News 24 Television
कम्पनीको निहुँमा राज्यमन्त्रीमाथि यस्तो वर्षा ! जवाफ के ? 

काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ माथि गम्भीर प्रश्न उठेको छ । कान्छारामको कम्पनीले विभिन्न आयोजनाका काम अलपत्र पारेको आरोप लगाउँदै त्यस्तो किन भएको भन्दै संसदीय समितिमै प्रश्न उठेपछि राज्यमन्त्री तामाङ अलमलमा परेका छन् । 

ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ ’कान्छाराम’को कम्पनीले विभिन्न आयोजनाका काम अलपत्र पारेपछि कालोसूचीमा परेको विषय संसदीय समितिमा उठेको छ । 

कांग्रेसका कान्छारामविरुद्ध कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रश्न गरेका छन् । राज्यमन्त्रीकै कम्पनी कालोसूचीमा किन परेको भन्दै प्रश्न गरेका शर्माले यस विषयमा समितिको ध्यानाकर्षण हुनुपर्ने समेत बताए । 

शर्माको प्रश्नपछि राज्यमन्त्री तामाङ अलमलमा परे । आफूले चुनावको टिकट पाउनु अघि नै कम्पनी छाडेको भन्दै उनले पछिल्लो समय भएको ढिलासुस्ती र कालोसूचीको प्रश्नमा आफ्नो कुनै गल्ति नभएको दाबी गरे ।

राज्यमन्त्री तामाङले कानून अनुसार अघि बढ्ने जिकिर गर्दै गर्दा कालोसूचीबारेको प्रश्नमा भने जवाफ दिन सकेनन् । यसरी नै कांग्रेस महामन्त्री शर्माले गृहमन्त्रीमाथि समेत प्रश्न गरे । उपचुनावको केहि समयअघि दैलेखको महाबु गाउपालिकाको कार्यपालिका प्रमुखलाई हेरफेर गर्ने निर्णय किन गरेको भन्दै उनले निर्वाचनमा निष्पक्षता कायम गर्न सरकारले सन्तुलित काम गर्नुपर्नेमा जोड दिए । 

संसदीय समितिमा प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले निर्वाचनमा सुरक्षा सुनिश्चितता कायम गर्न सरकार तयार रहेको बताएका छन् । मन्त्री लेखकले निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको र सरकारले सुरक्षा प्रदान गर्ने जिकिर गरे । 

कान्छारामको दाबी र कालोसूची

कान्छाराम कन्स्ट्रक्सनले जिम्मा लिएका आयोजनाहरु अलपत्र परेको भन्दै विवाद र आलोचना हुने गरेको छ । पछिल्लो समय  प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कात्तिक २३ गते एक सूचना जारी गर्दै उनको कम्पनीलाई २ वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखेको छ ।

श्री सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, तुम्लिङ्टारले कान्छारामको कम्पनीलाई कालोसूचीमा राख्न माग गरेको छ । सोहिबमोजिक उनको कम्पनी कालोसूचीमा परेको हो । भने कम्पनीको मुख्य सञ्चालकमा समेत उनले कान्छाराम छन् । तर, संसदीय समितिमा उनले आफूले चुनावअघि नै कम्पनी छाडिसकेको दाबी गरेका छन् । 

आयोजना अलपत्रको दिक्दारी

ठेकेदार कम्पनीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको गुनासो व्याप्त छ । पछिल्लो समय सरकारले केहि रकम भुक्तानीका लागि पठाएको छ । तर् त्यो पर्याप्त भने हुन सकेको देखिन्न । यस्तोमा ठेकेदार कम्पनीहरुले समेत ठूलो दिक्दारी र हैरानी दिने गरेको देखिन्छ । 

मुग्लिन पोखरा सडकखण्ड, नारायणगढ बुटवल सडक खण्डदेखि थुप्रै राष्ट्रिय गौरवका आयोजनाको निर्माण समयमै हुन सकेको छैन भने यी दुई सडक खण्ड बढि चर्चामा छन् । 

निर्माण सम्झौताको समय सकिएको लामो समयसम्म पनि भौतिक प्रगिको विवरण अत्यासलाग्दो भएकाले यस्ता दिक्दारीले पनि समस्या निम्त्याइरहेको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update