काठमाडौं । प्रधानमन्त्री केपी ओली आफ्नो आसन्न चीन भ्रमणअघि मन्त्री हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्री बनेपनि राम्रो काम गर्न नसकेका र विवादमा परेकाहरुलाई विदा गर्ने तयारीमा जुटेका प्रधानमन्त्री केपी ओलीले कांग्रेससँग छलफल समेत गरेको बताइन्छ । तर, को–को पर्न सक्छन त हेरफेरमा आउट हुने मन्त्रीहरु ?
चौथो कार्यकालको प्रधानमन्त्री पद सम्हालिरहेका केपी ओली क्याबिनेट सदस्यहरुलाई बिदा गरेर नयाँ थप्ने रणनीतिमा जुटेका छन् ।
कार्यसम्पादन क्षमता कमजोर देखिएका र विवादमा परेकाहरुलाई बाहिर राखेर नयाँ भित्र्याउने तयारीमा जुटेका प्रधानमन्त्री ओलीले अहिले कांग्रेस एमालेका मन्त्रीबाहेकलाई हेरफेर गर्लान ? यो चासोको विषय छ । तर, सामान्यतया एक मन्त्री पाएका दलका मन्त्रीलाई हटाएर नयाँ ल्याउदा भद्रगोल हुने देखिएको भन्दै तत्काल कांग्रेस एमालेका मन्त्री नै फेरिनेछन् । तर, श्रममन्त्री शरतसिंह भण्डारी पनि विवादमा तानिन थालेकाले ओलीले के गर्लान् भन्ने विषय भने चासोमा छ । यद्यपी को को छन ओलीको हिट लिस्टमा ?
१. बलराम अधिकारी
ओली क्याबिनेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेका बलराम अधिकारीको कार्यसम्पादन क्षमता अत्यन्तै कमजोर रहेको बताइन्छ ।
सहकारीसम्बन्धि ठूलो समस्याका विषयमा जनताले प्रत्यक्ष सरोकार राख्ने बेला उनको प्रदर्शनी फितलोमात्रै नभएर सहकारी प्रकरणमा देखिएका आन्दोलनदेखि प्रतिपक्षीले गरिरहेको प्रहारलाई तालुकदार मन्त्रीले प्रतिवाद गर्न नसकेकोसम्मका आरोप लागिरहेका छन् । कार्यसम्पादनसँगै सहकारी समस्या जटिल मोडमा रहेका कारण पनि अधिकारीलाई फिर्ता बोलाउने तयारी ओलीको छ ।
२. दामोदर भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीप्रति प्रधानमन्त्री ओली सकारात्मक हुन सकेका छैनन् । विद्युत प्राधिकरणले लाइन काटेपछि उद्योगीको गुनासो समाधान गर्न चुकेकोदेखि ऊर्जामन्त्रालयसँगको समन्वयमा लाइन जोड्ने काममा सक्रियता देखाउन नसकेको लगायतका आरोपहरु उनीमाथि लागेको बताइन्छ । त्यसबाहेक मन्त्री भण्डारीको कार्यसम्पादन पनि कमजोर नै देखिन्छ ।
३. देवेन्द्र दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि ओलीको हिट लिस्टमा छन् । बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिपछि मुलुकको सडक सञ्जाल क्षतविक्षत अवस्थामा छ ।
यतिमात्रै नभएर यो मन्त्रालयले निर्माण लगायतका क्षेत्रमा गर्नुपर्ने काम प्रभावकारी गर्न नसकेको ओलीको बुझाई छ । यहि कारण दाहाल पनि फिर्ता हुने मन्त्रीको सूचीमा रहेको बताइन्छ ।
४. राजकुमार गुप्ता
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता कर्मचारी सरुवा बढुवादेखि अन्य विषयमा विवादमा फसिरहेका छन् । गुप्ताले कर्मचारी संयन्त्रमा चलखेल गरेको आरोप लागिरहेको छ भने कार्यसम्पादन क्षमता पनि कमजोर रहेको ओलीको बुझाई छ । यहि कारण उनी पनि खतराको सूचीमा परेका हुन् ।
५. बद्रिप्रसाद पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेमाथि घुस लिएको गम्भीर आरोप लागेको छ । कांग्रेस सांसदले मन्त्री पाण्डेले क्यासिनो सञ्चालनका लागि भन्दै ठूलो रकम घुस लिएको आरोप लगाएका छन् । पाण्डेले आरोपको खण्डन गरिरहेपनि विवादीत बनेका मन्त्रीलाई बाहिर पठाएर नयाँलाई ल्याउने तयारी ओलीको छ ।
६. पूर्णबहादुर तामाङ
ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री तामाङले कर्मचारीमाथि सार्वजनिक रुपमै अशोभनिय व्यवहार देखाएपछि उनीपनि विवादको घेरामा परेका छन् । मन्त्रीले आफ्नो ओहोदालाई थाम्न नसकेको आरोप लागिरहेको छ ।
यस्तोमा ओलीले तामाङलाई पनि फिर्ता गरिदिएर नयाँलाई ल्याउनुपर्ने धारणा बनाएको बताइन्छ । तर, ओलीले के गर्छन भन्ने विषय सत्तागठबन्धन दल नेपाली कांग्रेसको सहतिपछि मात्रै थाहा हुनेछ ।