काठमाडौं । अजरबैजानको बाकुमा आयोजित कोप—२९ मा नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई जोड दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायुजन्य प्रकोपहरुले नेपालमा ठूलो जनधनको नोक्सानी भएको र विश्व तापक्रम वृद्धिले हिमाल खतरामा परेको बताउँदै हिमाल खतरामा पर्दा मानव समुदाय नै खतरामा पर्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।
जलवायु न्यायका लागि विकसित देशहरुले विकासशिल देशहरुलाई पर्याप्त आर्थिक श्रोत, प्रविधि तथा अन्य सहायता उपलब्ध गराउनुपर्ने विषयमा नेपालको जोड छ । अजरबैजानमा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेट गरेका थिए । जसमा जलवायु परिवर्तनमा अल्पविकसित देशहरु कारक नभए पनि उनीहरुले यसको दण्ड भोग्नुपरेको विडम्बनापूर्ण अवस्था भोग्नुपरेकोमा विकसित राष्ट्रहरु अझ बढी जिम्मेवार हुनुपर्ने धारण महासचिवको थियो ।
जलवायु न्यायका लागि विकसित देशहरुले विकासशिल देशहरुलाई पर्याप्त आर्थिक श्रोत, प्रविधि तथा अन्य सहायता उपलब्ध गराउनुपर्ने विषयलाई नेवालले प्राथमिकताका साथ उठाएको छ ।
हिमालको सुरक्षा भनेको सारा पृथ्वीको सुरक्षा हो भन्नेकुरालाई हरेक मञ्चहरुमा उठाएको विषय निकै प्रभावकारी भएको महशुस गरिएको छ । हिमालदेखि समुन्द्रसम्मको सम्बन्धलाई एकीकृत रुपमा सम्बोधन गर्न एउटै आवाज बनाउन नेपालले सगरमाथा संवाद आयोजना गर्न लागेको सन्देश पनि अन्तर्राष्ट्रिय समुदायमा राष्ट्रपति पौडेलले गराएका छन् ।
राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेको सारा पृथ्वीको सुरक्षा हो भन्नेकुरालाई हरेक मञ्चहरुमा उठाएको विषय निकै प्रभावकारी भएको परराष्ट्र मन्त्रालयको दाबी छ । त्यस्तै अजरबैजानका राष्ट्रपति इलहाम अलियबले अबको एक वर्षसम्म अजरबैजान कोप २९ को अध्यक्ष रहने र क्लाइमेट एक्शनका लागि सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।
नेपालले कृषि, पर्यटन क्षेत्रमा ठोस प्रस्तावहरु पेश गरेमा अजरबैजानका लगानीकर्ताहरु लगानीका लागि तयार रहेको सन्देश लिएर राष्ट्रपति पौडेलले नेतृत्वमा कोप—२९ मा सहभागी भएको नेपाली प्रतिनिधि मण्डल शुक्रबार स्वदेश फर्किएको छ ।