सर्लाही । कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट शुरु भई १० दिनसम्म मनाइने सामाचकेवा मिथिलाक्षेत्रको महत्वपूर्ण पर्व हो । यो पर्वमा दिदीबहिनीले दाजुभाईको दीर्घायू, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् ।
दिदीभाइ र दाजुबहिनीको सम्बन्ध दर्शाउने यो पर्व कार्तिक शुक्ल पूर्णिमासम्म मनाइन्छ । तराई मधेशका विभिन्न जिल्लाहरुसँगै सर्लाहीमा पनि शुक्रबार सामाचकेवा पर्वको विदाई गरिएको छ ।
तराई मधेशमा छठ पर्वसँगै उत्तिकै महत्वपूर्णरुपमा मनाइने अर्को पर्व हो सामा चकेवा । यो पर्वमा दिदीबहिनीहरुले आफ्ना दाजुभाईको दीर्घायू र आरोग्यको कामना गर्दै मनाउँछन् ।
कात्तिक शुक्ल पञ्चमीदेखि कात्तिक शुक्ल पञ्चमीसम्म मनाइने यो पर्व शुक्रवार सकिएको छ । यो पर्व मनाउने क्रममा कात्तिक शुक्ल द्वितिया तिथिका दिन दिदीबहिनीले माटोका विभिन्न आकृतिहरु बनाउने गर्छन् ।
सामा चकेवा सर्लाही, महोत्तरी, रौतहट, धनुषा, सिराहा, सप्तरी, बारा, पर्सा लगायत भारतको बिहार राज्यमा पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ । यो पर्वमा दिदीबहिनीहरुले १० दिनसम्म भाइ बहिनीबीचको प्रेमलाई गीतको माध्यमबाट दर्शाउने गर्छन् । त्यसैले पनि सामा चकेवालाई छोरीचेली र माईती पक्ष बीच रहेको अटुट श्रद्धा एवं प्रेमको प्रतीकको रुपमा लिइन्छ ।
१० दिनसम्म चल्ने यो पर्व ११ औँ दिन पूर्णिमामा विसर्जन गरिन्छ । ११औँ दिन माटोको प्रतीकहरूलाई भाइको हातबाट फुटाउन लगाइ खेत वा वनमा विसर्जन गर्ने परम्परा छ ।
दिदीबहिनीहरु माटोबाट बनाइएका सामा, चकेवा, चुँगला, सतभइया, वृन्दावन आदिको प्रतिमाहरु रातो रंगको बाँसको डालोमा राखी साँझको बेला सार्वजनिक स्थानमा भेला भई टोल छिमेकका अरु महिला दिदिबहिनीहरुको साथमा सामूहिक रुपमा गीत गाउने गर्छन् ।
धर्मशास्त्रमा सामा चकेवा
मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखि नै रहेको पाइन्छ । धार्मिक विश्वास अनुसार सामा महिला र चकेवा पुरुष पात्र हुन् । यो पर्वको चर्चा सर्वप्रथम पद्मपुराणमा पाइन्छ ।
भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अदभूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा र सामाको ससुराल जाने प्रसंगको मार्मिक क्षणजस्ता प्रसंगहरुलाई गीति संरचनामार्फत् यो पर्वमा प्रस्तुत गरिन्छ । स्कन्द पुराण अनुसार सामा र चकेवा पति–पत्नी हुन् ।
श्यामाका पिता कृष्ण हुने भने पति चारूवक्य अर्थात् चकेवा जो चारूवक्य आश्रममा वस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कृष्णलाई श्यामा कुनै मुनीसँग प्रेममा छिन् भनेर चुक्ली लगाउँछन् । त्यसपछि कृष्णले श्राप दिएर श्यामालाई चरा बनाइदिएको प्रसंग स्कन्द पुराणमा पाइन्छ ।
पछि भाइ शम्बले यो सबै थाहापाई तपस्या गरी कात्र्तिक पूर्णिमाका दिन चरा बनेकी श्यामालाई पूर्ववत् अवस्थामै फर्काछन् । त्यसैले दिदीबहिनले दाजुभाईको सम्मानमा यो पर्व मनाउन थालेको जनविश्वास मिथिला क्षेत्रमा पाइन्छ ।
दश दिनसम्म लगातार सामा–चकेवा खेलिसके पछि एघारौ दिनमा बिहान पुनः सामा चकेवा बनाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाई सोही सामा चकेवा दाजुभाइको हातबाट फुटाउन लगाएर फार भर्ने गर्छन् ।
दाजुभाईको हातबाट फुटाउन लगाएको सामा चकेवा बाजागाजाका साथ गाउँको वनमा लगेर नयाँ जोतिएको खेतमा विसर्जन गरिसके पछि सामा चकेवा पर्वको विधिवत समापन गरिन्छ ।
तर पछिल्लो समय मिथिलाञ्चलको मौलिक लोक पर्वको रुपमा रहेको सामा चकेवा पर्व विस्तारै लोपोन्मुख अवस्थामा पुगेको छ । तराई मधेशको सानका रुपमा रहेका यस्ता चाडपर्वहरुलाई बचाइराख्न राज्यले नै चासो देखाउनु पर्छ ।