काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ ठेकेदार कम्पनीलाई नै चेतावनी दिएका छन् । बुटवल–नारायणगढ सडकखण्ड विस्तार कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’सँग ठेक्का सम्झौता तोड्ने चेतावनी प्रधानमन्त्री ओलीले दिएका हुन् । सम्झौताअनुसार काम सम्पन्न नगरेको चिनियाँ ठेकेदारले समयावधि दुई वर्ष थप गरिदिँदा पनि काम आधा मात्रै गरेर अलपत्र छाडेको छ । देशको प्रमुख र व्यस्त राजमार्गमा भइरहेको यो ढिलासुस्तीका कारण आम सर्वसाधारण यात्रु र स्थानीयले सास्ती भोग्दै आएका छन् । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्ने उक्त कार्य समयमै सम्पन्न नहुँदा रकम नै क्लोजिङ हुने अवस्था आएपछि प्रधानमन्त्रीले उक्त आयोजनाबारे चासो राखेका हुन् ।
बिहीबार प्रधानमन्त्री ओलीले उक्त आयोजना स्थल रुपन्देही, पश्चिम नवलपरासी र पूर्वी नवलपरासीका स्थानीय जनप्रतिनिधि तथा सांसद र जिल्ला समन्वय समितिका प्रतिनिधि लगायतसँग बालुवाटारमै छलफल गरेका हुन् । सो क्रममा ती जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरवाही भएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । छलफलपछि प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ सडक विस्तारमा ढिलाइ गर्ने चिनियाँ कम्पनीसँग ठेक्का तोड्नुको विकल्प नभएको बताए । चार वर्षमा सक्नुपर्ने काम ६ वर्षसम्म समय थप्दा पनि नसकिएको र अहिले काम ठप्प हुनु दुःखद रहेको ओलीको भनाइ छ । ६ वर्षसम्म जम्मा ५२ प्रतिशत काम मात्र गरेको ठेकेदारले बाँकी ४८ प्रतिशत काम गर्न अबको एक वर्षभित्र सम्भव नभएको बताए । एडिबीले २०२६ मा दिने रकम क्लोजिङ हुने अवस्था आएको भन्दै ठेकेदारसँग सम्झौता तोड्नेबारे सरकारले गम्भीर निर्णय लिने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले ठेकेदार कम्पनीलाई आयोजना लागतको ४४ प्रतिशत रकम सरकारको तर्फबाट भुक्तानी दिइसकेको समेत बताए । उक्त सडक निर्माणको काम अहिलेकै गतिमा अलपत्र छोड्ने हो भने सरकारले बाँकी भुक्तानी दिन नसक्ने उनको भनाइ छ । विश्वनीय रुपमा काम गर्ने भए तीव्र रुपमा गर्नुपर्ने, अन्यथा ठेक्का तोडर नयाँ प्रक्रियामा जानुपर्ने उनको निर्देशन छ । विदेशी ठेकेदार मात्र हैन, स्वदेशी ठेकेदारबाट समेत २ वर्षको ठेक्का १५ वर्षसम्म लम्ब्याउने गरेको भन्दै उनले नेपालका लागि यो बिडम्बना रहेको बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनको आधारमा बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्ने बताएका छन् । ठेकेदार कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्न निर्देशन दिए पनि अहिलेसम्म काम सुरु नगरेको भन्दै उनले ठेक्का नै तोड्ने चेतावनी दिएका हुन् । चीनमा निर्माण कम्पनीको कार्यालयमै गएर ताकेता गर्दा समेत काम सुरु नगरेको उनको भनाइ छ ।
करिब ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी २०७५ चैतमा चिनियाँ कम्पनीसँग उक्त ठेक्का सम्झौता गरिएको थियो । सुरुमा कोरोना महामारीका कारण निर्माणमा ढिलाइ भएको भन्दै ठेकेदारले २४ महिना समय थप्न लगाएको थियो । तर थपिएको सहित करिब ६ वर्षमा पनि काम भने ५२ प्रतिशत मात्र सम्पन्न गरेको छ । कुल ११३ किलोमिटर लामो उक्त सडक खण्ड विस्तार ढिलाइ हुनुमा ठेकेदारकै लापरवाही रहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । यसका साथै नेपालकै कानुनी अड्चन पनि ढिलाइको कारण रहेको बताइन्छ । आयोजना प्रमुखका अनुसार सडक विस्तारको क्रममा काट्नुपर्ने रूख कटानमा प्राविधिक कारणले ढिलाइ हुँदा र कतिपय अवस्थामा निर्माण सामग्री आपूर्तिमा ढिलाइ हुँदा पनि सडक विस्तार ढिलो भइरहेको हो ।
एडिबीको ऋण सहयोगमा ४ लेनको बनाइन लागेको उक्त सडक विस्तार आयोजनाको कुल बजेट १७ अर्ब रुपैयाँ रहेको छ । तर समयमा सडक विस्तार कार्यले गति नलिँदा एडिबीले रकम निकासा नै बन्द गर्ने अवस्था आएको छ ।