पर्सा । महिला तथा बालिका हिंसाको घटना विश्वभर नै बढ्दो क्रममा छन् । घटनाक्रमको विकास हेर्दा महिला तथा बालिकाहरुलाई आत्मबल र आत्मरक्षाको आवश्यकता छ ।
यसै विषयलाई ध्यानमा राख्दै पर्साको वीरगञ्ज महानगरपालिकाले भारतका ख्याती प्राप्त प्रशिक्षकबाट आत्मरक्षा सम्बन्धि प्रशिक्षण दिएको छ । यो प्रशिक्षणलाई विश्व कीर्तिमानी कायम गराउने प्रक्रिया समेत जारी छ ।
पर्साको वीरगञ्ज महानगरपालिकाले करिब १० हजार भन्दा बढी छात्राहरुलाई बुधबार आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको छ । नेपाल–भारत सहयोग मञ्चको समन्वयमा वीरगञ्ज महानगरपालिकाले नगरका छात्राहरुको आत्मबल बढाउने उदेश्यले पहिलोपटक भव्य रुपमा वीरगञ्जमा आत्मरक्षा तालिम दिएको हो ।
वल्र्ड रेकर्ड बनाउने उदेश्य सहित आयोजित गरिएको आत्मरक्षा प्रशिक्षणमा सहभागी हुन वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा १५ हजार १ सय जना छात्राले नाम दर्ता गरेकोमा १२ हजार ९ सय ७४ जनाको नाम गिनीज बुक अर्फ वल्र्ड रिकर्डको कार्यालयमा पठाइसकेको महानगरपालिकाले जनाएकोे छ ।
वीरगञ्जको आदर्शनगर रंगशालामा आयोजित कार्यक्रममा भारतका ख्याति प्राप्त मार्सल आर्ट प्रशिक्षक चित्ता यजनेश शेट्टिले एकैसाथ नगरका हजारौँ छात्राहरुलाई आत्मरक्षा प्रशिक्षण दिएका छन् ।
उनले नगरभित्रका सामुदायीक तथा निजी विद्यालयहरुमा साताको १ दिन आत्मरक्षाको तालिमको सुरुवात गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
यस प्रशिक्षणले बालिकाहरुको आत्मबल बढ्ने विश्वास वीरगञ्ज महानगरपालिकाका सदभावना दुत तथा नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्यको छ ।
मार्सल आर्ट प्रशिक्षक चित्ता यजनेश शेट्टिले महिलाहरु असुरक्षीत हुँदै गएको अवस्थामा आफू वीरगञ्ज आएर छात्राहरुको आत्मबल बढाउने अवसर पाएकोमा खुसी व्यक्त गरेका छन् ।
आत्मरक्षा तालिममा सहभागि हुन पाउँदा वीरगञ्जका छात्राहरुमा निकै उत्साह देखिएको थियो । वीरगञ्जमा आत्मसुरक्षा सम्बन्धी तालिमको खाचो रहेको हुँदा महानगरपालिकाले सुरुवात गरेको तालिम प्रसंशा योग्य रहेको नगरका शिक्षिकाहरुले बताएका छन् ।
यद्यपि यस्ता तालिमहरु कार्यक्रममा मात्र सिमित नभई निरन्तरता पाउन सके महानगरपालिकाको उदेश्य पूर्ण हुने उनीहरुको भनाई छ ।
कार्यक्रममा खानेपानी मन्त्री प्रदिप यादव, संघीय सांसद प्रभु हजरा, महिला सांसद निर्मला देवकोटा, बीना जयस्वाल, पर्सा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोद ढुंगेल, भारतीय महावाणिज्य दूत देवी सहाय मिना लगायतको उपस्थिति रहेको थियो ।