काठमाडौँ । पछिल्लो समय बहालवाला सांसद, मन्त्री तथा पूर्वमन्त्रीहरु विभिन्न काण्डमा मुछिएर धमाधम पक्राउ परिरहेका छन् । पूर्व गृहमन्त्री एवं सांसद र रास्वपा सभापति रवि लामिछाने सहकारीको बचत दुरुपयोग प्रकरणमा तानिएर करिब महिनादिनदेखि प्रहरी हिरासतमा छन् । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला मन्त्री एवं सांसद लीलाबल्लभ अधिकारी मानव तस्करीको आरोपमा आइतबार पक्राउ परे । उनलाई दुईपटक गरी प्रहरीले १० दिनको म्याद थपेर हिरासतमा लिएको छ । यस्तै, गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद दीपक मनाङेलाई मंगलबार मात्र प्रहरीले पक्राउ गरेर सर्वोच्च अदालतको फैसला बमोजिम कारागार चलान गरेको छ । यसरी विभिन्न काण्डमा एकपछि अर्को तथाकथित भिआइपीहरु पक्राउ परिरहेको बेला संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डे पनि निशाना परेका छन् ।
नेपाली काँग्रेसका सह–महामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि काँग्रेसकै सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको गम्भीर आरोप लगाएका छन् । मंगलबार सांसद बजगाईले सामाजिक सञ्जालमार्फत पर्यटनमन्त्री पाण्डेको नामै किटेर घुस लिएको आरोप लगाएका हुन् । बजगाईले लेखेका छन्– ‘मन्त्री आफू कमिसन खान्छ, अरूको स्पोन्सर प्रचार गर्छ । हामी समकक्षी सुभाष, म, सुशान्त सँगै थियौँ, एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड–करोड रकम दिएको प्रष्ट गरे ।’ बजगाईंले पर्यटनमन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देशन दिएको र ती नेताले उक्त पैसा फिर्ता पठाएको समेत बताएका छन् । काँग्रेसकै सांसदले काँग्रेसकै मन्त्रीमाथि हाकाहाकी लगाइएको यस आरोपपछि काँग्रेसभित्रै खैलाबैला मच्चिएको छ ।
करोडौँ कर छलीको र सरकारी जग्गा हडपेको लगायत आरोप समेत खेपिरहेको रुपन्देहीको तिलोत्तमास्थित टाइगर प्यालेस रिसोर्टको परिसरमा सञ्चालन हुनेगरी रोयल टाइगर रिक्रियसन क्यासिनोलाई गत साउनमा सञ्चालन अनुमति दिइएको थियो । उक्त क्यासिनो सञ्चालनको लाइसेन्स लिँदा सञ्चालकले मन्त्रीलाई करोडौं रुपैयाँ घुस बुझाएको आरोप लागेको छ । त्यसबेला पर्यटनमन्त्रीमा बद्री पाण्डे नै थिए । यस आरोपबारे स्पष्टीकरण दिँदै मन्त्री पाण्डेले केही मानिसहरुले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताएका छन् । उनले इमान, निष्ठा, इज्जत र प्रतिष्ठा नभएकाहरुले आफ्नो इमानदार प्रयासलाई मान मर्दन गर्नेगरी मनोबल गिराउन आरोप लगाएको जिकिर गरेका छन् ।
उक्त घुसको आरोपबारे आफूले सरकार र पार्टीलाई पनि जानकारी गराउने र कानूनी लडाईं पनि लड्ने मन्त्री पाण्डको भनाइ छ । सरकार र पार्टीलाई केही नराम्रो गरेको छ भन्ने लागेको भए आफूमाथि छानबिन गर्न समेत उनले चुनौती दिए । छानबिनका क्रममा आफूबाट जानेर वा नजानेर कुनै पनि खालको कमजोरी भएको पाइएमा सरकार तथा पार्टीबाट बाहिरिने उनले घोषणा समेत गरे ।
मंगलबार पनि मन्त्री पाण्डेले एक कार्यक्रममा आफूविरुद्ध लगाइएको गलत आरोपको प्रतिवाद गर्ने बताएका थिए । काम गर्ने क्रममा स्वार्थ समूहका मतियार र बिचौलियाहरु बलशाली देखेको भन्दै पाण्डेले उनीहरुसँग कुनै पनि सम्झौता नगरी अघि बढ्ने बताएका थिए । स्वार्थ समूहहरुकै कारण आफूमाथि करोडौँ घुस खाएको अफवाह फैलाउने काम भएको भन्दै उनले मन्त्रीको रुपमा आफूले कौडी पनि दुरुपयोग नगर्ने बताएका थिए ।
आफ्नै पार्टीको सांसदले आफ्नै पार्टीको बहालवाला मन्त्रीमाथि यति गम्भीर घुसकाण्डको आरोप लगाउनुमा कुनै न कुनै आधार त पक्कै होला । यो त्यति सामान्य कुरा हैन । सत्ता र शक्तिमा भएकाहरुलाई विभिन्न क्षेत्रका माफिया, बिचौलिया र स्वार्थ समूहले घुस, कमिसन खुवाएर वा विभिन्न प्रलोभनमा पारेर आफ्नो स्वार्थ पूरा गर्ने गरेका छन्, यो नौलो कुरा हैन । पर्यटनमन्त्री पाण्डेमाथि लागेको आरोपबारे उनको पार्टी काँग्रेस र सरकारले समेत छानबिन गरोस् । दोषी देखिएमा अब हिरासत जाने पालो पर्यटनमन्त्री पाण्डेकै हुनुपर्छ, हैन भने आरोप लगाउने सांसदलाई समात्नुपर्छ ।