काठमाडौं । हामीलाई लाग्छ व्यवसाय गर्न ठूलो लगानी, फ्यान्सी डेकोरेसन, भव्य पूर्वाधार चाहिन्छ । त्यसमा पनि धेरैजसो मानिसहरू आफ्ना नियमित जागिरमा रमाइरहेका बेला, केही साहसी व्यक्तिहरूले भने आफ्नै व्यवसाय सुरु गरेर नयाँ यात्रा तय गर्छन् ।
यस्तै उदाहरण हुन्, रेशम गिरी, जो भइरहेको जागिर छोडेर लन्ड्री व्यवसायमा लागे । माध्यमिक तहमा विज्ञान संकायमा भर्ना भएका गिरीले पछि पत्रकारिता गर्ने निधो गरे । तर, उनलाई व्यवसायमा पनि निकै रुची थियो ।
त्यसैले सुनिश्चित करियरको सम्भावनालाई त्यागेर आफ्नै व्यवसाय गर्न चाहने पुरानो सपनालाई साकार पार्ने निर्णय गरे । र, उनले काठमाडौंको तीनकुनेमा ‘इको लन्ड्री एण्ड ड्राइ ल्किन’ सञ्चालनमा ल्याए ।
शहरी क्षेत्रका बासिन्दा कपडा धुन र सुकाउन समय पाउँदैनन्, विशेष गरी व्यस्त जीवनशैली भएका व्यक्तिहरूका लागि लन्ड्री सेवाको माग बढ्दो रहेको महशुस गरेपछि ‘लन्ड्री’को विचार गिरीलाई फुरेको थियो ।
‘इको लन्ड्री एण्ड ड्राइ क्लीन’ले लूगा धुने, सुकाउने, पट्टाउने र आइरन गर्नेलगायतको सुबिधा उचित मूल्यमा दिइरहेको छ । उनले भैसीपाटीमा सानो ठाउँ भाडामा लिएर व्यवसाय सुरु गरे । ठाउँ सानो भएकाले अहिले उनी तीनकुनेमा सिफ्ट भएका छन् ।
सुरुमा चुनौतीहरू प्रशस्तै थिए । लगानी जोहो, स्टाफ व्यवस्थापन, ग्राहकहरूको विश्वास जित्नेदेखि व्यवसाय सञ्चालनमा थुप्रै सिकाइहरू थिए । केही समय लाग्यो तर अहिले राम्रै हुँदैछ ।
रेशमको लन्ड्री सेवा अहिले राम्रो चलेको छ र दैनिक ग्राहकहरूको संख्या पनि बढिरहेको छ । निरन्तर मेहेनत, लगनशीलता र लगानीको सही उपयोग गर्न सके भने व्यवसायमा सफल भइन्छ भन्ने उनले सिकेका छन् । फ्यान्सी डेकोरेसन गर्ने उनको कुनै योजना छैन ।
व्यवसायमा उनले गुणस्तरीय सेवा प्रदान गरेर ग्राहकहरूको विश्वास जित्ने र आफ्नै सामथ्र्यमा सफलताको आनन्द महसुस गरिरहेका छन् । उनी चाहन्छन् प्रत्येकको फोनमा उनको मोबाइल नम्वर ‘लन्ड्री म्यान’ का रुपमा रहोस् ।
राम्रो प्रतिष्ठा र निश्चित तलब भएको जागिर छोडेर उनी अहिले आफ्नो व्यवसायलाई सफल बनाउन जुटिरहेका छन् । तर अहिले रेशमको व्यवसायमा प्रगति देखिँदैछ ।
उनका सेवाहरू दिनप्रतिदिन लोकप्रिय भइरहेका छन्, र ग्राहकहरूको संख्या पनि बढ्दैछ । पत्रकारिता पृष्ठभूमिका कारण उनले ग्राहकहरूसँगको संवादमा सहजता महसुस गरेका छन् ।
उनी आफू व्यवसायी बनेका मात्रै छैनन्, धेरैलाई रोजगारी पनि दिएका छन् । पैसा कमाउनका लागि विदेश जानैपर्छ भन्नेहरुका लागि पनि उनी जवाफ बनेका छन् । स्वदेशमै मन लगाएर काम गर्ने हो भने विदेशको भन्दा सहज र सुखद तरिकाले यही धेरै गर्न सकिने उनी सुझाव दिन्छन् ।
नेपालमा साना र मध्यम किशिमका व्यवसायका लागि सम्भावना नै सम्भावना रहेको उनी बताउँछन् । उनको बुझाईमा कुनै पनि क्षेत्रमा सफल हुन मेहेनत, लगनशिलता र निरन्तरता चाँही हुनै पर्छ ।