News 24 Television
स्थानीय तह उपनिर्वाचनः एक्लाएक्लै मैदानमा दलहरु 

काठमाडौं । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको रिक्त पदको उपनिर्वाचनका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता हुने भएको छ । 

आइतबार उम्मेदवार मनोनयन दर्ता हुने भएकाले राजनीतिक दलहरुले आ–आफ्नो उम्मेदवार टुंगो लगाएका छन् । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपपिनर्वाचनका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता हुने भएको छ । मंसिर १६ गते ४४ पदमा उपनिर्वाचन हुँदैछ ।  

जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिकाको मेयर र उपमेयर एक एक, गाउँपालिका अध्यक्ष २, गाउँपालिका उपाध्यक्ष ४ र ३४ वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । 

उम्मेदवार मनोयनयन दर्ताको अघिल्लो दिनसम्म राजनीतिक दलहरुले सबैजसो पदमा उम्मेदवारको टुंगो लगाइसकेको जनाएका छन् । 

मंसिर २ गते आइतबार विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । 

आइतबार नै उम्मेदवारको सूची प्रकाशन हुनेछ । सोमवार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचन कार्यतालिका छ । मंसिर ५ गते विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने र सोहि दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम नामावली प्रकाशन गरिनेछ । 

मंसिर ५ गते नै उम्मेदवारलाई निर्वाचन चिन्ह पनि प्रदान गरिनेछ । मंसिर २ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू भएको छ भने मंसिर १३ गते राती १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ । 

उपनिर्वाचन हुने स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएका छन् । 

देशभर ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६वटा निर्वाचन अधिकृत को कार्यलय गरी ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरु स्थपाना गरिएका आयोगले जनाएको छ । 

७९ सालको स्थानीय तह तथा संघ र प्रदेशको निर्वाचनमा ठूला दलहरुबीच गठबन्धन बने पनि अहिले भने ठूलो दलहरु एक्ला एक्लै प्रतिष्पर्धामा उत्रिने तयारी गरेका छन् । 

सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीच केही ठाउँमा गठबन्धनको पहल भए पनि अहिलेसम्म सहमति जुट्न नसकेपछि आ–आफ्नो तर्फबाट उम्मेदवार दर्ता गर्ने तयारी गरेका छन् । 

उम्मेदवार दर्ता भइसकेपछि पनि पुनः आन्तरिक समीकरण गर्ने गरी उनीहरुले सबै पदमा उम्मेदवारी दिन लागेका हुन् । 

प्रमुख तीन राजनीतिक दलहरु काठमाडौंका कीर्तिपुर नगरपालिकाको प्रमुख पदसहित स्थानीय तहको उपप्रमुख र अध्यक्ष उपाध्यक्ष पदमा बढी केन्द्रित बनेका छन् । 

सबैभन्दा बढी चासो रहेको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले कृष्णमान डंगोल, नेकपा एमालेले डा. सुरेन्द्र मानन्धर र माओवादी केन्द्रले प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन हुन लागेको हो । कांग्रेसले यसअघि जितेको यो क्षेत्र सुरक्षित गर्न निकै चुनौति देखिएको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update