर्देशन दिए ।
गत शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम शुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा उनले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए । तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको बताए ।
हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको उनकाे भनाइ छ । अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको बताउँदै उनले सस्तो टिकट कतिको र महंगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको बताए ।
मन्त्री पाण्डेले भने, ‘टिकेटको कुरा गर्नुभयो । मैले टिकेटको मूल्य बढेपछि परराष्ट्रमन्त्री, श्रममन्त्री र म बसेर र केही सरोकारवाला साथीहरु बसेर हाम्रो मन्त्रालयको समन्वयमा क्यानमा विमान सञ्चालकहरु र तिनीहरुका प्रतिनिधिहरुलाई राख्यौँ । टिकट बढेका विषयमा उहाँहरुलाई ५ बुँदे निर्णय गरेका छौँ । उहाँहरु त्यो निर्णयमा सहभागी हुनुहुन्छ । ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने भनेर महंगोमा बेचिएको कुरा अयो, त्यो रोक्नुस् भनेका छौँ । त्यो प्याकेजमै होल्ड गर्ने प्रवृत्ति रोक्नुस् भनेका छौँ । त्यसमा उहाँहरु सहमत हुनुहुन्छ । सस्तो कतिको टिकट बिक्यो, महंगको कतिको बिक्यो त्यो सबै फेहरिस्त सार्वजनिक गर्नुस् भनेका छौँ । उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित र तर्कपूर्ण प्राइजमा मात्रै टिकटको भाडा लिनुस् भनेका छौँ । त्यसमा उहाँहरु सहमत हुनुहुन्छ । पछिल्ला केही कम्प्लेन भएको भए क्यानको उच्चपदस्थ कर्मचारीको नम्बरसहित निर्णय सार्वजनिक गरेका छौँ । त्यो कम्प्लेन त्यहाँ गएका छौँ । त्यो विपरित उहाँहरु जानुभएको छ भने कडा कारबाही गर्ने प्रतिवद्धता जनाएका छौँ । टिकटको मूल्य बढेको कुरा केही दिन यता बिस्तारै कम हुँदै गएको छ । केही गुनासो भए सम्बोधन गर्न तत्पर छौँ ।’
मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनाबद्ध रुपमा काम अघि बढाइरहेको पनि बताए । उनले भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म कसरी पुर्याउने भन्ने योजनामा मन्त्रालय रहेको बताए । पोखरामा पनि उडानका गतिविधि बढाउने गरी आफू अघि बढिरहेको बताउँदै उनले निजी क्षेत्रहरुसँग पनि उडान बिस्तारका लागि आवश्यक छलफल अघि बढाएको दाबी गरे । - न्युज एजेन्सी नेपाल