News 24 Television
द्वन्द्वमा ध्वस्त मंगलसेन दरबारको यस्तो देखियो रुप–रङ्ग !

अछाम । १० वर्षीय सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन विद्रोही पक्षको आक्रमणबाट ध्वस्त भएको अछामको मंगलसेन दरबारको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । द्वन्द्वको चपेटामा परेको धेरै वर्षपछि पुनःनिर्माण गरिएको दरबारको ऐतिहासिक पक्षलाई पूर्णरुपमा जोगाउनतर्फ भने हेलचेक्र्याइ गरिएको छ । ऐतिहासिक दरबार पुरानै स्वरुपमा निर्माण नगरि ऐतिहासिकता नै मेटाउने प्रकृतिको बन्न थालेपछि यस विषयले विवादको रुप लिएको छ । 

२०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) ले अछामको सदरमुकाममा आक्रमणका क्रममा मंगलसेन दरबार समेत ध्वस्त भयो । ऐतिहासिक महत्वको यो दरबार ध्वस्त भएको वर्षौपछि पुनःनिर्माणका लागि ठेक्का सम्झौता भएको थियो । तर, ठेक्का सम्झौता भएको १६ वर्ष बल्ल अहिले निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई वर्षभित्रै काम सम्पन्न गर्ने शर्तमा २०६५ साल असार २४ गते ठेक्का सम्झौता भएपनि निर्माण कम्पनीहरुको विभिन्न बदमासीले वर्षौसम्म पुनःनिर्माण अल्झियो । उतारचढापका बीच अहिले पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । 

तर, वर्षौसम्म अलपत्र पारिएको दरबारको पुनःनिर्माणमा बल्ल गति दिइएपनि दरबारमा देखिएको आधुनिक शैलीले स्थानीय रुष्ट छन् । मंगलसैन दरबार ऐतिहासिक महत्व बोकेको दरबार हो तर यो दरबार पुनःनिर्माण गर्दा ऐतिहासिक पक्षलाई नै नामेट पार्ने गरि स्वरुप, र शैली नै परिवर्तन गरिदै छ । दरबारका झ्ल्याहरुमा पुराना कलात्कम ढोकाको सट्टा सिसा प्रयोग गरेको भन्दै सिसा हटाउन स्थानीयको माग छ । यस्तै यस दरबारलाई ऐतिहासिक संग्रालय बनाउन समेत स्थानीयको माग छ । 

पटक पटकको स्थानीय प्रशासनको ताकेता पछी दरवारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सरोकारवालाहरुले यस दरवारलाई देशकै तथा सुदूरपश्चिम प्रदेशको विभिन्न ऐतिहास झल्कने गरी संग्रालय बनाउन पहल जारी भने राखेका छन् ।   

द्धन्द्धले क्षतिग्रस्त दरबारमा जिल्ला प्रशासन, मालपोत, जिल्ला अदालत लगायत कार्यालय सञ्चालनमा थिए । आक्रमणको समयमा दरवारमा जिल्ला प्रशासन कार्यालय मात्र सञ्चालनमा थियो । मंगलसेन आक्रमणमा अछामका तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री र राष्ट्रिय अनुसन्धान कार्यालय अधिकृत लोकराज उप्रेतीको ज्यान गएको थियो । घटनामा तत्कालीन शाही नेपाली सेनाका सहसेनानी सहित गुल्ममा कार्यरत ५३ सैनिक, ५९ प्रहरी र आठ सर्वसाधारण गरी एक सय २२ को ज्यान गएको थियो । 

सोही राती साँफेबगरमा भएको आक्रमणमा साँफेवगर विमानस्थल सुरक्षा गार्डका रूपमा कार्यरत २७ जना प्रहरीको ज्यान गुमाएका हुन् ।  करीव डेढ सय वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण कार्य सुरु भई दलबहादुर शाहको पालामा निर्माण भएको दरवार २०२९ मा सरकारले अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट खरीद गरेको स्थानीयहरुको भनाई छ । ३० कोठा रहेको ३ तले ऐतिहासिक दरबार पुनःनिर्माणले स्थानीय खुशी त छन् तर ऐतिहासिकता जोगाउने गरि काम गर्न सचेत समेत गराइरहेका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update