News 24 Television
सत्ता गुमेपछि अमर्यादीत माओवादी, प्रचण्डको बहुलठ्ठीपनामा पार्टीको लस्कर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दलसँग म्याजिक नम्बर रहेको दाबी गरेका छन् । जादूयी नम्बर भन्दै बोलेको केहिदिनमा सत्ता गुमाएका प्रचण्डले फेरि जादूयी नम्बर रहेको र एमाले नेतृत्वको सरकार उल्ट्याएर बन्ने माओवादीकै सरकार हुने जिकिर गरे ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ताबाट बाहिरिएपछि पटक–पटक भनिरहेका छन, कांग्रेस एमालेले सत्ताबाट बाहिर ल्याइदिएर राम्रो गरे, धन्यवाद ।

जनतासँग कटअफ हुदै गएको स्थितिमा एमाले कांग्रेसले नजिक ल्याएको जिकिर गरिरहेका प्रचण्डले जनतासँग दह्रो साथ लिन अपिल गर्नुपर्ने भनिरहेका छन भने उपचुनावको सम्मुखमा गरेका सम्बोधनमा पनि काम गर्ने अवसर दिन जनतालाई अपिल गर्दा आत्मसमिक्षा गर्न भनिरहेका छन् । 

प्रचण्डले यस्तो जिकिर गर्दै गर्दा माओवादी अब सत्तामा नजाने र बाहिर बसेर जनताको पक्षमा काम गर्ने दाबी गरिरहेको छ । माओवादी केन्द्रले अब सत्ता प्राथमिकतामा नभएको र जनतासँगै उभिने जिकिर गरिरहेको बेला प्रचण्डले फेरि एमाले सरकार उल्ट्याएर बन्ने सरकार माओवादीकै हुने बताएका छन् । 

उसोतः प्रचण्डले सरकारमा नजाने जिकिर गरिरहेको बेला फेरि सत्ता मोह छरपष्ट पार्न थालेका छन् । प्रचण्डले यस्तो बताउन थालेपछि माओवादी केन्द्रका अन्य नेताहरु पनि लय मिलाउन थालेका छन् । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बनेको विषयमा भारत र अमेरिका खुशी नभएको निम्छरो तर्क गरिरहेका छन् । 

सापकोटाले ओली सरकार बनेको कुरामा दक्षिण र सात समुन्द्रपारी पनि बेखुशी देखिएको भन्दै जनताले निर्वाचित गरेको प्रतिनिधिसभाले सरकार बनाउँछ र त्यो नेपाली जनताले चुनेका प्रतिनिधिको काम हो भन्ने विषयलाई हेक्का राखेनन् । 

सभामुख जस्तो पद सम्हालेका सापकोटाले नेपालको सरकार बन्दा को–को खुशी हुनुपर्ने हो भन्ने विषयलाई सार्वजनिक खपतको विषय बनाउनु नै मुलुकको कुटनीतिक मर्यादाविपरितको काम हो । 

उसोतः प्रचण्ड आफैले भारतीय अखवारलाई दिएको सनसनीपूर्ण अन्तरवार्ताले नै कुटनीतिक मर्यादा नाघिसकेको भन्दै आलोचना शुरु भइसकेको छ । 
माओवादी केन्द्रले सत्ताबाट बाहिरिनुपरेपछि पोखिरहेको छटपटी गैरकुटनीतिक भाषा शैलीले मुलुकको सार्वभौमिकतामाथि भने गम्भीर प्रश्न उठाएको छ । 

लय विराउदै माओवादी

माओवादी केन्द्र १० वर्ष लामो युद्धबाट स्थापित राजनीतिक शक्तिको रुपमा छ । जनाधारको खडेरीमा पर्दै गएको माओवादी जेनतेन सत्तामा रहने कोसिस गरिरहन्छ । 

३२ सिटको पार्टीले सत्ताको नेतृत्व गर्नेदेखि बेलगाम अभिव्यक्ति दिएर सरकारमाथिका अमर्यादीय हमलामा उत्रिएपछि माओवादी केन्द्रले लय बिराएको अर्थमा आलोचना शुरु भएको छ । 

प्रतिपक्ष रचनात्मक र जनताको पक्षमा उभिनुपर्नेमा नेपालको सरकार बन्दा को खूशी हुने र को बेखुस हुने भन्ने विषयमा चर्चा गर्दा माओवादी केन्द्रमाथि विश्वासको संकट थप गहिरिने खतरा देखिन्छ । 

उसोतः प्रचण्ड र माओवादी केन्द्रले भारतको पक्षमा अमर्यादीत अभिव्यक्ति दिनेक्रम यो पहिलो भने होइन् । प्रितम सिंह भन्ने भारतीय नागरिकको एक पुस्तक विमोचनको क्रममा समेत प्रचण्डले नेपालको सरकार बनाउन ठूलो मेहनत गरेकोदेखि दिल्ली दौड गरेको भन्दै विवादीत अभिव्यक्ति दिएका थिए । 

त्यसपछि एमालेले तत्कालीन समयमा प्रचण्डको राजीनामा नै मागेको थियो । यसरी भातरलाई खुशी पार्न प्रचण्डले भारत भ्रमणको क्रममा गेरुवस्त्र धारणदेखि अनेक काम गर्ने गरेका छन्, जुन कुराले प्रचण्ड आलोचनाको सिकार बन्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update