News 24 Television
बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर अघि बढ्छौँ : मन्त्री दाहाल

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनको आधारमा बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्ने बताएका छन् । 

बिहीवार नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरवाही भएको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।  साे क्रममा बोल्दै मन्त्री दाहालले मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण ठेक्का पाएकाे चिनियाँ कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिए पनि काम अहिलेसम्म थालनी नभएको बताए ।

उनले एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गरिएको बताए । समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार ताकेता गर्दै आएको उनकाे भनाइ छ । पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले डिसेम्बरको अन्तिम सम्ममा काम शुरु गर्ने एसएमएस पठाएको उनले सुनाए ।

मन्त्री दाहालले भने, ‘मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिएका थियौं । तर काम थालनी भएको छैन । एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा गएर निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गर्यौं । निर्माण कम्पनी ७ अर्ब रकम पठाएकाले अब पठाउन सक्दैनौं भनिरहेको थियो । सरकारले भुक्तानी दिने काममा तलमाथि गरेका छैनौ । समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएका छाैँ । तर पनि काम शुरु भएको छैन । पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले एसएमएस पठाएको छ । डिसेम्बरको अन्तिमसम्ममा काम शुरु गर्छौं । भनेको छ । त्यसमा विश्वास गर्ने कि नगर्ने अवस्था छ । डिसेम्बरबाट सडक निर्माणको काम थलनी गरेको अवस्थामा त्यही निर्माण कम्पनीलाई काम गर्ने दिने भनेर तयारी छ । काम थलनी गर्ने र काम गर्ने सरकारलाई विश्वास लागेको छैन । अब निर्णय गर्ने ठाउँमा पुगेका छौ ।’

उनले डिसेम्बरबाट सडक निर्माणको काम थलनी गरेको अवस्थामा भने त्यही निर्माण कम्पनीलाई काम गर्न दिने तयारी मन्त्रालयले गरेको पनि बताए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update