काठमाडौं । आत्मरक्षा तालिम यस्तो सीप र प्रविधि हो, जसले संकटको समयमा आफूलाई सुरक्षित राख्न मद्दत गर्छ । आत्मरक्षा तालिमले शारीरिक तागत र मानसिक साहसको विकास गर्दै आत्मविश्वासलाई बढाउँछ ।
यसैलाई मध्यनजर गर्दै पर्साको वीरगञ्ज महानगरपालिकाले एकैपटक १० हजार भन्दा बढी किशोरीहरुलाई आत्मरक्षाका लागि तालिम दिने भएको छ ।
महानगर भित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको वीरगञ्ज महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार बुधवार बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगञ्जका सामुदायिक र निजी विद्यालय, क्याम्पस गरी १० हजार बढी छात्राहरुको सहभागिता रहनेछ ।
एकसाथ १० हजार भन्दा बढी किशोरीलाई एकैसाथ आत्मरक्षाको तालिम दिएर वल्र्ड रेकर्डसहित गिनिज बुकमा नाम लेखाउने तयारी समेत भएको महानगरले जनाएको छ ।
यो तालिम सफल रुपमा सम्पन्न भए वीरगञ्जको नाम अन्तर्राष्ट्रिय रुपमा चर्चित हुने हुँदा आम नगरवासीलाई कार्यक्रम सफल पार्न प्रमुख सिंहले आग्रह गरेका छन् ।
आत्मरक्षा तालिमले महिला हिंसा र दुब्र्यवहारका घटना नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा महानगरको छ । वीरगञ्ज महानगरपालिकाको आयोजना तथा नेपाल—भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्सल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश सेट्टीले प्रशिक्षण दिनेछन् । प्रशिक्षक सेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्सल आर्टिस्ट र फिटनेस प्रशिक्षक हुन् ।
अमिताव बच्चन, सलमान खान, अजय देवगण, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टण्डन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको अनुभव प्रशिक्षक सेट्टीसँग छ । ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरू (किशोरी) आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल–भारत सहयोग मञ्चको छ ।
आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरुलाई ल्याउने लैजाने व्यवस्थासहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाले जनाएको छ ।
बुधवार हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन महिला स्वयंसेवीहरू खटाइएको छ ।