News 24 Television
बागमती प्रदेशकै सुविधायुक्त दाबी गरिएको रंगशालाको विजोग

सिन्धुली । सिन्धुलीमा झण्डै दुई वर्षदेखि प्रयोगविहिन कालिमाटी रगंशाला कुरुप हुँदै गएपछि सरोकारवाला निकायले चासो देखाएका छन् । रगंशाला प्रयोगमा ल्याउन जनप्रतिनिधि सहित स्थानीय समेत लागि परेका छन् । 

बागमती प्रदेश सरकारको ९ करोड लगानीमा निर्माण भएको रगंशाला दुइ वर्ष अगाडि स्थानिय तहलाई हस्तान्तरण गरिएको थियो । तर रगंशाला पूर्ण रुपमा निर्माण नभएकाले प्रयोगमा ल्याउन समस्या देखिएको छ । 

सिन्धुलीको कमलामाई नगरपालिका ५ कालीमाटीमा झण्डै दुई वर्ष अगाडि बागमती प्रदेश सरकारले नौ करोड लागतमा रगंशाला निर्माण ग¥यो । 

बागमती प्रदेशकै सुविधासम्पन्न दाबी गरिएको रंगशालामा १६ सय जनाले एकै पटकमा खेल हेर्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । तर रंगशाला एकपटक पनि प्रयोगमा नआउँदै कुरुप बन्दै गइरहेको छ भने राखिएका सिसा अधिकांस फुटेका छन् । रंगशाला वरिपरि घासँ उम्रेका छन् । सरकारले गरेकोे करोडौँ लगानी खेर गएको स्थानियको गुनासो छ । 

एकपटक नै प्रयोगमा नआई रगंशाला कुरुप बन्दै गएपछि जनप्रतिनिधि, स्थानिय र सरोकारवाला निकायले चासो देखाएका हुन् । स्थानियले पनि रगंशाला संचालनमा ल्याउन माग गरेका छन् ।  

पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदै कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिएपछि पनि रंगशाला प्रयोगविहिन बनेको जनप्रतिनिधिको भनाइ छ । 

रंगशालामा हालसम्म ९ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको र थप लगानीको अभावमा निर्माण सम्पन्न हुन नसकेको हो । 

जिल्लाको खेलकुद क्षेत्रलाई विकास गर्ने उद्देश्यले निर्माण गरिएको रंगशाला थप बजेटको अभावमा यसरी अस्तव्यस्त बन्दा राज्यको करोडौँ लगानी बालुवामा पानी बन्ने देखिएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update