News 24 Television
धान नफल्दा झापामा किसानको रुवावासी, धानको बालामा भुसमात्रै 

झापा । फल्ने समयमा धानमा बाला नलागेपछि यतिवेला अर्नुनधारा नगरपालिकाका किसान चिन्तित छन । अर्जुनधारा–२ का किसानहरुले सहकारी तथा वडा कार्यलयले दिएको अनुदानमार्फत धान रोपेका थिए । तर धानको बालामा लहलह धान लाग्नुको सट्टा भुस मात्रै फलेको छ । 

झट्ट हेर्दा झपक्कै धान फलेको जस्तो देखिए पनि बालामा चामल होइन भुसमात्र फलेपछि झापाको अर्जुनधाराका किसान चिन्तित छन् । बिगतमा ३०\४० मन फल्ने धान यसबर्ष घटेपछि वर्षभरि के खाने भन्ने चिन्ताले किसानलाई पिरोलेको छ । 

वडा कार्यलयले अनुदानमा साना किसान कृषि सहकारीमार्फत उपलब्ध गराएको धानको विउ रोप्दा मारमा परेको किसान बताउँछन् ।  

हेर्दा धान राम्रो फलेको जस्तो देखिएपनि धान नझुल्ने र भुसको मात्रा बढी रहेको किसानको भनाइ छ । त्यस्तै डडुवा र रोगहरु लागेर पनि धानमा क्षति पुगेको किसानले बताए । 

अरुबेला ३० मन धान फल्ने ठाउँमा योपटक १० मन मात्रै धान फलेको किसान बताउँछन् । प्रधानमन्त्री कृषी आधुनिकरण परियोजनाबाट बहुगुणी विउ भनेर प्रशिक्षण दिएर वडामार्फत खरिद गरेको किसानको भनाइ छ । 

वडाको कुल सिलिङ बजेट अन्तर्गत ४० लाखको ५० प्रतिशत अनुदानमा कुल ८ लाखको धानको विउ किसानहरुले खरिद गरेका थिए । बालीमा समस्या आएपछि यस बिषयमा नगरपालिकाका कृषिबिज्ञ सहितको टोलीहरुलाई बोलाएर निरन्तर अनुगमन र परिक्षण गरिरहेको अर्जुनधारा नगरपालिका १ का वडाध्यक्ष उपेन्द्र बस्नेत बताउँछन् । 

वडाहरुले अघिल्लो बर्ष धानका कार्यक्रमहरु राख्ने गरेको र वडा समितिको निर्णयबाट विउ खरिद गर्ने गरेकोले कृषि शाखालाई कुनै जानकारी नै नभएको कृषि शाखा प्रमुख एलिजा बोगटीको भनाइ छ । 

उनले विउ खरिद प्रकृया कृषि शाखाले गर्दा सबै प्रकृया पुर्याएर सार्वजनिक खरिद ऐनमार्फत गुणस्तर मात्रै खरिद गरी वितरण गर्ने गरिएको बताइन् । तर त्यसो नगर्दा यस किसिमको समस्या सिर्जना भएको उनको दाबी छ । 

किसानहरुले उत्पादन गर्ने धानमा बर्षेनीजस्तो कुनै न कुनै प्रकारका समस्याहरु आइरहन्छन् । तर यस्ता समस्यालाई नजरअन्दाज गरिदाँ वर्सेनी किसानहरुले ठूलो नोक्सानी भोगिरहेका छन् भने समस्या समाधानमा जिम्मेवार निकायको ध्यान जान सकिरहेको छैन । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update