News 24 Television
नेपालको विद्युत आजदेखि बङ्गलादेश निर्यात शुरु

काठमाडाैँ । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत निर्यात आजदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ । शुक्रवार नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालले नेपालबाट र भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर तथा बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कविरले भारतबाट भर्चुअल माध्यममार्फत बंगलादेश विद्युत निर्यातको औपचारिक शुरुवात गरेका हुन् ।

नेपालबाट पहिलोपटक तेस्रो देशमा बिजुली निर्यात गरिएको शुरु भएको छ । नेपालले भारतसँग मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रवारबाट बङ्गलादेश विद्युत निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो । नेपालले ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरेको छ । शुभारम्म कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री खड्काले बङ्लादेशमा नेपालबाट विद्युत निर्यात शुरु हुनु दक्षिण एशियामा विद्युत व्यापारमा कोशेढुङ्गा सावित भएको बताए ।

उनले विद्युत निर्यातको लागि गत असोजमा नै त्रिपक्षीय सम्झौताअनुसार आजदेखि भारत हुँदै बंङलादेशमा विद्युत निर्यात शुरु भएको बताए । उनले बंलादेशमा विद्युत निर्यातको लागि सहजिकरणको लागि भुमिका खेल्ने भारत सरकार र बंलादेश सरकारलाई धन्यवाद दिए ।

नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो । नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट करिव ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत निर्यात गर्ने सम्झौतामा उल्लेख छ । बंगलादेश विद्युत निर्यात गर्दा भारतको एनटीपसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रशारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्नेछ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रशारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेशनमा विद्युत पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रशारण लाइनमार्फत भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रशारण लाइनमार्फत बंगलादेश विद्युत पुग्नेछ । नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत निर्यात मध्यान्ह साढे १२ बजेबाट शुरु भएको हो । यस वर्ष (सन् २०२४)को वर्षायाममा विद्युत निर्यात शुक्रवार राति १२ बजेसम्म मात्र हुनेछ । त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बंगलादेशतर्फ पुनः विद्युत निर्यात शुरु हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update