काठमाडौँ । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएर ५ वर्ष कैद सजाय सुनाइएका दीपक मनाङे कारागार चलान भएका छन् । गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका मनाङे मंगलबार काठमाडौँबाटै पक्राउ परेका थिए । पक्राउलगत्तै उनलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो ।
सर्वोच्चको फैसला कार्यान्वनका लागि सीआईबीको टोलीले उनलाई सानोभर्याङस्थित एक आफन्तको घरमा लुकेको अवस्थामा पक्राउ गरेको हो । अदालतले उनलाई डिल्लीबजार कारागार पठाउन आदेश दिएपछि मंगलबारै कारागार चलान गरिएको हो ।
यही कात्तिक २० गते सर्वोच्च अदालतले विगतमा उच्च अदालत पाटनबाट भएको फैसलालाई नै सदर गरेको थियो । जसअनुसार उनलाई ५ वर्ष कैद सजायको फैसला थियो । तर पछि उनी सर्वोच्चको आदेशबमोजिम जेलबाट बीचैमा निस्केका थिए । विगतमा सोही मुद्दामा करिब २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेकोले अब बाँकी २ वर्ष ४ महिना १ दिन उनी कारागारमा बस्नेछन् ।