News 24 Television
प्रधानमन्त्री ओलीको घाँटी नै च्यापियो ! चीन पहिले भारततर्फ !  

काठमाडौं । प्रधानमन्त्री केपी ओली चीन भ्रमणअघि भारत भ्रमणमा निस्किने तयारीमा जुटेका छन् । चीनको औपचारिक निम्तो र भ्रमणबारेको तयारी अन्तिम चरणमा पुगेपनि रातारात भारतले दिएको भ्रमणको निम्तोलाई फास्ट ट्रयाकमार्फत् स्वीकार्दै ओलीले भारत जान खोजेपछि यो विषय भूराजनीतिको चपेटोको चुलीमा पुगेको चर्चा शुरु भएको छ । 

प्रधानमन्त्री केपी ओली मंसिर १७ देखि २१ सम्म चीन भ्रमणमा जाने गरि चीनको औपचारिक निमन्त्रणा पाएर बसेका छन् । यता, ओलीले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई चीन भ्रमणको चाँजो मिलाउन खटाएका छन् तर उता, आफू भारत भ्रमणको तयारीमा पनि जुटेको देखिन्छ । 

चीनले दिएको निमन्त्रणा र चीन भ्रमणमा हुनसक्ने सम्झौताका विषयमा चलिरहेको चर्चाकाबीच ओलीले भारत पुगेपछि चीन जाने गरि गरेको तयारीले नेपाल भूराजनीतिको चपेटोले पिल्सिन थालेको चर्चा थप चुलिएको छ । 

प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वतयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा मंसिर १३ गते चीन जान लागेकी छन् । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा आरजु चीन भ्रमणमा जान लागेको बताइएको छ भने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा जम्बो टोली चीन भ्रमणमा नै रहेको छ । सत्तारुढ दल एमालेले चीन भ्रमणलाई उच्च महत्वका साथ लिएको बताइएपनि ओलीले पहिले चीन नगई भारत नै जाने गरि तयारी थालेका छन् । 

ओलीको भारत भ्रमण तालिका नै सार्वजनिक हुने चरणमा रहेको बताइएको छ । भ्रमणको १५ दिनअघि तालिका सार्वजनिक गर्ने गरि आन्तरिक तयारी तीब्र बनेको बताइन्छ भने ओलीले चीनभन्दा पहिले भारत भ्रमणको चाँजो मिलाउने विषयमा नियमित सम्वाद गरिरहेको बताइन्छ । यस्तै, भारतीय कूटनीतिज्ञहरुले पनि ओलीको चीनभन्दा पहिले भारत भ्रमण हुने विषयलाई अर्थपूर्ण भनेका छन् । 

प्रचण्डको त्यो आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणलाई छिमेक सम्बन्ध सुधारको रुपमा भन्दा पनि चाइना कार्डको रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएका छन् । भारतको एक अखवारलाई अन्तरवार्ता दिदै प्रचण्डले ओलीले विशिष्ट सम्बन्धलाई ख्याल नगर्ने र चाइना कार्ड खेल्न खोजेको विषय उठाएका छन् ।

यतिमात्रै नभई प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी भएकोदेखि अन्य विषय जोडेर भारतसँगको विशिष्ट सम्बन्धलाई थप उचाईमा पु¥याउने काम गरेको तर ओलीले त्यसको विपरित काम गरिरहेको आरोप समेत लगाएका छन् । 

जुन आरोपसहितको अन्तरवार्ता ओलीको चीन भ्रमणको अन्तिम तयारीपछि आएको छ भने, प्रचण्डले पनि कुनैबेला भारत नगई पहिलो औपचारिक विदेश भ्रमण चीनबाट गर्दा छिटो सत्ता त्याग्नुपरेको आफु निकटकालाई बताउने गरेका छन् । तर देशको परराष्ट्र नीति र सरकार प्रमुखले गर्न लागेको भ्रमणलाई लिएर विदेशी सञ्चारमाध्यममा दिएको प्रचण्डको अभिव्यक्तिलाई कुटनीतिक क्षेत्रका जानकारहरुले भने निको मानेका छैनन् । 

ओलीमा देखिएको डर

प्रधानमन्त्री केपी ओली चीनको पहिलो विदेश भ्रमणलाई खतराको रुपमा हेरिरहेका छन् । भारतले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिएको सम्मान र उनको अर्थपूर्ण भेटपछि चिढिएका ओलीले भारतलाई देखाउन भएपनि चीन भ्रमण गर्न मरिहत्ते गरेको बताइन्छ । 

ओलीलाई चीनले भ्रमणको औपचारिक निमन्त्रणा दिएपछि नेपालमा पनि थुप्रै प्रश्न र आशंकाहरु उब्जिन थालेका थिए । 

यहि विवादलाई देखेर भारतले सक्रियतापूर्वक रातारात ओलीको भ्रमण चीन अघि भारतर्फ गर्ने नगर्ने भन्ने विषयमा टुंगो लगाउन दबाब दिएको दाबी गरिन्छ । यस्तो दबाबपछि ओलीले पनि चीनअघि भारतमा पाइला मात्रै भएपनि टेक्ने रहर गर्न थालेको कुटनीतिक वृत्तमा चर्चा छ । 

सत्ता गठबन्धन दल नेपाली कांग्रेसले पनि भारत भ्रमणलाई प्राथमिकतामा राख्नु स्वभाविक छ । यस्तोमा कांग्रेसले पनि केहि रुपमा ओलीलाई दबाब भने दिनसक्छ । 

त्योभन्दा पनि ओलीले पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य र प्रचण्डको जस्तै छिटो सत्ता छाड्नुपर्ने वा यस्तै केहि जोखिम हुने सम्भावना देखेपछि नै ओली भारतमा पाइला टेकेरमात्रै चीन जाने मनस्थितिमा पुगेको बताइन्छ । 

भारतको चासो

भारतले ओलीलाई खास महत्व दिएको देखिन्न । ओलीले अमेरिकामा भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेटेपनि त्यो भेट महत्वपूर्ण बन्न नसकेको बताइ्न्छ । 

तर, ओलीले चीन जाने तयारीलाई तीब्र पारेपछि भारतले नेपालमा आफ्नो प्रभाव कस्तो छ भनेर देखाउनकै लागि भएपनि ओलीको पाइला भारतमा टेकाउने प्रयत्न थालेको छ । 

नेपालले चीनसँग गर्ने भनिएको महत्वकांक्षी परियोजना बीआरआई सम्झौतादेखि अन्य विषयले पनि भारत झस्किएको छ । 

बीआरआईमार्फत नेपाल चीन सम्बन्धमा खेल्न पाइने सोचिरहेका शक्तिहरु सम्झौता केन्द्रीय बहस हुन थालेपछि कांग्रेसलाई प्रयोग गरिरहेका छन् । 

कांग्रेस नेताहरुले बीआरआईलाई अनुदानबाहेक स्वीकार गर्न नसकिने रटान लगाइरहेका छन् । तर, यो पटक कांग्रेस सभापति शेरबहादुर देउवाको समेत सहभागिता आरजुमार्फत हुने भएकाले यसै भन्न सकिने स्थिति छैन । 

यस्तो परिस्थिति बनेपछि भारतले ओलीको पहिलो पाइला भारतमा पारेर अन्य राष्ट्रहरुलाई नेपालमा आफ्नो प्रभाव र चासो कम छैन भन्ने सन्देश दिन खोजेको अर्थमा बुझिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update