काठमाडौं । दलहरु स्वार्थ पुरा गर्न सडकमा उत्रिनेक्रम बढ्न थालेको छ । माओवादी केन्द्रसहितका दलहरुको प्रदर्शन र आन्दोलनपछि सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि जागरणसभाको नाममा सडकमा प्रदर्शन गर्ने भएको छ ।
सत्तामा हुने दल हुन वा प्रतिपक्षमा हुने दलहरु नै, उनीहरुले किन सडक रोज्छन ? यसको प्रष्ट जवाफ भने प्रायः दिने गरेका छैनन् । दुई तिहाई बढि बहुमत भएको सरकारले सडकमा प्रदर्शन गर्ने भएको छ ।
कात्तिक ७ गते प्रदर्शन गर्न एमालेले तीब्र तयारी गरिरहेको छ । भने एमालेको प्रदर्शनसँगै प्रतिपक्षी दलहरु पनि आन्दोलनको पक्षमा देखिन्छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी लगाएत सडकमा छन् । यी पार्टीहरुको आन्दोलनका नाराहरु भने फरक देखिन्छन् ।
माओवादी केन्द्र सरकारप्रति क्रोध पोखिरहेको छ भने रास्वपा पार्टी सभापति रवि लामिछानेको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै सडकमा छ ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी पनि राजतन्त्र, हिन्दु राष्ट्र लगायतका विषयमा जनतालाई जागरण ल्याउन भन्दै कर्णालीपछि सुदूरपश्चिम पस्दैछ भने आम जनता पार्टीले पनि सरकारको कदमको विरोध गर्दै सडकमा उत्रिन पुगेको छ । यसरी आन्दोलन चल्दै गर्दा नेपाली कांग्रेस पनि एक सय दिने अभियानको नाममा जनतामा जाने तयारीमा छ । सरकारको तालाचाबी बोकेका दलदेखि प्रतिपक्षीहरु सबै सडकमा आउनु र प्रदर्शन गर्नुले जनतामा भने शंका पैदा गरिदिएको छ । सत्तारुढ दलले सरकारमार्फत सबै सन्देश सहजै दिन सक्छ ।
तर, उनीहरुले आन्दोलन र सडकमा प्रदर्शन किन गर्न खोजेका हुन भन्ने विषय प्रश्नमा छ । तर, प्रतिपक्षी दल माओवादी केन्द्र भने आन्दोलनमा जाने भन्दै जनताको साथ खोजिरहेको छ ।
विपक्षी दलहरुले आन्दोलनको घोषणा गर्दै सडक प्रदर्शन गरेपछि नेकपा एमालेले पनि मंसिर ७ गते शक्ति प्रर्दशनमा उत्रिदै छ । जागरण अभियानका नाममा एमालेले गर्न लागेको प्रर्दशनले विपक्षी दलहरुलाई साईजमा ल्याउने एमाले महासचिवको तर्क छ ।
सहकारी ठगको आरोपीत सभापति रवि लामिछाने पक्राउ परे लगत्तै रास्वपा सडक प्रर्दशनमै छ । उसले सरकारले प्रतिशोध साँधेको आरोप लगाइ रहेको छ भने अन्य साना दलहरु पनि काठमाडौं केन्द्रित आन्दोलनको तयारीमा छन् ।
साना दलहरुले आन्दोलन गर्ने बताएपछि एमालेले पनि साना दललाई काउण्टर दिन शक्ति प्रर्दशन गरेको हो भन्ने प्रश्नमा एमाले नेता तथा जनप्रर्दशन समितिका संयोजक डा. राजन भट्टराई भने कसैलाई काउण्टर दिन भन्दा पनि राजनीतिक अस्थिरता र अराजकता विरुद्ध विधिको शासन र कानूनी राज्यको पक्षमा जनमत निर्माण गर्नका लागि जागरण सभा सञ्चालन हुने बताउँछन् ।
सडकमा देखिएको प्रदर्शनलाई चुनौति दिन एमाले सडकमा उत्रिदैछ भने विपक्षी दलहरु पनि सत्तालाई शक्ति देखाएर तर्साउन खोज्दैछन् । तर, आन्दोलन र प्रदर्शनको प्रष्ट रोडम्याप भने दलहरुले पेश गर्न सकेका छैनन् । अझं सरकारमै रहेको दलले गर्ने प्रदर्शनमाथि अनेक प्रश्नहरु उब्जिएका छन् ।