काठमाडौं । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको रिक्त पदको उपनिर्वाचनमा उम्मेदवार मनोनयन दर्ताको समय नजिकिएको छ । उम्मेदवार मनोनयन दर्ताको समय नजिकिँदासम्म पनि राजनीतिक दलहरले अझैसम्म सबै स्थानको उम्मेदवार टुंग्याउन सकिरहेका छैनन् ।
आगामी मंसिर १६ गते स्थानीय तहको ४४ रिक्त पदका लागि उपनिर्वाचन हुन लागिरहेको छ । निर्वाचन कार्यतालिका अनुसार आगामी मंसिर २ गते उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम छ ।
मनोनयन दर्ताको समय नजिकिँदासमेत राजनीतिक दलहरुले सबै ठाउँमा उम्मेदवार टुंगो लगाउन सकिरहेका छैनन् । दलहरुले एक्लै जित्न नसकिने क्षेत्रमा गठबन्धनको प्रयासले गर्दा केही ठाउँको उम्मेदवार टुंगो लगाउन सकेका छैनन् भने अधिकांश ठाउँमा पार्टीभित्रैको आकांक्षी धेरै हुँदा पनि समस्या भएको छ ।
जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिकाको मेयर र उपमेयर एक एक, गाउँपालिका अध्यक्ष २, गाउँपालिका उपाध्यक्ष ४ र वडा अध्यक्ष ३४ गरी हाल रिक्त रहेका ४४ पदमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचन हुन लागेका ठाउँहरु मध्ये राजनीतिक दलहरुको चासो नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्षमै बढी देखिन्छ ।
स्थानीय तहको उपचुनावमा पनि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । तर पनि स्थानीय तहको प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षका लागि चुनाव हुन लागेको क्षेत्रमा समेत दलहरुले अझैसम्म पनि उम्मेदवार अन्तिम टुंगो लगाउन सकेका छैनन् ।
स्थानीय तहको उपनिर्वाचनमा एक्ला एक्लै लड्ने उद्घोष गरेका प्रमुख राजनीतिक दलहरुले सहकार्यको प्रयास जारी राखेका छन् । अन्तिमसम्म पनि यस्तो प्रयास जारी राख्ने तयारीहरु प्रमुख दलहरु छन् ।
खासगरी माओवादीले यसअघि एक्लै जितेको ठाउँमा सत्तारुढ दल कांग्रेस र एमालेले गठबन्धन गर्ने आन्तरिक तयारी गरिरहेका छन् । अधिकांश राजनीतिक दलहरुको सबैभन्दा बढी चासो काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा देखिएको छ ।
हालसम्म टुंगिएका प्रमुख–उप्रमुख र अध्यक्ष उपाध्यक्षका उम्मेदवारहरु
काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर उम्मेदवारः
- नेकपा (एमाले)बाट डा. सुरेन्द्र मानन्धर
- नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन
- राप्रपाबाट ध्रुव महर्जन
रास्वपाबाट कीर्तिपुर नगर सभापति जयराम कार्कीको दाबी रहेको छ भने सरसफाइ अभियन्ता राजमान मानवले स्वतन्त्र उम्मेदवार घोषणा गरेका छन् ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष उम्मेदवारः
- नेपाली कांग्रेसबाट बलराम सरदार
- नेकपा एमालेबाट तुलसी विश्वास
- नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी
दैलेखको महाबु गाउँपालिका अध्यक्ष उम्मेदवारः
- नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी
- नेकपा एमालेबाट जंगबहादुर शाही
- रास्वपाबाट प्रकाश कुमार बुढा
गौरीशंकर गाउँपालिका उपाध्यक्ष उम्मेदवारः
नेपाली कांग्रेसबाट पासादिकी तामाङ
- नेकपा एमालेबाट उमा शेर्पा
- नेकपा माओवादी केन्द्रः निमकेली शेर्पा
- नेकपा एकीकृत समाजवादीबाट रविना खड्का
गएको निर्वाचनमा गौरीशंकर गाउँपाािलकाबाट विजयी भएका श्यामसुन्दर तामाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेसले तामाङ पत्नी पासादिकीलाई उम्मेदवार बनाएको हो ।
रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष उम्मेदवारः
- नेकपा एमालेबाट केशकुमारी तुलाचन
- माओवादी केन्द्रबाट ज्ञानदेवी पुन
एमालेसँगको सहकार्यका लागि छलफल गरिरहेको नेपाली कांग्रेसले पुथा उत्तरगंगाको उपाध्यक्ष पदमा उम्मेदवार तय गरिसकेको छैन ।
जाजरकोट नलगाड नगरपालिका उपप्रमुख उम्मेदवारः
- नेपाली कांग्रेसबाट इन्द्रा चन्द (सिंह)
- नेकपा एमालेबाट सुनिता बोहोरा
- नेकपा (माओवादी केन्द्र)बाट देबका लामिछाने
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष उम्मेदवारः
- नेपाली कांग्रेसबाट सविता बुढा
- नेकपा एमालेबाट जाना शाही
- राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुजता फडेरा (थापा)
र,
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष उम्मेदवारः
- नेपाली कांग्रेसबाट पुल्तीसरा शाही
- राप्रपाबाट सुनादेवी थापा
निर्वाचन आयोगले स्थानीय तहको रिक्त पदको उपनिर्वाचन अन्तर्गत प्रमुख र प्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा हाल कार्यरत पदमा पुरुष उम्मेदवार बहाल रहेको ठाउँमा महिला उम्मेदवार बनाउनुपर्ने स्पष्ट गरेको छ ।
आयोगको उक्त निर्देशनअनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सर्केगाड, बाजुराको स्वामिकार्तिक खापर र रुकुमपूर्वको पुथा उत्तरगंगामा महिला उम्मेदवार अनिवार्य हुनुपर्ने भएको छ । उपनिर्वाचनका लागि आयोगले सबै ठाउँमा मुख्य निर्वाचन अधिकृत समेत नियुक्त गरिसकेको छ ।