नुवाकोट । जिल्लाकाे ककनी गाउँपालिका वडा नं. २ मा वडाध्यक्ष पदको लागि हुन लागेको उपनिर्वाचनको प्रचार-प्रसारले तीव्रता पाउन थालेको छ। आउँदो मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि तीन दलले आ–आफ्ना उम्मेदवारको चयन गरी घरदैलो अभियानमा सक्रियता देखाउन थालेका छन्। नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तिलकबहादुर लामाको निधन पश्चात रिक्त रहेको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसले सूर्य जिम्बा तामाङलाई पार्टीको वडा तथा पालिका समितिले सर्वसम्मत उम्मेदवार तोकी क्षेत्रीय समितिमा पठाएको ककनी पालिका समिति अध्यक्ष भाग्यश्री लामाले बताए। सूर्य जिम्बा तामाङ नेविसंघबाट राजनीतिमा उदाएका युवा नेता हुन्। मिलनसार युवा नेता सूर्य तामाङ समाजसेवाको भावना राख्दै वडामा आफ्नो उपस्थिति बलियो बनाउने युवामा पर्छन्।
नेकपा माओवादी केन्द्रले २०७९ को निर्वाचनमा उम्मेदवार बनाइएका कृष्ण घिमिरे मिलनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। घिमिरेले चुनावी प्रचार-प्रसारको घरदैलो कार्यक्रममा सक्रियता देखाइसकेका छन्। २०७९ को निर्वाचनमा झिनो मतले नेपाली कांग्रेसका उम्मेदवार तिलक लामासँग पराजित भएका थिए। नेकपा एमालेले यमबहादुर तामाङलाई उम्मेदवारको रुपमा मैदानमा अघि बढाएको छ। तीन प्रमुख पार्टीहरूको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार सूर्य जिम्बा तामाङ र नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण घिमिरे मिलनबीच नै प्रतिश्पर्धा हुने निश्चित देखिन्छ।
अन्य पार्टी राप्रपाले उम्मेदवारको चयन प्रक्रियालाई चाँडै टुंग्याउने बताउँदै आएको छ भने रास्वपा र स्वतन्त्र पार्टीहरूले पनि उम्मेदवारको टुंगो चाँडै लगाउने तयारी गरेका छन्। ककनीको वडा नं. २ स्ट्रबेरी खेतीको लागि हब एरिया मानिन्छ, जहाँ वर्षेनी करोडौं रुपैयाँको स्ट्रबेरी स्वदेश तथा विदेशमा समेत खपत हुने गरेको छ। त्यसको आधुनिकीकरण र बजारीकरणका लागि राम्रो भूमिका खेल्न सक्ने उम्मेदवारको खोजीमा रहेको वडावासीहरूको भनाइ छ।
त्यसैगरी, फोहरमैला डम्पिङ साइट बञ्चरेडाँडा पनि ककनी २ मै पर्ने हुँदा फोहर व्यवस्थापनको दुर्गन्धबाट आक्रान्त बनेको वडामा समाधान सहित वडाबाट हुने सेवा प्रवाहमा चुस्त–दुरुस्त सुधार गर्ने नाराका साथ मतदाताको घरघरमा जान थालेका छन्। यसैगरी, वडामा गर्नुपर्ने विकास निर्माण कार्यहरू, जस्तै खानेपानी समस्या, मोटरबाटो मर्मत, सिँचाइ कुलो, नहर आदि पूर्वाधारहरूलाई मूल नारा बनाएर प्रचार-प्रसारको सरगर्मी तीव्र बनाएका छन्। मंसिर २ गते दलहरूले उम्मेदवारी दर्ता पश्चात् चुनावी प्रचार-प्रसारको तालिका सहित घरदैलो कार्यक्रमलाई व्यापकता दिने बताएका छन्।
उक्त वडामा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलकबहादुर लामाले ८८८ मत प्राप्त गरी निर्वाचित भएका थिए। उक्त निर्वाचनमा उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कृष्ण घिमिरे मिलनले ७३४ मत प्राप्त गरी पराजित भएका थिए। त्यस्तै, नेकपा एमालेका उम्मेदवारले २०५ मत र राप्रपाका गोविन्दप्रसाद घिमिरेले २०३ मत प्राप्त गरेका थिए।