News 24 Television
अब हामी बदलिन चाहेका छौँ :  प्रचण्ड

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घरमा जान निर्देशन दिएका छन् । 

बुधवार कीर्तिपुरमा कीर्तिपुर नगरपालिकाका लागि उम्मेदवार घोषणा सभामा बोल्दै उनले जनताको पक्षमा, जनताको मुक्तिको लागि एउटा नयाँ आन्दोलन शुरु गर्न लागेको दाबी गरे । उनले जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन नसकेको स्वीकार गर्दै अब आफूहरु बदलिन चाहेको बताए ।

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको कीर्तिमान कीर्तिपुरमा कायम गर्नुपर्ने बताए । उनले विगतमा निर्वाचन प्रक्रियालाई अगाडि बढाउनेमा कतिपय त्रुटी र कमी भएको बताउँदै अब जनताको घरघरमा पुगेर आफ्ना एजेण्डाहरु प्रश्तुत गर्न निर्देशन दिए ।

उनले भने, 'यो उपचुनावमा सिंगै राजनीतिक वृत्तको ध्यान केन्द्रित छ भने कीर्तिपुरमै छ । त्यसकारण म अहिले धेरै कुरा भन्ने भन्दा पनि यहाँको इतिहास र यहाँका जनताको स्वाभिमानको निम्ति वीरता र विद्रोहको प्रतिकको रुपमा स्थापित कीर्तिपुरको समग्र विकासका निम्ति र एउटा नयाँ विकास, प्रगति र समृद्धिको अभियान शुरु गर्न पनि कीर्तिपुर महत्वपूर्ण थलो हो । त्यसकारण यस पटक हामीले साँच्चै एउटा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको कीर्तिमान कीर्तिपुरमा कायम गर्नुछ । त्यसकारण मैले के अनुरोध गर्दछु भने हामीले सायद विगतमा निर्वाचन प्रक्रियालाई अगाडि बढाउनेमा कतिपय त्रुटी र कमी पनि गरेका छौँ । हामी आफैँ कार्यकर्ताहरु जुट्ने, छलफल गर्ने, भाषण गर्ने, घर जाने बस्ने जस्तो पनि हाम्रो विगतको कतिपय सन्दर्भको प्रचलन छ । म तपाईंहरु सबैलाई आजदेखि ठूलाठूला सभा, समारोह र आफैँ आफैँ जम्मा भएर भाषण गर्ने काम भन्दा टोलटोलमा, घरघरमा र जनताजनतासँग भेटेर उहाँहरुका कुरा सुन्ने र आफ्ना प्रतिवद्धताहरु उहाँहरुलाई बताउने काममा तपाईंहरुले समय खर्च गर्नुहोला ।'

अध्यक्ष दाहालले कीर्तिपुरका लागि पार्टी हेडक्वार्टरबाट गर्नुपर्ने कुनै पनि कमजोरी हुन नदिने प्रतिबद्धता जनाए । उनले थपे, 'हामी सबै टोलटोलमा गयौँ, घरघरमा गयौँ, प्रत्येक जनतासँग भेटघाट गर्यौँ । उनीहरुका दुःख सुन्यौँ, हाम्रा कमिटमेण्टहरु उनीहरुसँग प्रश्तुत ग¥यौँ भने त्यो अर्थपूर्ण हुन्छ । त्यस कारण म यो पटक तपाईंहरुलाई विशेष रुपले निर्देशित गर्न चाहन्छु, घरघरमा जाने, टोलटोमला जाने गर्नुस् । आत्मसमीक्षासहित जानुस् । हामीले यहाँको जनता र देशभरको जनताले हामीबाट जे जस्तो अपेक्षा गरेको हो, हामीले राम्रोसँग पूरा गर्न सकेनाैँ । हामीले हाम्रो जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन सकेनौँ । हामी बदलिन चाहन्छौँ । जनताको पक्षमा, जनताको मुक्तिको लागि एउटा नयाँ आन्दोलन शुरु गर्न चाहन्छौँ । आत्मसमीक्षा र आत्मालोचनासहित जनताको घरमा जान, टोलटोलमा जान र प्रत्येक व्यक्तिलाई भेट्न जरुरी छ ।'

 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update