काठमाडौं । विश्वमा ५ वर्ष मुनिका १४ प्रतिशत बालबालिकाको मृत्यु प्रमुख कारकका रुपमा निमोनिया रहेको । नेपालमा पनि बालबालिकाको मृत्युको प्रमुख कारणका रुपमा निमोनिया पनि एक हो ।
रोग प्रतिरोधी क्षमता कमजोर भएका बालबालिकाहरूमा निमोनिया जोडो मौषममा बढि देखिने गर्दछ । अझै दम भएका बालबालिहरुमा निमोनियाको जोखिम उच्च हुने गर्दछ ।
नेस्नल फाउन्डेसन फर इन्फेक्सिअस डिजिज् एन.एफ.आई.डीका अनुसार निमोनिया फोक्सो सुन्निने एक अवस्था हो । निमोनिया भाइरस वा व्याक्टेरियाका कारण हुने गर्दछ ।
भाइरस वा व्याक्टेरियाका कारण भएको निमोनिया संक्रमितले फेरेको सास वा खोक्दा–हाँच्छिउ गर्दा उसको मुखबाट उछिट्टिएको थुक–सिंगानको छिटाहरुले त्यसको सम्पर्कमा आउने मानिसलाई सजिलै संक्रमित तुल्याउन सक्छ ।
त्यसबाहेक, संक्रमितले छोएका वा प्रयोग गरेका सामानहरुको सम्पर्कमा आउँदा पनि निमोनिया एकबाट अर्कोमा सर्न सक्छ । यसका लक्षणहरुमा ज्वरो आउँने, छिटो श्वास फेर्नु, खोकी लाग्ने, कोखा दुख्ने हुने गर्दछ ।
नेपाल जस्तो विकासउन्मुख देशमा भाइरल निमोनिया बढि देखिने गर्दछ । नेपालमा निमोनियाबाट ५ वर्षमुनिका बालबालिकाको मृत्यु सन् २०१४ सम्म १३ प्रतिशत देखिएको थियो । तर २०१५ देखि सरकारले निमोनियाविरुद्धको खोप निःशुल्क नियमित खोप अन्र्तगत सुरु गरेयता भने निमोनियाबाट हुने मृत्यु दरमा भने केहि कमी आउन थालेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार निमोनिया विश्वभरि सबैभन्दा धेरै बालबालिकाहरूको ज्यान लिने एक सङ्क्रमण हो । सन् २०१९ को तथ्यांक अनुसार उक्त वर्ष पाँच वर्ष मुनिका ७ लाख ४० हजार भन्दा बढि बालबालिकाहरूको निमोनियाका कारण मृत्यु भएको थियो ।
यूनिसेफको तथ्यांक अनुसार विश्वमा हरेक दिन २ हजार बालबालिको मृत्यु निमोनियाका कारण हुन गर्दछ । विशेषगरी जाडो महिनामा इ इन्फ्लुएन्जा र निमोनियाको जोखिम उच्च हुने गर्दछ । ब्याक्टेरिका कारण हुने निमोनियका लागि सरकारले खोप दिने गरेता पनि भाइरसका कारण हुन निमोनियाले पछिल्लो समय दुःख दिने गरेको चिकित्सकको भनाई छ ।
निमोनिया छातीमा हुने सक्रमण भएका कारण फोक्सो सम्बन्धी समस्या भएका बालबालिकामा बढि देखिने चिकित्सक बताउँछन् । तर हरेक महिना निमोनियाको जस्तै लक्षण देखिएमा भने त्यो निमोनिया नभएर अस्थमा अर्थात दम पनि हुन सक्ने चिकित्सक बताउँछन् ।
निमोनिया जुनसुकै उमेर समुहका मानिसलाई हुनसक्छ । तर ५ वर्षमुनिका बालबालिका तथा वृद्धवृद्धामा सङ्क्रमणले उच्च जोखिम हुने गर्दछ ।
साथै निमोनियाको सङ्क्रमण बिग्रिएको अवस्थामा किटाणु शरीरभरि फैलिएर सर्कुलेटरी फेलियर, किड्नी फेलियर, फोक्सोमा पीप जम्ने, छातीमा पीप जम्ने जस्ता जटिल समस्या उत्पन्न हुने गर्दछ ।
त्यसैले बालबालिकालाई निमोनिया हुन नदिन चिसोबाट जोगाउने, रुघाखोकी लागेको अवस्थामा वा निमोनियाका जस्ता लक्षण देखिएमा चिकित्कको परामर्श लिएर औषधी उपचार गर्न आवश्यक छ ।