काठमाडौं । कर राज्यको आर्थिक स्रोतको प्रमुख आधार हो, जसले विकास निर्माण, सेवा प्रवाह, र प्रशासन संयन्त्र सञ्चालन गर्न सहयोग गर्छ । त्यसैले हरेका वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइन्छ ।
यो दिन कर तिर्ने दायित्वको महत्वबारे जनचेतना फैलाउने र करदाताहरूलाई सम्मान गर्ने गरिन्छ । साथै, इमानदार करदातालाई सम्मान गरेर उनीहरूलाई प्रोत्साहन दिने परम्पराले समाजमा कर तिर्ने संस्कारलाई अझ प्रगाढ बनाउने सरकारको विश्वास छ ।
राष्ट्रिय कर दिवस, कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ मनाइएको छ । २०५४ मंसिर १ मा नेपालमा मुल्य अभिवृद्धि कर लागु भएको थियो । सोही आधारमा नेपाल सरकारले मंसिर १ लाई कर दिवसको रूपमा मनाउँदै आएको हो ।
आन्तरिक राजस्व विभागले नेपालमा आन्तरिकरूपमा परिचालन हुने प्रमुख करहरू आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कलगायत कर प्रशासन सञ्चालन गर्दै आएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा कुल राजस्व १० खर्ब ५८ अर्ब असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान ५ खर्ब ३३ अर्ब छ । जुन कुल राजस्व असुलीको करिब ७८.६५ प्रतिशत हो ।
सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा शनिवार सम्मान गरेको हो ।
अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेवापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ ।
व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा राजबहादुर शाह सम्मानित भए । २०७५ साउन देखि २०८१ असार मसान्तसम्म तोकिएको समयमा नियमित र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रुपमा होङ्सी शिवम सिमेन्टलाई सरकारले सम्मान गरिएको छ ।
सरकारलाई सबै भन्दा धेरै कर तिर्नेहरु
– एकलौटी फर्महरूतर्फ : श्रुति ट्रेडर्स
– सूचना प्रविधितर्फ : कोडावतार टेक प्रालि
– निर्यात कारोबार : डाबर नेपाल प्रालि
– कृषि एवम् पशुजन्य : पतञ्जली आयुर्वेद प्रालि
– बैंक तथा वित्तीय संस्था : नबिल बैंक लिमिटेड
– स्वास्थ तथा शिक्षा : लुम्बिनी मेडिकल कलेज
– पर्यटन : तारागाउँ रिजेन्सी
– वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट
– मध्यस्तरीय करदाता : सिडियस एण्ड क्लियरिङ् लिमिटेड
– ऊर्जा : भोटेकोसी पावर कम्पनी
– रेमिटेन्स : सिटी एक्सप्रेस
– व्यक्तिगत आयकर : राजबहादुर साह
– मूअकर समयमा तिर्नेमध्ये : होङ्सी सिमेन्ट
– ५० करोड भन्दा धेरै कारोबार गर्नेमध्ये : सोल्टी होटेल
– विशेष उद्योग : वरुण वेभरेज प्राली
यस्तै, कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन र कार्यविशिष्टीकरण लगायतका सुधारका लागि पहलकदमी लिन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आग्रह गरेका छन् ।
करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्दै सूचना प्रविधिको प्रयोगमा बिस्तार एवं सोको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्युन हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशिल हुनका लागि कर प्रशासनलाई निर्देशन दिए ।
कर सुधारका अवधारणा कर प्रणालीलाई सरल, पारदर्शी, न्यायपूर्ण, र प्रभावकारी बनाउने प्रक्रियालाई जनाउँछ । यसको उद्देश्य राजस्व संकलनमा वृद्धि गर्दै करदाताहरू र सरकारबीचको विश्वास बढाउनु हो । यसमा कर संरचना परिमार्जन, कर दर यथार्थपरक बनाउने, प्रविधिमैत्री प्रशासन लागू गर्ने, र कर छली नियन्त्रणजस्ता पक्षहरू समेटिन्छन् । कर सुधारबाट आर्थिक वृद्धिमा योगदान, कर छली नियन्त्रण, नागरिक सहभागिता, र न्यायपूर्ण कर प्रणाली स्थापना हुने अपेक्षा गरिन्छ । साथै, प्रतिस्पर्धात्मक कर प्रणालीले वैदेशिक लगानी आकर्षित गरी राष्ट्रिय विकासमा टेवा पु¥याउन सहयोग गर्छ ।