News 24 Television
नेपाल पहिलो पटक यू १९ महिला विश्वकपमा छनोट 

काठमाडौं । नेपाल आईसीसी यू १९ महिला विश्वकपमा पुग्न सफल भएको छ । यूएईलाई पराजित गर्दै नेपाल रनरेटका आधारमा विश्वकपमा पुग्न सफल भएको हो । 

अन्तिम खेलमा नेपाली महिला खेलाडीहरुले उत्कृष्ट प्रदर्शनकै कारण नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको हो । यूएई माथि ऐतिहासिक जित निकाल्दै नेपाल यू १९ विश्वकप क्रिकेटमा छनोट भएको छ । बुधबार भएको खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो । 

घरेलु मैदान सेभेन्स स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर मात्र ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाउँदा रिनिथा रञ्जितले २० रन तथा ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन जोडे । 

नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सीमा केसीले २–२ विकेट तथा रचना चौधरीले १ विकेट ढालेकी थिइन् । मात्र ८४ रनको झिनो लक्ष्य पछ्याए पनि नेपालले यूएईलाई रनरेटको आधारमा जित्नुपर्ने भएकाले फराकिलो जित आवश्यक थियो । यसअघिको सबै खेलमा अपराजित रहेको यूएईलाई बुधबार भएको अन्तिम तथा निर्णायक खेलमा नेपाल १६ ओभर २ बलमा पराजित गर्न सकेमा मात्रै विश्वकपमा पुग्ने अवस्था थियो । 

तर यूएईविरुद्ध आक्रामक ब्याटिङमा उत्रिएको नेपाली टोली १४ ओभर ४ बलमै मात्र २ विकेट गुमाएर लक्ष्य पार गर्न सफल भयो । अन्तिम खेलमा जितका निकाल्दै समान १० बनाएको नेपाल रनरेटको आधार जित निकाल्न सफल भएको हो । 

नेपालको ऐतिहासिक जितमा ओपनर साना प्रभिनले ४२ बलमा सर्वाधिक अविजित ३५ रन जोडिन् । कुवेतसँगको खेलमा ऐतिहासिक शतक पार गरेकी पूजा महतोले यूएईसँगको खेलमा २१ रन बनाइन् । 

यस्तै, सावित्री धामीले १२ रन जोड्दा सोनी पाख्रिन १३ रनमा अविजित रहिन् । दुईपटक यू १९ विश्वकप छनोट खेलेको नेपालले युएईलाई पराजित गरेको भने पहिलोपल्ट हो । 

नेपाललाई पहिलो खेलमा १३ रनले हराएको यूएईको ३.७४० नेट रनरेट रह्यो भने नेपालले ३.९३५ रनरेट बनाउन सफल भएको हो । अब नेपाल आगामी सन् २०२५ को जनवरीमा मलेसियामा आयोजना हुने अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकपमा सहभागी हुनेछ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update