News 24 Television
पूर्वमन्त्रीहरु जो प्रहरी अनुसन्धानदेखि गम्भीर मुद्दा खेप्दैछन्

काठमाडौं । मन्त्री भइसकेकाहरु विभिन्न अपराध अनुसन्धानमा तानिन थालेका छन् । आरोप लाग्नु र अपराध अनुसन्धानमा तानिनु सामान्य बन्न थालेको छ । तर, यस्तो स्थितिले मुलुकले सुशासनको बाटो समात्न सक्ला भन्ने प्रश्न भने पेचिलो बनिरहेको छ । 

विभिन्न आरोपमा पक्राउ परेका पूर्वमन्त्रीहरु कोहि हिरासतमा छन त कोही जेल चलान भइसकेका छन् । राजनीतिलाई अपराधिकरण गर्न खोजिएको भन्दै चलेको आरोप र राजनीतिक दलका नेताहरु मन्त्री बन्दा समेत गर्ने कुकर्मले स्थिति भयावह बनिरहेको छ । हुनत जेल नबसेका नेताहरु विरलै छन् । 

कोहि हत्या आरोपमा बसेकाहरु छन त कोहि राज्यद्रोहको आरोपमा । तर, गणतन्त्रपछि पक्राउ पर्ने र अनुसन्धानमा तानिने नेताहरुमाथि भने ठगी, भ्रष्टाचार, घुस, अवैध कारोबारदेखि मानव तस्करीको आरोप लागेको देखिन्छ । यस्तोमा को नेताहरु हिरासतमा छन र को जेल चलान भए भन्ने विषय चासोमा हुनु स्वभाविक हो । हेरौं केहि नेताहरुको अपराध आरोप र पृष्ठभूमी ।

१. रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने प्रहरी हिरासतमा छन् । पोखरापछि उनलाई सहकारी ठगी आरोपको अनुसन्धानका लागि भैरहवा लगिएको छ । 

रविको अदालतमा बयान चल्दै गर्दा बाहिर पीडितहरुले न्यायको माग गरिरहेका छन भने रास्वपाका नेता कार्यकर्ताले समेत रविमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै आन्दोलन गरिरहेका छन् । रास्वपाले रविको रिहाईका लागि भन्दै गरिरहेको आन्दोलन अदालतको अवहेलनाको मुद्दाको विषय समेत बनेको छ । तर, रास्वपाले भने आन्दोलन गरिरहेको छ ।

२. टोपबहादुर रायमाझी

एमालेका निलम्वित सचिव र प्रतिनिधिसभा सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका छन् । 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काममा उनको सहभागिता रहेको आरोपमा अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ । रायमाझी पटकपटक मन्त्री बनिसकेका नेता हुन भने उनी अहिले पूर्पक्षका लागि थुनामा छन् । 

३. बालकृष्ण खाँण

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपित हुन् । उच्च अदालतबाट धरौटीमा रिहा भएका उनी राजनीतिक रुपमा खास सक्रिय भने देखिन्नन् । खाँणविरुद्ध पनि अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ ।

४. लीलाबल्लभ अधिकारी

एमाले कोशी प्रदेशका सांसद समेत रहेका पूर्वप्रदेश मन्त्री लीलाबल्लभ अधिकारी जापानमा मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा छन् । अवैध रुपमा जापानमा मानव तस्करी गर्न खोजेको आरोमा हिरासतमा रहेका अधिकारीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । उसोतः अधिकारी जापानको विमानस्थलबाट डिपोर्टमा परेका थिए । 

यी प्रतिनिधिपात्र हुन् । आरोप लाग्नेक्रम चलिरहेको छ । भने केहि हेविवेटमाथिका आरोप अनुसन्धानको दायरामा नै आउन सकेका छैनन् । यस्तै, आजभन्दा २० वर्ष पहिलेको घटनामा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद समेत रहेका पूर्वमन्त्री राजिव गुरुङ अर्थात दीपक मनाङे डिल्लीबजार कारागार चलान भएका छन् । 

मनाङेको समूहले २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । त्यहि घटनामा उनी दोषी ठहर भएका हुन् ।

यसरी जेल जानेहरुमा अन्य नेताहरु पनि थिए । धेरैले विभिन्न आरोपमा जेल सजाय भुक्तान गरिरहेका छन् । कांग्रेसका अफ्ताव आलमदेखि धेरै नेताहरु यस्तो सूचीमा छन् । तर, अपराध कर्मपछि राजनीतिक संलग्नताले राहत पाएका नेताहरुको संख्या पनि कम देखिन्न । 

यस्तोमा मुलुकको उच्चपदमा पुगेकाहरु नै अपराध कर्ममा मुछिनुले के मुलुकले समृद्धिको बाटो समात्न सक्ला ? प्रश्न उठ्ने गरेको छ । तर, सुशासनको पक्षमा निष्पक्षता कायम गर्दै अनुसन्धान गर्ने र दोषीमाथि निर्मम कारबाही गर्ने हो भने मुलुकले सुशासनको अनुभुति भने पक्कै गर्नेछ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update