News 24 Television
नेपाली महिलाको खेलले विश्व चकित ! विश्वमञ्चमा वर्चश्वको यात्रातर्फ...

काठमाडौं । खेलकुदमा महिला खेलाडीहरूको सहभागिता र सफलताले पछिल्लो दशकमा उल्लेखनीय छलाङ मारेको छ ।  अहिले महिलाहरू विभिन्न खेलकुदमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, चाहे त्यो फुटबल, क्रिकेट, भलिवल, भारोत्तोलन, कुस्ती, अथवा अन्य खेल होस् । 

महिला खेलाडीहरूको छलाङको छनक ओलम्पिक,  एशियाली खेलकुद, तथा अन्य ठूला प्रतियोगिताहरूमा देख्न सकिन्छ । त्यसको पछिल्लो उदहारण, नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक आईसीसी यू–१९ ट्वान्टी–२० विश्वकप खेल्ने भएको छ । 

यूएईमा भएको आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटको निर्णायक खेलमा नेपालले बुधबार यूएईलाई ८ विकेटले पराजित गरेसँगै जनवरी–फेब्रुअरीमा मलेसियामा हुने दोस्रो संस्करणको यू–१९ विश्वकपका लागि ढोका खुलेको हो । 

सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थाले पनि नेपाली राष्ट्रिय महिला टोली अझै विश्वकपमा पुग्न सकेको छैन । यू–१९ महिला विश्वकपको सुरुवात २०२३ देखि भएको हो । 

नेपाली महिला टोलीले दुई वर्ष अगाडिसम्म सम्झनलायक प्रदर्शन दिन सकेको थिएन । तर, आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा महिला टोलीको प्रर्दशन प्रशंसायोग्य रह्यो । 

एसिया छनोटअन्तर्गत खेलेको छ खेलमा नेपालले पाँच खेलमा जित निकाल्दा एक खेलमा हार व्यहोरोको थियो । त्यस्तै खेलकुदमा अन्तर्राष्ट्रिय सफलताको गणना गर्ने हो भने पुरुषका तुलनामा महिला अब्बल छन् । तेक्वान्दो, भारोत्तोलन, जुडो, एथलेटिक्स, पौडी, फुटबल र भलिबलमा महिला खेलाडीबाट नेपालले अन्तर्राष्ट्रिय उपाधि पनि जितेको छ ।

नेपाली महिला भलिबल र फुटबलले दिलाएको एकपछि अर्को सफलता लोभलाग्दो छ । नेपाली खेलकुदमा अलग पहिचान बनाउने महिला खेलाडीका सूची लामो छ । 

तेक्वान्दोकी सविता राजभण्डारी, संगिना वैद्य र आयशा शाक्य, भारोत्तोलनकी तारादेवी पुन, जुडोकी देवु थापा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीकी गौरीका सिंह, पारा खेलाडी पलेशा गोवर्धन, कराँतेकी एरिका गुरुङ, भलिबलकी सरस्वती चौधरी र प्रतिभा माली, फुटबलकी सावित्रा भण्डारी, रेखा पौडेललगायत महिलाले नेपाली खेलकुदमा आफ्नो अमिट छाप छाडेका छन् । 

यसमा अझ साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र भारतबीचको खेलले दक्षिण एसियाली महिला फुटबलको प्रतिस्पर्धालाई एउटा नयाँ उचाइमा पु¥याएको छ । 

साफ महिला च्याम्पियनसिपमा महिला फुटबल खेलाडीले गरेको गौरवपूर्ण प्रर्दशन नेपाली दर्शकको सम्झनामा सधै रहनेछ । नेपालबाट युरोपमा व्यवसायिक फुटबलको ढोका खोल्ने महिला फुटबल नै हो । सावित्रा भण्डारी हाल फ्रान्सको शीर्ष डिभिजनको लिग खेलिरहेकी छन् । 

उनी दक्षिण एसियामा सर्वाधिक ५३ गोल गर्ने खेलाडी हुन् । यस्तै रेखा पौडेल, यूएइ र एन्जिला तुम्बापो सुब्बा ग्रिस क्लबमा आवद्ध छन् । 

अन्य धेरै खेलाडी भारत, भुटानलगायतको लिगमा ब्यस्त छन् । तर, पूर्वाधार र खेलाडीमाथि लगानी बढाइएन भने यो सफलता लामो समयसम्म टिकिराख्न सक्दैन । 

समाजमा रहेका लैङ्गिक असमानता, परम्परागत सोच, र सीमित स्रोतका कारण महिला खेलाडीहरूको खेलमा प्रगति सीमित भएको देखिने गरेको भएपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सफलता, पदक, र सम्मानले नेपाली समाजमा नयाँ ऊर्जा भरेको छ । 

महिला खेलाडीहरूको प्रगति मात्र व्यक्तिगत नभएर समाजको सकारात्मक परिवर्तनको प्रतीक पनि हो । तर, अझै पनि उनीहरूको प्रतिभा र मेहनतलाई देशको खेल नीतिमा प्राथमिकता दिइएको देखिँदैन । यसमा सरकार गम्भिर बन्नैपर्छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update