रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवाहरूले धमाधम उडान थालेका छन् । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीका लागि दैनिक १० घण्टा बन्द छ ।
त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल पूर्ण रूपमा खुल्न करिब पाँच महिना लाग्ने भएपछि अन्तर्राष्ट्रिय वायुसेवाहरूले काठमाडौंको विकल्पमा भैरहवालाई विभिन्न गन्तव्यमा जोड्न थालेका छन् ।
सञ्चालनमा आएको साढे दुई वर्षपछि भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन थालेपनि यसले निरन्तरता पाउनेमा भने आशंका छ ।
मंगलवार दिउँसो २ ः४५ मा पहिलो पटक कतार एयरवेजले वाइड बडी विमानबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गरेको हो ।
कतार एयरवेजले भैरहवाबाट एक सातामा सातओटा उडान गर्ने भएको छ । त्रिभूवन विमानस्थलबाट भने कतार एयरवेजले कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतार एयरवेजको जहाज प्रत्येक दिन २ बजेर ४५ मिनेटमा दोहाबाट भैरहवामा अवतरण गर्नेछ भने भैरहवाबाट यात्रु लिएर ४ बजेर ४५ मिनेटमा काठमाडौं प्रस्थान गर्नेछ ।
विमानस्थलका अनुसार पहिलो चरणमा कतारले भैरहवाबाट मंसिर १५ गतेसम्म उडान गर्नेछ । कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ ।
करिब साढे दुई वर्षदेखि सञ्चालनमा रहे पनि अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतमबुद्ध विमानस्थलमा नियमित अन्तराष्ट्रिय उडान हुन थालेपछि वायुसेवा तथा यात्रुको चहलपहल बढेको छ ।
आगामी दिनमा उडान गर्नका लागि अन्य वायुसेवा पनि पाइपलाइनमा रहेको विमानस्थल प्रशासनले जनाएको छ । हाल एयर अरेबियासँग पनि भैरहवामा उडानका लागि छलफल भइरहेको छ ।
भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिन पाउँदा बैदेशिक रोजगारीमा गएका पश्चिमी भेगका नेपाली यात्रुहरु पनि खुसी भएका छन् ।
विश्वका ठूला एयरलाइन्सले नियमित उडान थालेपछि भैरहवाको अन्तराष्ट्रिय विमानस्थल विश्व एरोनटिकल कम्युनिटीसँग रिकोग्नाइज भएको छ ।
त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नतीका लागि दैनिक १० घण्टा बन्द हुने बित्तिकै भैरहवामा अन्तराष्ट्रिय वायु सेवाहरुले विकल्पका रुपमा उडान थालेका हुन् । यसले भैरहवाको बिजनेस र चहलपहल बढेको छ । तर पाँच महिनापछि काठमाडौँमा विमानस्थल पूर्णरुपमा सञ्चालनमा आएपछि भने अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउँनेमा भने व्यवसायीहरु विश्वस्त हुन सकेका छैनन् ।
अन्तराष्ट्रिय उडान हुन थालेपछि अर्बौ लगानी गरेका व्यवसायीहरुलाई केही राहत दिएको छ भने विमानस्थलसँगै वरपरका क्षेत्र पनि आर्थिक रूपमा चलायामान हुन थालेका छन् ।
अन्तराष्ट्रिय उडानलाई नियमित गराउनका लागि लागि श्रम, भिसा सेन्टर, मेडिकलका लागि काठमाडौं नै पुग्नु पर्ने बाध्यता हटाई भैरहवामै यी सुविधा थप्न पर्नु भैरहवा विमानस्थलका महाप्रवन्धक बताउँछन् ।
भैरहवा विमानस्थलमा दुबईको फ्लाई दुबई, नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र थाईल्यान्डको थाई एयरवेजले भैरहवाबाट उडान थालिसकेका छन् ।
जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान गरिरहेको छ । दैनिक उडान गरिरहेको फ्लाई दुबईले नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाअनुसार प्रत्येक दिन पौने २ बजे भैरहवा अवतरण गर्नेछ भने पौने ३ बजे यहाँबाट उडान भर्नेछ ।
नेपाल एयरलायन्सले गत शनिबार साँझबाट काठमाडौं–भैरहवा–दुबई उडान सुरु गरिरहेको छ । नेपाल एयरलायन्सले सातामा ४ दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तय भएको छ । थाई एयर एसियाले भने साताको सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।