काठमाडौं । ज्यान मार्ने उद्योगमा सर्वाेच्च अदालतबाट दोषी ठहर भएका गुण्डा नाईके दीपक मनाङे कारागार चलान भएका छन् । कुनै बेला फिरौर्ती उठाउनेदेखि ठमेलमा रात्रिकालिन व्यवसायमा एकछत्र राज गरेका मनाङे पछिल्लो सयम राजनीतिमा प्रवेश गर्दै मन्त्री समेत भएका थिए । उनै मनाङे अन्तत अहिले खोरमा पुगेका छन् ।
वास्तविक नाम राजिब गुरुङ तर चलन चल्तिको नाम दिपक मनाङे, पेशा गुण्डा नाईकेदेखि सदस्य हुँदै मन्त्रीसम्म । सर्वाेच्च अदालतको फैसला पछि फरार तर प्रहरीको पक्राउसँगै कारागार चलान । यत्ति कुराले प्रष्ट पार्छ नागरिकमाथि कस्ता व्यक्तिहरुले शासन गर्दैछन् विगतमा पनि कस्ता व्यक्तिहरु राजनीतिमा पदार्पण गरे भन्ने ।
२०६१ साल बैशाख ३१ बिहिबार महाराजगञ्ज, पानीपोखरीस्थित चाइनिज चुफाङ रेष्टुरेण्टमा अर्का गुडा नाईके चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ माथि खुडा प्रहार भयो । उनीमाथि प्रहार भएको खुडाँले उनको हात छिन्यो ।
यहि घटनाका मुख्य योजनाकार मानिएका गुण्डा नाइके दिपक मनाङे २० बर्ष पछि सर्वाेच्च अदालतबाट दोषी ठहर भै जेल चलान भएका हुन् ।
मन्त्री छाडेको २ महिना पछि जेल चलान
दिपक मनाङे २ महिना अगाडि पनि गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री थिए । कांग्रेस एमालेको सत्ता सहकार्य भए पछि उनलाई वन तथा वातावरण मन्त्रालय दिइएको थियो । तर उनले यस्तो मन्त्रालय पनि के काम भन्दै कार्तिक १७ गते मन्त्री पदबाट राजीनामा दिए भने मन्त्री पद आफुले बिक्रिमा राखेको भन्दै गैर जिम्मेवार अभिव्यक्ति दिए । उनको त्यो अभिव्यक्ति निकै आलोचित भयो ।
६ बर्षमा ६ पटक मन्त्री र जेल यात्रा
२०७४ सालको चुनावमा नेकपा एमालेको समर्थनमा मनाङमा नेपाली कांग्रेसका कर्म गुरुङलाई हराउँदै उनी पहिलो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सभा सदस्यमा निर्वाचित भए पनि उच्च अदालतको फैसलाका कारण उनले सपथ लिएका थिएनन् । सांसद निर्वाचित भए पनि सपथ नलिई हिडेका मनाङे २०७५ बैशाख ६ गते पक्राउ परे, पक्राउ परेपछि उनी उच्च अदालतको फैसला बिरुद्ध सर्वाेच्च अदालत पुगे ।
सर्वाेच्चले उनलाई थुना बाहिरै रहेर मुद्दा लड्न सुविधा दियो । त्यसपछि २०७५ पुस ६ गते उनी थुना मुक्त भए । थुनामुक्त भएको ६ दिन पछि पुस ११ गते सपथ लिन गण्डकी प्रदेशसभामा निवेदन दिए त्यसको एक महिना पछि अर्थात् माघ १४ गते सपथ लिए ।
यसरी जेलबाट छुटेको एक महिना पछि सांसदको सपथ लिएका मनाङे २०७८ बैशाख १६ गते हाल सञ्चार मन्त्री रहेका पृथ्र्वी सुब्बा गुरुङको क्याविनेटमा पहिलो पटक खेलकुद मन्त्री बने ।
नेकपा विभाजनका बेला पहिलो पटक मन्त्री बनेका मनाङे पिएस गुरुङले विश्वासको मत पाउन नसकेपछि पुनः२०७८ बैशाख २९ गते ठुलो दलको हैसियतमा मुख्यमन्त्री बनेका उनै पिएसकै नेतृत्वको मन्त्रीमण्डलमा दोस्रो पटक पनि मन्त्री बने । मनाङे दोस्रो पटक मन्त्री बनेका बेला पनि पिएसले विश्वासको मत पाएनन् ।
त्यसपछि कांगे्रस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीको मन्त्री मण्डलमा २०७९ जेठ २९ गते तेस्रो पटक मन्त्री बने । यतिबेला उनी बिना विभागीय मन्त्री थिए पछि उनलाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइयो । यसरी पहिलो पटक सांसद निर्वाचित हुदाँ नै तीनपटक मन्त्री बनेका मनाङे २०७९ को निर्वाचनपछि बनेको एमाले माओवादी गठबन्धनको खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेशको सरकारमा चौथो पटक मन्त्री बने । तर कांग्रेस माओवादी गठबन्धन लगत्तै उनको मन्त्री पद गुम्यो ।
त्यसपछि फेरी बनेको एमाले माओवादी गठबन्धनको सरकारमा उनी २०८० चैत ५ गते पाँचौं पटकमा भौतिक पूर्वाधार मन्त्री बने । यो सरकार गठनका बिरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे अदालत पुगे ।
अदालतले खगराजलाई सत्ताच्युत गरि पाण्डेलाई मुख्यमन्त्री बन्ने फैसला गर्याे । अदालतको फैसला पछि मनाङे पनि पाण्डेकै मन्त्रिमण्डलमा पुगे । सबै दलका लागि प्रिय र अनिवार्य जस्तै बनिसकेका मनाङे छैंटौं पटक भौतिक पूर्वाधार मन्लालयको मन्त्री बने ।
कारागारबाट निस्किएको ६ बर्षमा ६ पटक मन्त्री बनेका मनाङे पछिल्लो पटक एमाले कांग्रेसको सत्ता सहकार्यसँगै भौतिक पूर्वाधार मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिए ।
मनाङेको राजनीतिक यात्रा
गुण्डा नाईकेहरुकै गुरु मानिने जगत गौचनले राजपरिवारको संरक्षणमा नेपालमा गुण्डागर्दी भित्र्याएको प्रहरी अधिकारीहरु बताउँछन् । मार्सल आर्टको प्रशिक्षक समेत रहेका गौचनले राजपरिवारका सदस्यकै सुझाव अनुसार शुरुवातमा गुण्डा परिचालन गर्ने गर्थे ।
त्यसैले नेपालमा रहेको पुराना क बर्गको गुण्डाहरुको साइनो हेर्ने हो भने राजपरिवार र राप्रपा नै देखिन्छ । दिपक मनाङे पनि शुरुवातमा राजावादी दलहरुसंगै निकट थिए । यति सम्म कि विगतमा उनी राप्रपा मनाङको जिल्ला अध्यक्ष समेत बनेका थिए ।
उनलाई पहिलो पटक स्थानीय निर्वाचनका बेला सुरक्षा थ्रेट भन्दै ५ दिन सम्म प्रहरीले हिरासतमा राखेको थियो । त्यसपछि उनी एमाले र कांगे्रस दुवै दलका नेताहरुसँग नजिक थिए ।
तर २०७४ साल असोजमा भने एमाले प्रवेश गरे, एमाले प्रवेश गरेपनि पनि मनाङ प्रदेश सभा ख मा एमालेबाट दिईएको टिकटको बिषयमा चौतर्फि आलोचना भएपछि उनी स्वतन्त्र उम्मेद्वरका रुपमा निर्वाचन लढेका थिए भने उम्मेदवार नउठाएर उनलाई एमालेले सघाएको थियो ।
निर्वाचन पछि नेकपामै आवद्ध रहेका मनाङे नेकपा विभाजन पछि नेकपा एकिकृत समाजवादी तिर नजिक भए । तर पछिल्लो समय आफु नेकपा एस पनि छाडेको घोषणा गरेका थिए ।