News 24 Television
एकताको सन्देश दिँदै खेलमा झुमे नेता–कलाकार

काठमाडौं । प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा झापा १ का सात वटा टोलीको सहभागीता थियो भने झापाका राजनीतिक दल र कलाकारबीच मैत्रीपूर्ण खेल भएको थियो । 

मैत्रीपूर्ण खेलतर्फ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दुई गोल गर्दा राजनीतिक दल विजयी भए । नेपाली कांग्रेस झापा–१ सांसद सचिवालय तथा झापा–१ काठमाडौं सम्पर्क समितिको संयुक्त आयोजनामा शनिवार ललितपुरको जावलाखेलस्थित डीएभी स्कुलमा प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा मेचीनगर, धाइजन, शान्तिनगर, दुवागढी, बाहुनडाँगी, चन्द्रगढी र ज्यामिरगढीले सहभागिता जनाएका थिए । 

झापा जिल्लाका कांग्रेस, एमाले, राप्रपा, माओवादीसहित राजनीतिक दलका नेताहरूको उपस्थितिमा सभामुख देवराज घिमिरेले फुटसल प्रतियोगिताको उद्घाटन गरेका थिए । खेललाई राज्यले दिनुपर्ने जति महत्व दिन नसकेको गुनासो सभामुख घिमिरेको छ । 

राष्ट्रमा आवश्यक पर्ने नीतिदेखि व्यवहारहरुलाई सुधार गर्दै खेलकुदको क्षेत्रमा गर्नुपर्ने प्रगति सबै मिलेर मात्रै सम्भव रहेको उनको भनाई छ । 

त्यस्तै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेलकुदले राष्ट्रलाई एकढिक्का बनउन मद्दत गर्ने बताएका छन् । राजनीतिले फरक–फरक ठाउँ उभ्याएका व्यक्तिहरुलाई खेलकुदले एकै ठाउँमा ल्याउनसक्ने बताउँदै राजनीति गर्ने मान्छेले राजनीति मात्रै प्रथम र अन्तिम सोच्नु नहुने उनको सुझाव छ । 

प्रथम झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ । फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो । 

त्यस्तै, मैत्रीपूर्ण खेलतर्फ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दुई गोलसँगै राजनीतिक दल विजयी भयो । राजनीति दलले कलाकारको टोलीलाई ६–१ ले पराजित गरेको हो । 

विभिन्न राजनीतिक दलहरु फरक फरक ठाउँमा भए पनि आपसी सहकार्य गर्ने उद्देश्यले गरिएको खेल आयोजना गरिएको थियो । खेलमा अनुशासन भएजस्तै राजनीतिक दलका नेताहरुमा पनि अनुशासन आवश्यक देखिन्छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update