मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश संरचनाकै इतिहासमा पहिलो पटक बागमतीको नेतृत्व गर्ने अवसर पाएको नेपाली कांग्रेस नेतृत्वको सरकारले हाते पुस्तिका नै तयार गरेर उलब्धिहरु सार्वजनिक गरेको हो । तर, प्रदेश सरकारले उपलब्धि सार्वजनिक गरेकै दिन प्रमुख प्रतिपक्षी दलले सरकारको काम कारबाहीमा खोट लगाउँदै ध्यानाकर्षण पत्र बुझाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो नेतृत्वको सरकारले सय दिनमा गरेका उपलब्धिहरु सार्वजनिक गरेका छन् ।
नीतिगत सुधारमा प्रदेश सरकारको सय दिनमा उल्लेख्य काम गरेकोे दाबी गर्दै मुख्यमन्त्री लामाले यस अवधिमा सरकारले ३ वटा ऐन जारी गर्नुका साथै ‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि’ को दीर्घकालीन सोचसहित सरकारको दोस्रो आवधिक योजना कार्यान्वयनमा ल्याइएको व्यहोरा प्रस्तुत गरेका छन् ।
प्रदेश संरचना निर्माणका लागि जग्गा प्राप्त गर्न ७ वर्षसम्म गर्न नसकेका कामहरुको सुरुवात आफ्नै पालामा सुरु गर्न लागिएको मुख्यमन्त्री लामाको दाबी छ ।
तर, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय परिसरमा रहेको प्रदेश सुशासन हलमा प्रदेश सरकारले सय दिनको उपलब्धि सार्वजनिक गर्दै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरु मुख्यमन्त्री कार्यालयमा उपस्थित भए ।
प्रतिपक्षी सांसदहरुले माओवादीका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल समेतको उपस्थितीमा मुख्यमन्त्री बहादुर सिंह लामालाई ८ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
सरकारसँग सुशासनको समेत अपेक्षा गर्न नसकिएको गुनासो प्रमुख प्रतिपक्षी दलले गरेका छन् । सय दिनमा गरिएका उपलब्धिको बुँदाले प्रदेश सरकारको कमजोर कार्यसम्पादन देखाएको दाबी प्रतिपक्षी दलहरुको छ ।
प्रमुख प्रतिपक्षी दलले बुझाएको ज्ञापन पत्रप्रति आफ्नो ध्यानाकर्षण भएको मुख्यमन्त्री लामाले बताएका छन् । राजनीतिक सल्लाहकार नियुक्तिदेखि पदस्थापनसम्मका विषयलाई सय दिनको उपलब्धिमा अटाइएको भन्दै प्रमुख प्रतिपक्षी दल रुष्ट देखिएका हुन् । तथापी, सत्तारुढ दल कांग्रेस र एमाले भने आफ्ना कार्यकालको सय दिनमा महत्वपूर्ण कामहरुको सुरुवात भएको दाबी गरेका छन् ।