News 24 Television
सूर्य दर्शन सहकारीमा हजारौँ घर न घाटको, पीडितको रुवावासी 

राजु गिरी । सहकारी सञ्चालकहरूले बचत रकम अपचलन गर्दा पीडित बनेका बचतकर्ताहरूको सङ्ख्या सयौं छ । तर एकथरी पीडित यस्ता छन्, जसको पीडा देख्दा जो कसैको पनि आँखा रसाउछ । 

सहकारीमा जम्मा गरेको भएभरको सम्पत्ति त सकियो नै अहिले विरामी ज्यान जोगाउन पनि नसक्ने अवस्थामा पुगेका छन्, सूर्यदर्शन सहकारीका केही पीडितहरू । 

यि हुन् रम्जाली निशा, पोखरा १३ मियापाटनकी निशा र उनका श्रीमानले गाउँ गाउँ गएर चुरापोते बेचेको पैसाबाट केही बचाएर सूर्यदर्शन सहकारीमा बुढेसकालको लागि भनी ३५ लाख रूपैयाँ जम्मा गरेकी थिइन् । 

सूर्यदर्शन सहकारी डुबेको विषयमा चर्चा चुलिएपछि श्रीमान श्रीमती नै आफ्नै बचत फिर्ता लिन गए । सहकारी डुबेको र आफ्नो पैसा फिर्ता आउँदैन भन्ने थाहा पाएपछि घर फर्कने बित्तिकै निशाका श्रीमान एक्कासी ढले । पक्षघात भयो र अहिले पनि शरीरको एक भाग नचल्ने अवस्थामा छ उनको । 

बिस्तारै मृगौलाले समेत काम गर्न छोड्यो । आफ्ना सन्तान छैनन् निशाका । सहकारीमा पैसा फसेकै कारण श्रीमानको यो हालत भएपछि त्यही चुरापोते बेच्ने काम पनि बन्द भयो । श्रीमान मृत्युसँग लडिरहेका छन् भने निशा त्यसको प्रत्यक्षदर्शी बनेर बस्नु परिरहेको छ । 

सम्पत्तिको नाममा अहिले निशाको परिवारसँग बस्दै आएको घर मात्र छ, तर श्रीमान एक्कासी ढले यता उनको उपचारको लागि त्यही घर पनि बैंकमा राख्नु पर्यो । 

आफूले त्यति धेरै दुःख गरेर कमाएको पैसा सहकारीका टाउकेहरूले नै खाइदिँदा त्यसको पीडा कति होला ? जीवी राई बाहेक सूर्यदर्शन सहकारी ठगीमा संलग्नहरू पक्राउ पर्न थालेपछि अब भने आफूले कमाएको पैसा फिर्ता हुन्छ कि भन्ने झिनो आशा पलाएको छ निशालाई । 
 
रम्जाली निशा जस्तै सूर्यदर्शन सहकारीका यी अर्का पीडितको नाम हो सुरज केसी । झट्ट हेर्दा लक्का जवान देखिए पनि सुरज मुटु रोगी हुन् । उनको मुटुको एकपटक अप्रेसन भइसकेको छ । 

सूर्यदर्शन सहकारीकै कारण सुरजको पीडाको पहाड पनि निकै भयङ्करको   छ । आफूले कमाएको केही रकम र जग्गा बेचेको रकम समेत गरी कुल ६५ लाख रूपैयाँ सूर्यदर्शन सहकारीमा राखेका थिए सुरजले । तर एक्कासी सञ्चालकहरूका कारण सहकारी टाँट पल्टिएपछि सुरजको जीवनमा पनि ठूलो बज्रपात आइपर्यो ।

दुई सन्तानलाई के खुवाउने, श्रीमतीलाई कहाँ राख्ने र आफू के गर्ने ठूलो समस्यामा परे । दीर्घ रोगी भएकै कारण नियमित खानुपर्ने औषधि समेत किन्ने एक रुपैयाँ पनि छैन सुरजसँग । बिस्तारै चिनेजानेका मान्छेसँग हजार, दुई हजार गरी सापटी मागेर पोखराको बाग्लुङ बसपार्कमा सामान्य चिया पसल सञ्चालन गरेर बसेका छन् सुरज अहिले । 

एकातिर जीवनभरको कमाइ गुम्दाको पीडा, अर्कोतिर दीर्घरोगी अझ त्यही घाउमाथि नुनचुक छरे जस्तो भयो सुरजलाई जतिबेला रास्वपाका नेताले बोलाएर अध्यारोमा २ हजार हातमा थमाइदिए र कुरा यतिमा मात्र सीमित छैन । भोलिपल्ट रास्वपाकी सांसद तोशीमा कार्कीले मुटु रोगी सहकारी पीडितलाई हामीले चन्दा उठाएर सहयोग गर्यौं भन्दै स्टन्टबाजी गरिन् । 

रम्जाली निशा र सुरज केसी त एक उदाहरणका पात्र मात्र हुन् । सूर्यदर्शन सहकारीका कारण घरको न घाटको बनेका पीडितहरूको सङ्ख्या हजारौं छ । 

सहकारी पीडितको पीडा सुनेर उनीहरूलाई हौसला दिनुको साटो सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट नक्कली पीडित लगायतका अन्य आरोपहरू लगाउँदा बरु मर्दिम क्या हो झैँ लाग्छ भन्छन् पीडितहरु । 

सहकारीका सबै बचतकर्ताहरूको अवस्था यस्तै नहोला, तर बिहान बेलुकाको छाकै टार्न नसक्ने, औषधिसमेत खान नसक्ने अवस्थाका निशा र सुरज जस्ता पीडितहरूलाई तत्काल कुनै पनि माध्यमबाट सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने अवस्था देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update